पछिल्लो समय नेकपा (माओवादी केन्द्र)मा नेतृत्व परिवर्तनबारे पार्टीभित्रै बहस र चर्चा हुन थालेको छ।
गत साउनमा पार्टीको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले यो विषय जोडतोडले उठाए। तर स्थायी समितिका अधिकांश सदस्य वर्तमान नेतृत्वकै पक्षमा उभिएपछि यो विषय बहसमा आउन सकेन।
त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव शर्माले एकअर्कालाई सार्वजनिक रूपमै आरोप लगाउन र जबाफ दिन थाले। आफूले नेतृत्व छाड्दा पार्टी र देश नै गर्ल्याम गुर्लुम्म ढल्छ भन्नेसम्मको अभिव्यक्ति प्रचण्डको थियो।
अहिले परिदृश्य फेरिएको छ।
जेन–जी आन्दोलनका कारण प्रधानमन्त्री केपी ओलीले राजीनामा दिए। अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की भएकी छन्। र, संसद विघटन भएर आउँदो फागुन २१ गते चुनावको मिति तय भएको छ।
यसपालि आन्दोलनमा उठेका मुख्य मागमध्ये सत्ता र राजनीतिक दलहरूको नेतृत्वमा केही निश्चित व्यक्तिहरू मात्र अकंटक रहने प्रवृत्ति अन्त्य हुनुपर्छ भन्ने पनि एक हो।
पहिले यो विषय दबिँदै आए पनि अहिले अन्तरिम सरकार गठन र चुनावको मिति घोषणापछि अरू दलसँगै माओवादीमा पनि यसको बहस सुरू भइसकेको छ।
अब माओवादीमा त्यो बहस कसरी अघि बढ्ला? फागुनमा हुने चुनावमा पार्टी अहिलेकै नेतृत्वलाई लिएर जान्छ कि रूपान्तरण गरेर अगाडि बढ्छ?
यही विषयमा हामीले माओवादी केन्द्रका केही पदाधिकारी तहका नेता र केही युवा नेतासँग कुराकानी गरेका छौं।
माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयको निर्क्यौल छलफलबाट हुने बताए।
संसद विघटनलाई पार्टीले आधिकारिक रूपमै असंवैधानिक भनेकाले चुनाव र त्यो विषयमा पार्टीबाटै छलफल गरेर धारणा बनाइने उनको भनाइ छ।
'यसले राजनीतिक दलहरूलाई गतिलो सन्देश दिएको छ,' उनले भने, 'अब पार्टी कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर छलफल हुनेछ। समग्र परिस्थितिको समीक्षा हुन बाँकी छ। त्यसपछि मात्र कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निकाल्न सक्छौं।'
सचिव गणेश साहले अहिलेको परिस्थितिलाई राजनीतिक दलहरूमा परिवर्तन र रूपान्तरण नहुँदाको उपज भनेका छन्।
'कुनै पनि आन्दोलन कि त नेतृत्वले चलाउन नसकेर हुन्छ, कि जनता त्यो नेतृत्व अनुसार बस्न नखोजेर हुन्छ,' उनले भने, 'अहिलेको आन्दोलन जनता नेतृत्व अनुसार बस्न नखोजेर भएको भन्ने देखिएको छ।'
त्यस्तै, संसद विघटन असंवैधानिक भए पनि अब घोषणा गरिएकै मितिमा चुनाव गर्न माओवादीले पनि सघाउनुपर्ने उनको भनाइ छ।
'अब फेरि आन्दोलनमा जानु झन् ठूलो भूल हुनेछ। त्यसले अन्तरसंघर्ष र अस्थिरता बढाउँछ। भूराजनीतिक हिसाबले धेरै हानिकारक हुन्छ,' उनले भने।
उनले अहिलेकै (प्रचण्डकै) नेतृत्वबाट चुनावमा जाँदा माओवादीले ठूलो क्षति बेहोर्नुपर्ने पनि बताए।
