जेन-जी आन्दोलन
काठमाडौंको माइतीघरमा जारी जेन–जी प्रदर्शनमा सहभागी हुन आएका सयौं नवयुवामध्ये प्रज्ज्वलकुमार पाण्डे एक हुन्।
२५ वर्षका प्रज्ज्वलले आफू पहिलोपटक यस्तो प्रदर्शनमा सहभागी भइरहेको बताए।
हामीले उनलाई प्रदर्शनमा आउनुको कारण सोधेका थियौं।
जबाफमा उनले भने, 'देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। त्यसमाथि देशको भ्रष्टारचार र बेथितिविरूद्ध आवाज उठाउलान् भनेर सामाजिक सञ्जाल पनि बन्द गरियो। म त्यही सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध आवाज उठाउन आन्दोलनमा सहभागी हुन आएको हुँ।'
उनले अगाडि भने, 'विकास निर्माणको गति अत्यन्तै सुस्त छ। एउटा सानो पुल वा घर बनाउन पनि वर्षौं लाग्ने अवस्था छ। अरू देशमा एकाध महिनामै सकिने कामहरू हामीकहाँ वर्षौं बित्दा पनि सकिँदैन। काठमाडौंमै थुप्रै संरचना वर्षौंदेखि बनेको बन्यै गर्दा पनि पूरा नभएको हामीले देखेका छौं। यो भ्रष्टाचार नभएर के त?'
यी सबका बीच सामाजिक सञ्जाल बन्द गरेर त सरकारले आमजनतालाई हेप्नुसम्म हेपेको उनले बताए।
'अहिलेको समयमा सामाजिक सञ्जाल भनेको हाम्रो जीवनको अंग हो। हाम्रो अध्ययन, आपसी कुराकानीदेखि सबै काम सामाजिक सञ्जालबाटै हुन्छ। धेरैले सामाजिक सञ्जालबाटै आफ्नो व्यापार व्यवसाय गरिरहेका छन्। कतिले अनलाइन कक्षाहरू पढिरहेका छन्। लाखौं लाख जनता प्रभावित हुने गरी सामाजिक सञ्जाल बन्द गर्ने कस्तो निकम्मा सरकार हो यो,' प्रज्जवलले भने।
सोमबार बिहान ९ बजे माइतीघरमा भेला भएर जेनजीले प्रदर्शन गरिरहेका छन्। त्यहाँबाट ११ बजे बानेश्वरसम्म मार्चपास गर्ने उनीहरूको कार्यक्रम छ। माइतीघरमा उनीहरूले 'गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ', 'जाग लम्क चम्क है नौजवान हो', 'यो नेपाली शीर उचाली' जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँगसँगै गाएका थिए। सँगै 'वी आर द मुभमेन्ट, वी फर दि मुभमेन्ट' जस्ता नाराहरू लगाएका छन्।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्।