काठमाडौंको माइतीघरमा जारी जेन–जी प्रदर्शनमा सहभागी हुन आएका सयौं नवयुवामध्ये २४ वर्षकी रेनु घिमिरे एक हुन्।
शंखमूल बस्ने रेनु के एन्ड के कलेजबाट स्नातक सकेर बसेकी छन्। उनी पहिलोपटक यस्तो प्रदर्शनमा सहभागी भएकी हुन्।
हामीले उनलाई प्रदर्शनमा आउनुको कारण सोधेका थियौं।
जबाफमा उनले भनिन्, 'म यहाँ सरकारको भ्रष्टाचारविरूद्ध आवाज उठाउन आएकी हुँ। आममान्छेले मनको कुरा खोल्ने भनेको सामाजिक सञ्जालमा हो। सरकारले त्यो सामाजिक सञ्जाल पनि बन्द गरेर जनताको आवाज दबाउन खोजेको छ। हामीलाई बोल्ने स्वतन्त्रता चाहियो।'
उनले अगाडि भनिन्, 'सामाजिक सञ्जाल बन्दले हाम्रो दैनिक जीवनमै असर गरेको छ। यसले परिवारका सदस्यहरूबीचको कुराकानी टुटेको छ। व्यापार व्यवसाय प्रभावित भएको छ। सरकारले विकल्प नदिई किन सामाजिक सञ्जाल बन्द गर्नुपर्यो?'
उनले सांकेतिक रूपमा विरोध प्रदर्शन गर्न चित्रसमेत बनाएर ल्याएकी थिइन्।
'यो चित्रले आफै बोल्छ, हामीले बोल्नु पर्दैन,' उनले भनिन्, 'हामी पहिलेजस्तो द्वन्द्ववाला प्रदर्शन चाहँदैनौं। हामी शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न आएका हौं।'