'यही नेतृत्वमा माओवादी अगाडि बढ्यो भने हार बेहोर्नुपर्छ। ठूलो क्षति बेहोर्नुपर्छ। त्यसैले पार्टी बैठक बोलाएर अहिलेको अध्यक्षले छाड्नुभयो भने उहाँको राजनीतिक उचाइको कदर पनि हुन्छ,' उनले भने।
उनका अनुसार पार्टी पुनर्गठन र रूपान्तरण प्रक्रिया तत्काल सुरू गरिहाल्नुपर्छ। नेतृत्व परिवर्तनदेखि पार्टीको वैचारिक राजनीतिबारे पुनर्मूल्यांकन गर्नुपर्छ। र, वर्तमान अध्यक्षले पद छाडेर अभिभावकत्व प्रदान गर्नुपर्ने उनले बताए।
'हालका अध्यक्ष पदमा बसिराख्नुभयो भने पार्टीको छवि अझै तल खस्छ। उहाँले बैठक बोलाएर ल तपाईंहरू चलाउनुस् भन्न सक्नुपर्छ,' पूर्वमन्त्री समेत रहेका साहले भने।
स्थायी समिति सदस्य खगराज भट्टले पनि पार्टी अब यथास्थितिमा नरहने बताए।
यथास्थितिमा रह्यो भने आउँदो निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसक्ने भन्दै उनले दल संगठनात्मक रूपान्तरणमा जानुपर्ने बताए।
'नेताहरूले नेतृत्व र आफूलाई जति महान भने पनि पार्टी अहिले जसरी चलेको छ, त्यसलाई जनताले स्वीकार नगरेको पुष्टि भएको छ,' समिति सदस्य भट्टले भने।
रूपान्तरण र नेतृत्वको विषय पहिल्यैदेखि उठ्दै आए पनि अब यसबारे अझै ठूलो आवाजमा कुरा उठ्ने उनले बताए।
'सिंगो राष्ट्र हामीले नेतृत्व गरेको विचारबाट नेतृत्व हुने, तर विचारको नेतृत्व गर्ने शक्ति नै जनताबाट अलोकप्रिय हुँदै जाने कुरा हाम्रा लागि बिडम्बना बनेको छ। यसको समीक्षा गर्नुपर्छ,' उनले भने।
अब पार्टीलाई निरन्तर रूपान्तरण, परिमार्जन गर्ने, समयसँगै नेतृत्व फेरबदल गर्दै अघि बढ्ने, नेतृत्वमा जो भए पनि जनतासँग संवादमा रहने, तलदेखि माथिसम्मको नेतृत्वमा जनताको स्वीकार्यता कसरी बनाउने भन्ने विषयमा बहस अगाडि बढाउने उनले बताए।
'माओवादी नेताहरू पनि अरू पार्टीका जस्तै राजसी बने, परिवारवादमा फसे, जनतासँग र वर्गसँगको सम्बन्ध टुट्यो, राजनीतिक परिवर्तनपछि समृद्धि, विकास र सुशासनको नेतृत्व गर्न माओवादी जसरी अगाडि बढ्नुपर्थ्यो, त्यो गर्न सकेन भनेर जनताले हामीप्रति उठाएका प्रश्न हुन्,' उनले भने।
आउँदो चुनाव र त्यसमा कसको नेतृत्व हुने भन्नेबारे पार्टीभित्र गम्भीर छलफल गरिने उनले बताए।
'के गर्दा राम्रो हुन्छ भनेर छलफल हुन्छ। तर माओवादी अब यथास्थितिमा पक्का रहँदैन,' समिति सदस्य भट्टले भने।
केन्द्रीय सदस्य इन्द्र आङ्बोले पार्टीको नेतृत्वदेखि तल्लो कमिटीसम्म पुनर्गठन नगरे जनताले नपत्याउने बताए।
पछिल्लो घटनाले दुई–तिहाईको बलमा जे गरे पनि हुन्छ भन्ने कुरा अब जनताले मान्दैनन् भन्ने सन्देश गएको उनले बताए। त्यस कारण लोकतन्त्रको आधारस्तम्भ रहेका दलहरूले आफ्ना कमी–कमजोरीको आत्मालोचना गरेर, जनतासँग माफी मागेर रूपान्तरणतर्फ अघि बढ्नुपर्ने उनी बताउँछन्।
'घोषित मितिमै चुनाव गर्नुपर्छ र नयाँ जनादेश अनुसार दलहरू आउनुपर्छ,' उनले भने।
