जेन–जी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले भदौ २३ गतेबाट सुरू गरेको प्रदर्शन आरम्भदेखि नै अनियन्त्रित थियो। भोलिपल्ट २४ गते त ध्वंशात्मक नै बन्न पुग्यो।
भ्रष्टाचारविरूद्ध र सामाजिक सञ्जाल बन्दविरूद्धलगायत माग राखेर उनीहरूले शान्तिपूर्ण प्रदर्शन आह्वान गरेका थिए। तर सरकारको दमनका कारण आन्दोलनले उग्र रूप लिएको थियो।
भदौ २३ गते प्रहरीको गोली लागि काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो। नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि मात्रै गोली चलेको थियो।
६ जना बढीको घटनास्थलमै मृत्यु भएको थियो। अरूको उपचारका क्रममा काठमाडौंका विभिन्न अस्पतालमा निधन भयो।
त्यसपछि भड्किएको आन्दोलनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सत्ता पलट मात्रै गरेन, राणाकालीन इतिहास, वैभव बोकेको सिंहदरबारसमेत खण्डहर बन्न पुग्यो।
सिंहदरबार पश्चिम मोहोडातर्फ सल्किएको आगो दुई दिनसम्म निभेको थिएन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसभन्दा पछाडि देखिने पश्चिम मोहोडा २०७२ सालको भूकम्पमा खण्डहर बनेको थियो। त्यसपछि यसलाई पुरानै स्वरूपमा ढालिएको थियो।
तर भदौ २४ गते उग्र प्रदर्शनकारीले सल्काएको आगाले पश्चिम मोहोडा अहिले खण्डहरप्रायः छ। युरोपेली शैलीमा निर्मित छानाहरू मझेरीमा झरेका छन्। परम्परागत वास्तुकलाको अब अँगारमात्रै भेट्न सकिन्छ।
हामी सुरूआतमा त्यहाँ प्रदर्शनकारी कसरी प्रवेश चर्चा गर्नेछौं।
बुधबार बिहान साढे १० बजेसम्म माइतीघर–सिंहदरबारको अवस्था सामान्य थियो। प्रहरीहरू सुनसान सडकमा किनारा लागेर बसेका थिए। अघिल्लो दिनको थकान र तनाव उनीहरूको अनुहारमा प्रष्टै देखिन्थ्यो।
बानेश्वर क्षेत्र भने तुलनात्मकरूपमा अशान्त थियो। विदेशी तथा स्वदेशी मिडियाको भिड थियो। त्यही भिडमा फाट्टफुट्ट प्रदर्शनकारी देखिन्थे। प्रहरीले केहीलाई नियन्त्रणमा पनि लिन्थ्यो। यसरी लिने क्रममा केही प्रदर्शनकारी प्रहरीको पञ्जाबाट उक्किएर पनि भागेका थिए।
शंखमुलबाट बानेश्वरको चौबाटोतर्फ आउने सडकमा पचास–सयको संख्यामा रहेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकिरहेका थिए। कर्फ्यू आदेश जारी भएकाले उनीहरूले मानिसहरूलाई घरबाहिर ननिस्कन, समूहमा नहिँड्न जनाउ दिँदै माइकिङ पनि गरिरहेका थिए।
उता मीनभवनतर्फ सर्भिस लेनमा केही प्रदर्शनकारी आक्रोशित मुद्रामा नाराबाजी गरिरहेका थिए। प्रहरीहरूले संयमता अपनाउँदै उनीहरूको आक्रोशलाई झडपमा परिणत हुन दिएको थिएन।
तर ११ बजेपछि बानेश्वर क्षेत्रमा भिड बढ्न थाल्यो। काठमाडौं उपत्यकाको चक्रपथ बाहिर बिहानैदेखि अशान्त थियो। सानोसानो समूहमा रहेका प्रदर्शनकारीहरू स्वःस्फूर्त रूपमा मिसिँदै ठूलो आन्दोलनकारी समूहमा परिणत भइसकेको थियो।
