जेन–जी प्रदर्शनकारीले मंगलबार सिंहदरबारसहित काठमाडौंका महत्त्वपूर्ण प्रशासकीय कार्यालय, न्याय सम्पादनका निकायहरूसहित निजी तथा व्यापारिक ठाउँहरूमा लगाएको आगो अझै नियन्त्रणमा आएको छैन।
बुधबार साँझसम्म राणाकालीन वैभव एवम् पूरातात्विक महत्त्वको धरोहरसमेत रहेका देशको प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम मोहोडा धुवाइरहेको छ। सिंहदरबारभित्र रहेका मन्त्रालयहरूको आगो भने मंगलबार राति नै नियन्त्रणमा आइसकेको थियो। सिंहदबारभित्र र आसपासका क्षेत्रमा अहिले सेनाले उपस्थिति बढाएको छ।
सिंहदरबारबाहिर रहेको सहरी विकास तथा भवन निर्माण विभाग, नागरिक उड्डयन प्राधिकरण, सडक विभागमा बुधबार अपराह्नसम्म आगो नियन्त्रणमा आएको थिएन। सडक विभाग जलेर खाक भएको छ। प्राधिकरण पनि खण्डहर नै बनेको छ। जलेर खाक भइसकेपछि बुधबार अपराह्नमात्रै दमकल ल्याएर त्यहाँको आगो निभाउन थालिएको थियो।
सँगै रहेको काठमाडौं जिल्ला अदालतमा आंशिक क्षति भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालय पूर्णरूपमा जलेर नष्ट भएको छ भने नेपाली सेनाले भित्र पसेर नागरिकताका ढड्डाहरू ओसारिरहेको छ। कतिपय ढड्डा जलेर कामै नलाग्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालयमा सल्किएको आगो नियन्त्रणमा आइसकेको छैन। बबहरमहल दक्षिणतर्फ रहेको सरकारी कार्यालयमा भने कम क्षति भएको छ। विशेष अदालतमा पनि सामान्य मात्रै क्षति पुगेको देख्न सकिन्छ।
यसका अतिरिक्त काठमाडौंका धेरै स्थानमा सार्वजनिक तथा निजी भवनमा लगाइएको आगो नियन्त्रणमा आइसकेको छैन। नक्सालमा रहेको हिल्टन होटलमा २६ घन्टादेखि आगो दन्किइरहेको छ।
नक्सालमै रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा अझै आगो दन्किइरहेको छ। नक्सालबाट केही माथि रहेको भाटभटेनी सुपरस्टोरको आगो अझै निभेको छैन। बालुवाटारको प्रधानमन्त्री निवास, प्रधानन्यायाधीशको निवासको आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन। शीतल निवासस्थित राष्ट्रपति कार्यालयको आगो भने नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
यस्तै महाराजगञ्जमा रहेको डिएसपी कार्यालय जलेर पूर्णरूपमा नष्ट भएको छ। सँगै रहेको भाटभटेनी सुपरमार्केटमा झन्डै २७ घन्टादेखि आगो दन्किइरहेको छ। सबैभन्दा जोखिममा चुच्चेपाटीमा रहेको भाटभटेनी सुपरमार्केट रहेको छ। त्यहाँ लागेको आगो झन्झन् दन्किँदै गइरहेको छ। आगाको लप्का बाहिरै निस्किइरहेको छ।
अहिले भाटभटेनी परिसरमा नेपाली सेनाले तैनाथी त बढाएको छ। तर भीड त्यतिकै छ। अप्रिय स्थिति नआओस् भनेर नेपाली सेनाले मुख्य सडक बन्द गरेको छ। अत्यावश्यकीय सेवा, दमकल, खानेपानीका जार बोकेका गाडी, खानेपानी ओसार्ने ट्यांकर, एम्बुलेन्स, चिकित्साकर्मीहरूको गाडीबाहेक अरूलाई आवतजावत गर्न दिएको छैन। तैपनि स्थानीयहरू सडकै छन्। फोटो र सेल्फी खिच्नेको भीड पन्छाउन सेनालाई सकस परिरहेको छ।
नयाँ बानेश्वरस्थित संसद भवनको आगो भने नियन्त्रणमा आएको छ। अहिले त्यहाँ क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।
सर्वोच्च अदालतका साथै रामशाह पथमा रहेका सरकारी कार्यालयहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उपत्यकाका ट्राफिक कार्यालयसहित धेरैजसो सरकारी कार्यालयमा लागेको आगो पनि नियन्त्रणमा आएको छ।
सर्वोच्च अदालतका बचेखुचेका मुद्दाका फाइलहरू निकालेपछि अहिले मूल गेटमा ताल्चा लगाइएको छ। सिंहदरबारको मुख्य प्रवेशद्वामा नेपाली सेनाले तैनाथी बढाएको छ। त्यहाँ सेनाले कडा निगरानी गरेको देखिन्छ। अत्यावश्यक सेवाका, पास बोकेका सवारीबाहेक अरूलाई आवतजावत गर्न दिइएको छैन। नेपाली सेनाले माइकिङ गर्दै समूहमा भेला नहुन, सुरक्षा सतर्कता अपनाउन, सुरक्षा प्रोटोकल पालना गर्न अनुरोध पनि गरिरहेको छ।
यसैबीच डिल्लीबजार कारागारमा कैदीहरूले लगाएको आगो नियन्त्रणमा आएको छ। त्यहाँ सुरक्षा निकायका अग्नि नियन्त्रकहरूले आगो निभाएका थिए। कैदीहरूले कारागार जलाउँदै बाहिर भाग्न खोजेपछि सेनाले स्थिति काबुमा लिएको थियो। ठूलो संख्यामा सेना परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको हो। अहिले त्यहाँको अवस्था सामान्य छ।