जेन–जी आन्दोलन क्रममा सबभन्दा गम्भीर अवस्थाका घाइतेलाई ट्रमा सेन्टर लगिएको थियो। नयाँबानेश्वरको सिभिल अस्पतालले पनि आफूकहाँ चाप धेरै भएपछि बढी गम्भीर अवस्थाका घाइतेलाई ट्रमा सेन्टर पठाइदिएको थियो।
आन्दोलन सुरू भएदेखि १८० जना घाइतेलाई ट्रमा सेन्टर ल्याइएकामा सोमबार बिहानसम्म १४२ जना डिस्चार्ज भएर घर फर्किसकेका छन्।
यहाँ ल्याइएकामध्ये ८ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।
तीमध्ये तीन जनाको अस्पताल आइपुग्नुअघि नै मृत्यु भइसकेको थियो भने बाँकी पाँच जनाको उपचार क्रममा मृत्यु भएको ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालले जानकारी दिए।
उनका अनुसार ट्रमा सेन्टरमा अहिले ३० जना घाइतेको उपचार जारी छ।
उपचाररत ३० जनामध्ये पाँच जना आइसियूमा छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर छ। बाँकी २५ जनालाई शल्यक्रियापछि नर्मल वार्ड सारिएको छ। उनीहरूको अवस्था सामान्य रहेको डा. रिजालले बताए।
'धेरैजसो घाइते इमर्जेन्सी वार्डबाटै उपचार गरेर फर्किएका थिए,' उनले भने, 'मध्यम घाइते भएकाहरू फलोअपमा आइरहेका छन्।'