चक्रपथ बाहिर चाबहिल, महाराजगञ्ज, गोंगबु, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर मात्रै होइन भक्तपुरतिरबाट पनि ठूलो जनसमूह बानेश्वतिर अघि बढिरहेको थियो। केही प्रदर्शनकारी त्यहीँ रहेर तोडफोड र आगजनी गर्न थाले। चक्रपथ बाहिर भिड थेग्न मुस्किल परेर प्रहरी कार्यालयसमेत जल्न थालिसकेका थिए। स्थिति काबुबाहिर पुगिसकेको र प्रहरीलाई आत्मरक्षासमेत गर्न मुस्किल परेको सहरको अवस्था सञ्चारसेटमै सुनिन थालेपछि अरू प्रहरीको पनि मनोबल खस्कियो।
प्रहरी निरूपाय भयो र सडकमा किनारा लाग्नुपर्ने अवस्था आएपछि प्रदर्शनकारीहरूले संसद भवन कब्जा गरे। यो भदौ २४ गते मध्याह्नको कुरा हो। अघिल्लो दिन प्रहरीको गोली लागेर गेटमै प्रदर्शनकारी ढलेको दृश्य देखेका र शोकाकुल हुँदै मृतक साथीहरूको शव सम्हालेका केही प्रदर्शनकारी थप क्रुद्ध हुँदै संसद भवन जलाउन उद्यत् देखिए।
उता संसद भवनमाथिको आकास धुवैँधुवाँले ढाकिसकेको थियो, यता बबरमहल क्षेत्रमा पनि भिड बढ्न थाल्यो। सहरको भित्री बाटो हुँदै त्यहाँ आइपुगेकाहरू थप क्रोधित देखिन थाले। उनीहरूले बबरबहल दक्षिणतर्फ रहेको सरकारी कार्यालयहरू; सडक विभाग, नागरिक उड्यन प्राधिकरण तोडफोड र आगजनी गर्न थाले। केही प्रदर्शनकारी काठमाडौं जिल्ला अदालत नजिकैको भित्री बाटो हुँदै काठमाडौं जिल्ला प्रशासन कार्यालयतर्फ अघि बढे।
केही प्रदर्शनकारी माइतीघरबाट दक्षिणतिर थापाथलीतिर सोझिए, केही रामशाहपथ हुँदै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालयमा तोडफोड र आगजनी गर्दै सिंहदरबारको मूल गेटतर्फ लागे।
त्यतिञ्जेल भद्रकालीतर्फबाट पनि ठूलो संख्यामा प्रदर्शनकारी सिंहदरबारको मूलगेटतर्फ आइरहेका थिए। केही त मोटरसाइकलमा पनि आएका थिए।
बबरमहलतर्फका प्रदर्शनकारी अनामनगरको बाटो हुँदै सिंहदरबारतिर सोझिइरहेका थिए। केही प्रदर्शनकारी दक्षिणगेटबाट छिर्न खोज्दै थिए। उनीहरूले गेटबाहिर रहेका सवारी साधन तोडफोड गर्दै आगजनी गरेका थिए। त्यही भिड त्यहाँबाट पश्चिम लाग्दै आसपासमा रहेका सरकारी कार्यालय, कर्मचारी संगठनको कार्यालय जलाउन थाले।
त्यतिञ्जेल पश्चिम गेट र पूर्वी गेटबाट ठूलो संख्यामा प्रदर्शनकारी सिंहदरबारभित्र छिरिसकेका थिए। कडा सुरक्षा घेराभित्र रहेको सिंहदरबारमा सुरक्षाकर्मीको उपस्थिति नै नदेखेका प्रदर्शनकारी थप हौसिए।
पूर्वी गेटतर्फबाट छिरेका प्रदर्शनकारीले राष्ट्रिय सतर्कता केन्द्र, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ, अर्थ, परराष्ट्र मन्त्रालय परिसरमा रहेका सवारी साधनहरू तोडफोड गर्दै पश्चिम मोहोडातर्फ लागे। कोही छरिँदै पुरानो संसद भवन परिसरमा रहेका सवारी साधन जलाउन थाले। त्यही भिड एमाले, कांग्रेस संसदीय दलको कार्यायल खण्डहर तुल्याउँदै अघि बढिरहेको थियो। त्यो भिडले कानुन, न्याय तथा संसदीय मामिला, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतमा तोडफोड र आगजनी गर्यो।
