ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ।
प्रदर्शनकारीहरूले मंगलबार बिहान स्कुलमा आगजनी गरेको हो।
ललितपुर प्रहरीका अनुसार दमकल त्यसतर्फ गएपनि प्रदर्शनकारीले फर्काएका छन्।
‘ठाउँठाउँमा प्रदर्शन र आगजनी भइरहेको छ। तर प्रहरी पुग्न सकेको छैन। दमकल पनि गएर फर्किएको छ,’ ललितपुरका एक प्रहरीले भने।
ललितपुरको जुद्ध बारूण यन्त्र कार्यालयले पनि विभिन्न ठाउँबाट आगजनीको खबर आएपनि जान नसकिएको बताएको छ।
फायर फाइटर कमाण्डर राजकुमार ठकुरीले सातदोबाटोबाट दमकल फर्किएको हो।
‘सातदोबाटोमा आधा घण्टा सम्म कुर्यौं। प्रदर्शनकारीले फर्किन अनुरोध गरेपछि हामी फर्कियौं,’ उनले भने।
युलेन्स स्कुलमा हाल परराष्ट्र मन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छिन्।
काठमाडौं सहित देशका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ। तर प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।
उनीहरूले विभिन्न स्थानमा आगजनी र तोडफोड गरेका थिए।
त्यस्तै, प्रदर्शनकारीहरू नेताहरूको घरमा समेत आगजनी तथा तोडफोड गरेका हुन्।