पूर्वराजा ज्ञानेन्द्र शाहले जेन-जी पुस्ताले सुरू गरेको आन्दोलन हिंसात्मक नहोस् भन्दै अहिलेको समस्याको समाधान देशभित्रबाटै खोज्न आग्रह गरेका छन्।
पूर्वराजा शाहको संवाद सचिवालयले मंगलबार सार्वजनिक वक्तव्य जारी गर्दै जेन-जीको आह्वानमा भएको आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्नेमा निर्दोष नागरिकको ज्यान लिनु दु:खद र निन्दनीय भएको बताएका छन्।
अहिलेको आन्दोलन हिंसात्मक नबनोस्, अराजक नहोस् र कसैको घुसपैठ नहोस् भन्ने धारणा राख्दै उनले नयाँ पुस्ताको मागअनुसार सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाटै समस्याको समाधान निकालियोस् भन्ने चाहना व्यक्त गरेका छन्।
यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यताविपरीत रहेको पनि उनले उल्लेख गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्रले प्रदर्शन क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
जेन–जीले देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर गरेको विरोध प्रर्दशन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय भएको विज्ञप्तिमा उल्लेख छ।