विराटनगरको देवकोटा चोक आसपास पुग्नासाथ खरानीको खार महसुस भइहाल्छ।
देवकोटा चोकबाट उत्तरतिर रहेको उच्च अदालत होस् अथवा थोरै पश्चिमतिर रहेको प्रदेशसभा भवन, दुवैतिरबाट आउने गन्धले बताउँछ, यहाँ खरानीको साम्राज्य उपस्थित छ।
भदौ २४ मा भएको उदण्डतापछि प्रदेश सभाका दुई वटा भवन कामै नलाग्ने गरी जलेर खाक भएका छन्। प्रदेश सभाका महत्वपूर्ण सामग्री सबैजसो चोरी भएका छन्।
संघीयता कार्यान्वयन अघि तत्कालीन जिल्ला विकास समितिको भवनमा रहेको प्रदेश सभाले २०७८ सालमा अलग्गै बैठक भवन बनाएको थियो। त्यो अस्थायी भवन निर्माणमा मात्रै २ करोड ५१ लाख ८१ हजार रुपैयाँ लगानी भएको थियो।
प्रदर्शनकारीहरूको आक्रोशको सिकार बन्दै गर्दा यी दुवै भवन जलेर खरानी बनेका छन्।
‘तलको फ्लोरमा थोरै जोगिएको भनेको क्यान्टिन र मिडिया सेन्टर मात्रै हो,’ प्रदेश सभाका कामु सचिव गौतम अमात्यले भने, ‘त्यही एक कोठे मिडिया सेन्टरबाट हामीले प्रदेश सभा सचिवालयको काम थालेका छौं।’
‘प्रदेश सभामा बचेका उपकरण जोडेर काम सुरू भएको छ,’ कामु सचिव अमात्यले भने, ‘आगजनी र त्यसपछिको लुटपाटमा समेत जोगिएको सभामुखको सचिवालयमा कम्प्युटरको सहायतामा काम थालेका हौं।’
त्यसो त प्रदेश सभाको मिडिया सेन्टरमा समेत आगजनी भएका कारण फर्निचर लगायतका सामग्री जलेका थिए। सचिवालयका कर्मचारीले सरसफाइ गरेर उक्त कोठालाई सचिवालयका रूपमा प्रयोगमा ल्याइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
सचिवालयमा आगजनीपछि धेरै कम्प्युटर लगायतका विद्युतीय उपकरणहरू लुटपाट भएको थियो। लुटिएका केही सामग्री फिर्ता समेत भइसकेका छन्।
‘अहिले लुटपाट र चोरी भएका सामग्री पनि फिर्ता आउन थालेका छन्, कर्मचारीहरूको सहयोगमा सरसफाइ गरेर प्रयोगमा ल्याउन सकिने अन्य ठाउँलाई पनि तयार पार्दैछौं,’ अमात्यले भने, ‘कर्मचारीहरू सबै आइरहनु भएको छ। आगजनी र लुटपाटबाट जोगिएका कम्प्युटर जोडेर मिडिया सेन्टरमा कार्यालय सञ्चालन गरेका छौं, अहिले क्षतिको विवरण संकलन गरिरहेका छौं।’
सचिवालयका अनुसार कोशी प्रदेशको बैठक बस्ने सभा हल मर्मत सम्भार गरेर पनि सञ्चालन गर्न नसकिने गरी क्षति भएको छ।
सचिवालयको तीन तले भवनको पहिलो तला पूर्ण रूपमा क्षति भएको छ। दोस्रो तलाको केही भाग पूर्ण रूपमा क्षति भएको छ।
विभिन्न विषयगत समितिका सभापतिहरूको कार्यकक्षसहित दुई वटा मिनी हल रहेको तेस्रो तलामा भने क्षति कम छ।
पुरानो भवन भएकोले सरसफाइ गरेर कार्यसञ्चालन गर्न जोखिमपूर्ण रहेको सचिव अमात्यले बताए। प्रदर्शनकारीको आगजनीबाट प्रहरी ब्यारेकको भित्री सम्पूर्ण संरचना जलेका छन्।
प्रदेश सभा सचिवालयको चमेना गृह समेत जलेको छ। तर त्यसलाई मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन सकिने अवस्थामा छ।
आगजनीबाट कोशी प्रदेश सचिवालयका ८ वटा चार चक्के गाडी, ११ वटा मोटरसाइकल र २ वटा स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
सचिवालयका कर्मचारी र प्रहरीका गरी थप ८ वटा निजी नम्बर प्लेटका मोटरसाइकल र स्कुटर समेत जलेका छन्।
‘अहिलेसम्म क्षतिको सबै विवरण संकलन भइसकेको छैन,’ कामु सचिव अमात्यले भने, ‘संकलन भइसकेपछि सार्वजनिक गर्नेछौं।’