त्यही क्रममा केही प्रदर्शनकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हुँदै पश्चिम मोहोडा प्रहरीको गाडीसमेत चलाएर हिँडिरहेको दृश्य देखिन्थ्यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको परिसरमा रहेको गाडी चलाउँदै केही प्रदर्शनकारी प्रधानमन्त्रीकै कार्यकक्षतिर छिर्न खोजिरहेका थिए। केही पश्चिम मोहोडातर्फ सोझा, काठे कुर्सी, आदि ज्वलनशील कुरा ओसार्दै आगो लगाउन थाले।
यसरी राणकालीन वैभवको इतिहास बोकेको सिंहदरबार बुधबार अपराह्न ३ बजेतिरबाट जल्न सुरू गर्यो। बुधबार अबेर रातिसम्म सिंहदरबार धुवाइरहेको थियो।
यत्रो विध्वसंमा पनि सिंहदरबार भित्रका केही मन्त्रालय बाँकी छन्।
रक्षा मन्त्रालयमा कुनै क्षति भएको छैन। यो केही वर्षअघि मात्र बनेको नयाँ भवन हो। यसमा तत्कालै मन्त्रीले गएर काम सम्हाल्न सक्छन्।
पर्यटन मन्त्रालयमा कुनै प्रकारको आगजनी र तोडफोड भएको छैन। यो मन्त्रालयमा पनि मन्त्रालय र कर्मचारीहरूले तत्कालै काम थाल्न सक्छन्।
उद्योग मन्त्रालय पनि आगजनी र तोडफोडबाट जोगिएको छ। रेडियो नेपाल र महान्यायाधीवक्ता कार्यालयको बीचमा रहेको भवनमा प्रदर्शनकारीको आँखा नपरेको हुनसक्छ। जसका कारण भवन जोगिएको छ।
त्यस्तै परराष्ट्र मन्त्रालय पनि सिंहदरबार भित्रको आगलागीबाट जोगिएको छ। नयाँ मन्त्रीले तत्कालै यो मन्त्रालयमा गएर काम थाल्न सक्छन्। केही सीसा भने तोडफोड भएका छन्। मन्त्रालयका केही गाडी तोडफोड भएका छन् तर सामान्य मर्मतले ती चल्न सक्ने अवस्थामा छन्।
‘कागजपत्र जोगिएछन्, सबैभन्दा खुसी त्यसैमा लाग्यो’, मन्त्रालयको गेटमा भेटिएका एक कर्मचारीले भने, ‘मन्त्रालयभित्र छिरेर केही तोडफोड त गरेछन्। तर आगजनी नभएकाले मन्त्रालय जोगियो।’
मन्त्रालयले विदेशी पाहुना आउँदा प्रयोग गर्ने गरेको कालो गाडीहरू पनि जोगिएको छ। तत्कालै मन्त्रीहरूलाई आवश्यक पर्ने गाडी उपलब्ध गराउन सकिने अवस्था छ। ती गाडी छोपेर राखिएको कारण पनि प्रदर्शनकारीको आँखा नपरेका हुन सक्छन्।
सिंहदरबारमा रहेको कानुन मन्त्रालयका गाडीहरू जलेका छन् तर मन्त्रालय जलेको छैन। फुटेका सिसाहरू सफा गरेर सामान्य मर्मतबाटै मन्त्रालय चल्न सक्छन्।
सहरी विकास मन्त्रालय, सञ्चार मन्त्रालयमा पनि क्षति पुगेको छैन। ती सिंहरबारको दक्षिणगेटबाट गृह मन्त्रालयतर्फ जाँदा दायाँतर्फ पर्छन्। सामान्य मर्मतमा ती मन्त्रालयले काम गर्न सक्छन्।
सिंहदरबारमा संसद सचिवालयका दुई भवन र केही काठका टहरा छन्। त्यो पनि सुरक्षित छ।
राष्ट्रिय सभाका अध्यक्षको कार्यालय रहेको संसद सचिवालयको दोस्रो भवनमा कुनै क्षति पुगेको छैन। त्यहाँ पार्किङमा राखिएका गाडी पनि जोगिएका छन्। सचिवालयको पहिलो भवनमा पनि क्षति भएको छैन तर सचिवालयका एक कर्मचारीका अनुसार १६ वटा गाडी जलेका छन्। सिंहदरबारमा रहेको पुरानो संसद भवन अहिले पुर्ननिर्माण भइरहेको छ।
