'धन्न! एक इन्चले बाँचियो। घाँटीको मुख्य नलीमा गोलीले छोएको भए म मर्ने थिएँ।'
जेन–जी आन्दोलन क्रममा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय सुदीप सुनारले आफ्नो घाँटीमा लागेको चोट देखाउँदै मसिनो स्वरमा भने।
घाँटीमै गोली लागेका कारण बोल्न सक्दिन कि भन्ने उनलाई डर थियो। तर सिभिल अस्पतालमा एक साताको उपचारपछि उनी मसिनो स्वरमा बोल्न सक्ने भएका छन्।
सुदीपलाई शुक्रबार दिउँसोदेखि नर्मल वार्डको १२५ नम्बर बेडमा सारिएको छ। उनको रेखदेख गर्न अस्पतालमा कोही आफन्त छैनन्। बेला बेला सँगै बस्ने साथीहरू आउँछन्, जान्छन्।
'अस्पतालले डिस्चार्ज गरिदियो भने घर जान्छु। आमाबुबाले हेरचाह गर्नुहुन्छ,' सुदीपले भने, 'अस्पतालले अझै तीन–चार दिन बस्नुपर्छ भनेको छ।'
सुदीप साइकलमा फुड डेलिभरीको काम गर्छन्। बिहान कलेज जान्छन्। दिउँसो एकछिन आराम गर्छन्। साँझ ४ बजेदेखि राति ११ बजेसम्म घर घरमा सामान पुर्याइदिन्छन्।
भदौ २३ गते पनि उनी ४ बजेतिर गौशलाबाट नयाँबानेश्वर आउँदै थिए। जेन–जी आन्दोलनमा सहभागी आफ्ना साथीहरूसँग मिसिन त्यहाँ आएको उनी बताउँछन्।
'संसद भवनअघि धेरै भीडभाड थियो। अश्रुग्यासले आँखा पिरो भइरहेको थियो। एक्कासि कसरी गोली लाग्यो थाहा छैन,' उनले भने, 'म अर्धबेहोस भएछु। सडकमा ढलेपछि मानिसहरूले अस्पताल ल्याइदिएका रहेछन्। अहिलेसम्म जेन–जीका कुनै नेताहरू हामी बिरामीलाई भेट्न आएका छैनन्।'
सुदीप प्युठान नगरपालिका– ४ का हुन्। उनका एक भाइ, हजुरआमा र आमाबुबा छन्। उनी एक वर्षअघि पढ्न काठमाडौं आएका थिए।
उनलाई सधैं देशमा भइरहेको भ्रष्टाचारविरूद्ध बोल्नुपर्छ भन्ने लाग्थ्यो। त्यही भएर एकछिन भए पनि साथीहरूलाई साथ दिन्छु भन्ने सोचेर आन्दोलनमा मिसिन आएको उनी बताउँछन्।
रूपिन खड्का
२६ वर्षीय रूपिन खड्का पनि आन्दोलनमा घाइते भएर अस्पतालमा उपचाररत छन्। उनको दायाँ हातको पाखुरामा ८ वटा गोली लागेको छ।
'साथीहरूले भ्रष्टचारविरूद्ध बोल्ने भनेपछि म पनि सहभागी हुनुपर्छ भनेर आएको थिएँ। संसद भवनअघि बोल्दाबोल्दै गोली लाग्यो,' रूपिनले भने, 'त्यही दिन तीनवटा र अर्को दिन पाँचवटा गोली अपरेसन गरेर निकालियो।'
रूपिन बानेश्वर बहुमुखी क्याम्पसबाट स्नातक चौथो वर्षको परीक्षा दिएर बसेका छन्। कलेज पढ्दा पनि आफूले भ्रष्टाचारविरूद्ध बोल्दै आएको उनी बताउँछन्।
'सरकारले गर्ने हरेक काम, योजना, भौतिक पूर्वाधार मात्र नभई जताततै भ्रष्टाचार भइरहँदा मलाई जेन–जी प्रर्दशनमा सहभागी हुनुपर्छ भन्ने लाग्यो,' रूपिनले भने, 'म युवाहरूको भीडमा मिसिएर संसद भवनतिर दौडिएको थिएँ। अश्रुग्यासको वर्षा भइरहँदा कसरी र कहाँबाट गोली लाग्यो थाहै छैन।'
यो सरकारले भ्रष्टाचारविरूद्ध ठोस काम गरोस् भन्ने उनको अपेक्षा छ।
२५ वर्षीय केशव लिम्बू पनि भ्रष्टाचारशून्य देश कल्पेर आन्दोलनमा सहभागी भएका थिए। त्यही क्रममा बायाँ खुट्टामा गोली लाग्यो।
भक्तपुर चारदोबाटो बस्ने उनी कानुनका विद्यार्थी हुन्। कानुनी प्रावधान भए पनि जनताले त्यसैअनुसार सेवा–सुविधा नपाउँदा बोल्नुपर्छ भन्ने लागेर साथीहरूसँग प्रदर्शनमा भाग लिएको उनी बताउँछन्।
'साथीहरूलाई पनि हामीले नबोले कसले बोल्ने, अनि अहिले नबोले कहिले भनेर प्रदर्शनमा ल्याएको थिएँ,' उनले भने, 'हामीले परिवर्तनका लागि गोली खाएका हौं। त्यसलाई खेर जान नदिइओस्।'
केशव लिम्बूको गोली लागेको खुट्टा
२२ वर्षीय विक्रम देउला सामाजिक सञ्जालमा भ्रष्टाचारविरूद्ध बोल्नुपर्छ भन्ने थाहा पाएपछि साथीहरूलाई साथ सडकमा आएका थिए। त्यही क्रममा गोली लागेर अस्पतालमा भर्ना छन्।
'दायाँ पिडुँलामा गोली वारपार हुँदा हड्डी टुक्राटुक्रा भएको छ भनेर डाक्टरहरूले भन्नुभएको छ,' उनले भने, 'ड्वाङ आवाज सुनेर भाग्न खोज्दा खुट्टा भुइँमा लत्रिएको जस्तो लागेर भाग्न सकिनँ। एकछिनपछि रगत बग्न सुरू भयो।'
विक्रम त्यति बेला के भयो भनेर सोच्न सक्ने अवस्थामै थिएनन्। अश्रुग्यास हान्न थालेपछि ढुंगा हान्न अगाडि बढ्दा आफूलाई गोली लागेको उनी बताउँछन्।
भ्रष्टाचारविरूद्ध बोल्नुपर्छ भन्ने सामाजिक सञ्जालमा देखेपछि आन्दोलनमा सहभागी भएको उनको भनाइ छ।
भदौ २३ र २४ गते जेन–जी आन्दोलन क्रममा मृत्यु हुनेको संख्या अहिलेसम्म ७२ पुगेको छ। पहिलो दिन नै १९ जनाको मृत्यु भएपछि २४ गते देशभरका सरकारी कार्यालय, प्रहरी कार्यालय, सिंहदरबार, संसद भवन लगायतमा आगजनी र तोडफोड भएको थियो।
सिभिल अस्पतालले प्रदर्शन क्रममा घाइते भएका साढे चार सयभन्दा बढीको उपचार गरेको छ।
विक्रम देउलाको गोली लागेको खुट्टा
***