राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले संविधान जिवितै राखेर नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन्।
दुई दिनको प्रदर्शन र त्यसपछिको परिस्थितबारे जेनजीलाई सम्बोधन गर्दै खनालले बिहीबार विज्ञप्ती सार्वजनिक गरेर संविधानलाई जिवित राखेर सरकार गठन गर्नुपर्ने बताएका हुन्।
' श्रीलङ्कामा केही वर्ष अगाडि तत्कालीन शासकहरू लाई जनआन्दोलन ले भाग्न बाध्य पार्दा पनि संविधानलाई नभत्काई नयाँ सरकार बनाइएको थियो । चुनाव पछि नयाँ र सापेक्षिक रूपमा युवा को नेतृत्व स्थापित भयो,' उनले भनेका छन्।
खनालले निषेको राजनीतिको भ्रममा नपर्न पनि जेनजीलाई आह्वान गरेका छन्।
'सबै पक्ष सँग संवाद र सहकार्य मार्फत समाधान खोजौ,' उनले भनेका छन्, ' पद र शक्ति क्षणिक हुन्छ, त्योभन्दा महत्त्वपूर्ण व्यक्तिगत, सामूहिक र राष्ट्रिय सुरक्षाको विषय छन्,' उनले भनेका छन्।
उनले संविधानमा केही परिवर्तन आवश्यक भएको तर त्यसको प्रक्रिया जनताको प्रतिनिधिले गर्नुपर्ने बताएका छन्।
'जन-निर्वाचित संविधान सभाले बनाएको संविधान संशोधन जनताको प्रतिनिधिहरुले नै गर्ने प्रक्रियाबाट मात्र गर्ने अडान राखौं । लोकतन्त्र ले त्यही भन्छ,' उनले भनेका छन्।
उनले हिंसाबाट प्राप्त शक्ति लामो नजाने पनि बताए।
' जति नै बलियो देखिए पनि हिंसा बाट प्राप्त शक्ति लामो जाँदैन। सामूहिक हिलिङ र र 'अहिंसाको' बाटो नै हाम्रो बाटो हुनु पर्छ। आन्दोलन मा मारिएका वा घाइते भएका मात्र हैन - गाउँ गाउमा घर जलाइएका परिवार को संरक्षण को जिम्मा पनि हाम्रै हो। यो आवाज पनि हामी बनौ,' उनले भनेका छन्।