पुनर्निर्माणका लागि त्यहाँ भएका सामानहरू निर्माण कम्पनीले एउटा टहरामा राखेको थियो। ती भने जलेर सखाप भएका छन्। संसद सचिवालयले नै व्यवस्थापन गर्ने दलका कार्यालयहरु भने ध्वस्त भएका छन्। ती कार्यलयहरू जलेका छन्।
सिंहदरबारमा नयाँ संसद परिसर निर्माण भइरहेको छ। नयाँ भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कक्ष, दलका कार्यालय र सचिवालयका भवन बनिरहेका छन्। संसद सचिवालयका दुवै भवनलाई नयाँ परिसरका भवनमा तत्कालै सार्न सकिने अवस्था छ। त्यस्तो अवस्थामा संसद सचिवालय प्रयोग गरिरहेका भवनहरूमा मन्त्रालय सञ्चालन गर्न सकिन्छ।
अर्थ मन्त्रालयको पछाडिको भाग जलेको छ। तर अगाडितर्फको भागमा क्षति पुगेको छैन। केही तलामा आगो लागेको भए पनि मन्त्रालयका धेरै भाग जोगिएको छ। केही गाडीहरू ध्वस्त भएका छन् भने केही गाडीका सिसा मात्र फुटेका छन्। ती मर्मत सम्भार गरेर सञ्चालन गर्न सकिने अवस्थामा छन्। ऊर्जा मन्त्रालयका सवारी साधनमा व्यापक क्षति पुगेको छ। भवनमा आगजनी गरिए पनि उल्लेख्य क्षति पुगेको छैन। पछाडिको भागचाहिँ केही जलेको छ।
अन्तरिम सरकार निर्माणको तयारी भइरहेकाले यी भवनहरू मन्त्रालयका लागि प्रयोग गर्न सकिने अवस्थामा छ।
गृह मन्त्रालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ। यो भवनमा गृह मन्त्रालय सरिसकेको छैन। त्यसैले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नयाँ भवनबाट सञ्चालन गर्न सकिने अवस्था छ।
प्रधानमन्त्री कार्यालयको पश्चिम तर्फको मुख्य भवनमा व्यापक क्षति पुगेको छ।
तर सोही भनवको पूर्वी मोहोडातर्फ केही तल्लाहरू जोगिएका छन्। पश्चिम मोहोडा पुनर्निर्माण भन्दा पनि नयाँ निर्माण नै गर्नुपर्ने अवस्थामा छ। तर पूर्वी मोहोडा मर्मत सम्भारबाट सञ्चालन गर्न सकिने अवस्थामा छ। गृह मन्त्रालय, शिक्षा मन्त्रालय, संघीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय भने पुनर्निर्माण नै गर्नुपर्ने अवस्था छ।
मुख्य सचिव एकनारायण अर्यालले शुक्रबार सिंहदरबारभित्र तोडफोड र आगजनीबाट भएको क्षतिको अवलोकन गरेका छन्। उनका अनुसार सिंहदरबार भित्रको अभिलेखमा कति क्षति पुगेको छ भनेर यकिन नै गर्न गाह्रो छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत मन्त्रालय परिसरमा रहेका सवारी साधनहरूमा पुर्याइएको क्षतिको लेखाजोखा भइरहेको छ।
उनले मर्मत गरेर चलाउन सकिने मन्त्रालयहरूबाट प्रशासकीय सेवा सञ्चालन ल्याउने बताउँदै नयाँ आउने सरकारलाई सहयोग गर्न प्रशासन संयन्त्र तयारी अवस्थामा रहेको पनि जानकारी दिए।
-ink-1757666240.jpeg)
-ink-1757666243.jpeg)
-ink-1757666242.jpeg)
-ink-1757666241.jpeg)
-ink-1757666242.jpeg)