चुनावका लागि सिंगो पार्टी नै पुनर्गठन गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। यसका लागि वर्तमान नेतृत्व तयार हुनुपर्ने उनले बताए।
'यत्रो ठूलो आन्दोलनबाट नेतृत्वले सिकेको कुरा के हो, बुझाइ के हो भन्ने हामी सुन्न चाहन्छौं। पहिले नेतृत्वको कुरा सुनौं। त्यसपछि हाम्रो कुरा राख्छौं,' आङ्बोले भने।
अर्का केन्द्रीय सदस्य माधव सापकोटाले पार्टी रूपान्तरणको विषय अहिले आन्दोलन हुनुभन्दा अगाडि नै सुरू गरेको बताए। यो आन्दोलनले भने दलहरूप्रति जनता कति निराश छन् भन्ने स्पष्ट चित्र र सन्देश दिएको उनले बताए।
उनका अनुसार यसमा पछिल्लो सरकारको कार्यशैली मुख्य कारक हो। तर अरू दलको पनि उत्तिकै भूमिका छ। दलहरूमा प्रवृत्ति परिवर्तन आजको मुख्य आवश्यकता रहेको उनी बताउँछन्।
जनतासँग माओवादी अभियान, मध्यपहाडी राजमार्ग केन्द्रित अभियान लगायत विभिन्न अभियानमार्फत माओवादी जनतामा पुगेको र आत्मालोचना गरिरहेको उनले बताए।
'नेतृत्वको विषयलाई खुला ढंगले छलफल गर्ने र आन्दोलनसँग जोड्ने, आजको आवश्यकता के हो भन्ने विषयमा समान धारणा निर्माण गर्ने र त्यसका आधारमा अगाडि जाने विषयले केही हुन सक्छ,' उनले भने।
मूल नेतृत्व र ठूला नेताले आफ्नो पदीय जिम्मेवारी अनुसारको र केन्द्रीय स्तरका नेताहरूले सोही अनुसारको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।
'सबै दोष एउटालाई मात्रै थुपारेर म ठीक छु भन्न थाल्यो भने त्यो अवसरवाद हो। आफ्ना कमजोरी स्वीकार गरेर आत्मालोचना गर्ने र त्यसलाई नदोहोरिने प्रतिबद्धतामा विश्वास दिलाउनु आजको आवश्यकता हो,' केन्द्रीय सदस्य सापकोटाले भने।
माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री यो आन्दोलनले पार्टीहरूलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको बताउँछन्।
पुराना दल र नेताहरूको प्रवृत्तिमा नयाँ पुस्ता सन्तुष्ट छैनन् भन्ने कुरा ध्वंसात्मक ढंगले अभिव्यक्त गरिदिएको उनले बताए।
'यसले गर्दा हाम्रो पुस्ता पनि सोच्नुपर्ने ठाउँमा आइपुगेको छ,' उनले भने।
पार्टीलाई अहिलेको पुस्ताले पनि स्वीकार गर्ने ढंगबाट कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीरतारपूर्वक छलफल गरिने उनले बताए।
'छलफल गरेर नयाँ ढंगले सोच्नुपर्छ भन्ने ठाउँमा पुगेका छौं,' उनले भने, 'पछिल्लो घटना क्रममा पार्टीभित्र उठ्दै आएको नेतृत्व परिवर्तनको विषय अझै जोडतोडले उठ्ने र नेतृत्वलाई पनि यस विषयमा गम्भीरतापूर्वक सोच्न बाध्य बनाउँछ भन्ने आशा हो।'
अहिलेको आन्दोलनमार्फत् नयाँ पुस्ताले राजनीतिक दलहरूलाई सुध्रिनुपर्ने सन्देश दिए पनि सुधारका लागि लामो समयदेखि उठाइरहेको प्रत्यक्ष कार्यकारी प्रणालीबाट पछि हट्नु दुःखद रहेको सापकोटा र सहयात्री बताउँछन्।
'प्रत्यक्ष निर्वाचित कार्यकारीको माग थियो, त्यसमा कायम हुन्छन् भन्ने थियो। त्यसले पनि राजनीतिमा सुधार ल्याउन सक्थ्यो,' उनीहरूले भने।