नवगठित अन्तरिम सरकारमा कुलमान घिसिङले ऊर्जासहित तीनवटा मन्त्रालयको जिम्मा पाएका छन्।
उनलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मा पनि घिसिङलाई नै दिइएको छ।
शीतलनिवासमा उनले तीनवटै मन्त्रालयको शपथ ग्रहण लिएका हुन्।
शपथ ग्रहणपछि उनी सिधै त्रिवि शिक्षण अस्पताल पुगेका छन्। भदौ २३ र २४ गते आन्दोलनमा मृत्यु भएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा छ।
त्यहाँ मृतकका आफन्तहरू पनि छन्। मन्त्री घिसिङले मृतकका आफन्तहरुलाई भेटेर कुराकानी गरेका छन्।
घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्।
आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि केपी ओली सरकारले नै प्राधिकरणबाट हटाएको थियो।
उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो।
अहिलेको मन्त्रिपरिषदमा रहेका तीन मन्त्रीमध्ये उनको दोस्रो वरीयता तोकिएको छ।
पहिलो वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल छन्।
तेस्रो वरीयतामा ओमप्रकाश अर्याल छन्। उनलाई गृहसँगै कानुन मन्त्रालयको जिम्मेवारी पनि तोकिएको छ।
बाँकी मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीले आफैले राखेका छन्। खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्तिका लागि छलफल चलिरहेको छ।