सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा चुनाव घोषणा गरेपछि त्यो चुनावमा भोट हाल्न मतदाता नामावलीमा अब नाम लेखाउन मिल्छ कि मिल्दैन भन्ने चासो छ।
१८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाहरू चुनावमा भोट दिन योग्य हुन्छन्।
कसैले १६ वर्षमै नागरिकता बनाएको र त्यस बेलै मतदाता नामावलीमा नाम लेखाइसकेको छ भने चुनाव हुने अघिल्लो दिनसम्म १८ वर्ष पुगेका खण्डमा पनि उसले मतदान गर्न पाउँछ।
भदौ २३ र २४ को आन्दोलनपछि जेनजीहरूको प्रस्तावमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएर कार्यभार सम्हालिसकेकी छन्।
उनले प्रधानमन्त्री नियुक्ति भई शपथ लिएपछि राष्ट्रपति भवन शीतल निवासमै मन्त्रिपरिषद बैठक गरी प्रतिनिधि सभा विघटन र फागुन २१ मा चुनाव गर्न मिति सिफारिस गरेकी थिइन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन र चुनाव मिति घोषणा अनुमोदन गरिसकेका छन् भने चुनावलाई सहयोग गर्न पनि आग्रह गरेका छन्।
फागुन २१ गते हुने चुनावका लागि अब मतदाता नामावलीमा नाम लेखाउन मिल्छ कि मिल्दैन भनेर युवायुवतीलाई चासो छ।
हामीले यसबारे निर्वाचन आयोगसँग बुझेका छौं।
सहसचिव नीता पोखरेल अर्यालका अनुसार निर्वाचन मिति घोषणापछि मतदाता नामावलीमा नाम समावेश गर्न नपाउने व्यवस्था छ।
तर यसपालि दुई दिने आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको र सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेर प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गरेको अवस्था छ।
‘अहिले मुलुकमा विशेष परिस्थिति देखियो, अपरझट चुनाव घोषणा भएको अवस्था भएकोले मतदाता नामावलीमा नाम लेखाउन केही समय दिने कि के गर्ने भन्ने अहिले नै निर्णयमा आयोग पुगिसकेको छैन, आयुक्तहरूबीच छलफल भएपछि यसबारे केही निर्णय आउला कि!’ आयोगका एक पदाधिकारीले भने।
मतदाता नियमावली ऐन २०६३ को दफा ४ को २ को २ मा निर्वाचन मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने उल्लेख छ।
नियमावलीको यो व्यवस्था हटाउन सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन पनि सक्छ।