लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा मंगलबार बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो।
निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले असोज ३ गते बिहान ८ बजे दिवसको कार्यक्रम आयोजना गरिने जानकारी दिए।
भदौ २३ र २४ गते भएको जेनजीहरू आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालयहरूमा आगजनीबाट भएको क्षतिको विवरण संकलनको काम जारी राखिएको छ भने सामान्य मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सेवा सुरू गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले कर्मचारीहरूलाई मनोबल उच्च बनाएर सेवा प्रवाहमा जुट्न आग्रह गरे।
‘सेवा प्रवाहलाई चुस्त ढंगले सञ्चालन गर्न जरूरी छ, पाल टाँगेर भए पनि सेवा अगाडि बढाउन सकिन्छ त्यसको लागि कर्मचारीहरू मनोबल उच्च बनाएर काममा जुट्न आवश्यक छ,’ मुख्यमन्त्री आचार्यले भने।
जेनजीहरूको प्रदर्शनको क्रममा दाङको राप्ती उपत्यकामा रहेको प्रदेश सरकारको प्रशासनिक संरचनाहरू भने जोगिएका थिए।
मुख्यमन्त्री आचार्यले प्रदेशको प्रशासनिक केन्द्रको सुरक्षामा समुदाय स्तरबाट भएको पहल, आन्दोलनरत पक्षको संवेदनशीलता र सुरक्षा निकायको जिम्मेवार भूमिकाप्रति धन्यवाद दिएका थिए।
प्रदेश सरकार मातहत जिल्ला तहका रहेका कार्यालयहरू, चार पांग्रे र दुई पांग्रे सवारी साधनमा भने आगजनी र तोडफोड भएको छ।
अहिले जिल्लास्तरबाट क्षतिको विवरण संकलन गर्ने काम भइरहेकोले आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबाट कति क्षति भयो भन्ने यकिन विवरण आइनसकेको निमित्त प्रमुख सचिव सुवेदीले बताए।