नेपाली कांग्रेसभित्र पार्टीको आगामी नेतृत्वलाई लिएर विभिन्न विकल्पसहित बहस हुन थालेको छ।
पार्टी सुधार र रूपान्तरणमा जोड दिइरहेका नेताहरूले नेतृत्व बदलेर जरैसम्म सुधारको आवश्यकता औंल्याएका छन्।
सुशीला कार्की नेतृत्वको अहिलेको सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभा चुनाव मिति तोकेको छ।
त्यसअघि नै नेतृत्वसहित पार्टीमा व्यापक सुधार गर्ने पक्षमा केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरू देखिएका छन्।
कांग्रेस जनमुखीभन्दा नेतामुखी हुँदा अहिलेको परिस्थितिबाट गुज्रनु परेको निष्कर्षमा नेताहरू छन्। त्यसैले भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलन र त्यसको परिणाम भोग्नुपरेको नेताहरूको भनाइ छ।
जेनजी आन्दोलन र त्यसका परिणामपछि कांग्रेसभित्र व्यापक सुधारको आवश्यकता देखिएको नेताहरूको भनाइ छ।
जेनजी आन्दोलनपछि भर्चुअल तथा भौतिक रूपमा भएका भेला र नेताहरूले सार्वजनिक गरेका धारणामा पार्टी सुधारलाई नै जोड दिइएको छ।
कांग्रेसका नेताहरूले व्यक्त गरेका धारणाका आधारमा पार्टी रूपान्तरणका तीन विकल्पमा छलफल भइरहेको देखिन्छ।
पहिलो, सभापति देउवाकै अभिभावकीय भूमिकामा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी तोक्ने हो।
दोस्रो, केन्द्रीय समिति भंग गरी संयोजक मात्रै तोकेर अघि बढ्नु हो।
तेस्रो, अर्ली महाधिवेशनसँग सम्बन्धित छ।
सभापति शेरबहादुर देउवा जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भई उपचाररत छन्।
देउवाको अनुपस्थितिमा पार्टीका भर्चुअल बैठक उपसभापति पूर्णबहादुर खड्काले अघि बढाएका छन्।
सभापति देउवाको स्वास्थ्यलाभ कामनासँगै कांग्रेसका नेताहरूले पार्टी रूपान्तरणको बहस पनि अघि बढाएका हुन्।
यसअघि पार्टीलाई रूपान्तरण गर्न धेरै अभियान चले पनि त्यसले घच्घच्याउन सकेको थिएन।
यसपालि भने पार्टीलाई रूपान्तरण गर्न नेतृत्वदेखि विधान परिमार्जनसम्म गर्ने पक्षमा नेताहरू छन्।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा भदौ ३० गते बसेको भर्चुअल बैठकमा जिल्ला, प्रदेश सभापति, मुख्य मन्त्रीहरू, केन्द्रीय केही पदाधिकारीहरू सहभागी थिए।
यो भर्चुअल बैठक- पूर्वप्रधान न्यायाधीश सुशीला कार्की जेनजीको प्रस्तावमा प्रधानमन्त्री बनेको परिस्थिति र समीक्षा तथा असोज ३ मा संविधान दिवस मनाउनेजस्ता विषयमा केन्द्रित रह्यो।
एजेन्डाभन्दा बाहिर गएर पनि जिल्ला सभापतिहरूले मनका कुरा राख्न भने भ्याए।
सभापति देउवा दम्पतीमाथि भदौ २४ गते बूढानीलकण्ठस्थित घरमा भएको आक्रमण, देउवा निवासमा जलेको अवस्थामा भेटिएको भनिएको पैसा र त्यसको स्रोतजस्ता विषयमा केही जिल्ला सभापतिहरूले कुरा उप्काएका थिए।
देउवा निवासमा जेलेको अवस्थामा पैसा भेटिएको भन्दै सामाजिक सञ्जालमा भिडिओ आएको र त्यसको वास्तविकता के हो भन्ने चासो जिल्ला सभापतिहरूको थियो।
पाल्पा सभापति हिमाल श्रेष्ठ, इलाम सभापति डम्बर खड्का लगायतले ‘सभापति देउवाको घरमा डढेको अवस्थामा पैसा भेटियो’ भन्दै सामाजिक सञ्जालमा आएका भिडिओको सत्यतथ्य जानकारी दिनुपर्ने कुरा राखेका थिए।
यो विषयमा महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवा दम्पतीको उपचार जारी रहेको र घरभित्र फेला परेको भनिएको पैसाबारे सत्यतथ्य विवरण सभापति देउवाले नै पछि स्पष्ट पार्ने बताएका थिए।
यदि स्रोत नखुलेको सम्पत्ति जो कोहीसँग भए त्यसबारे राज्यले अनुसन्धान गर्ने महामन्त्री शर्माको भनाइ थियो।
सरकारले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गते चुनाव घोषणा गरेकोले त्यो चुनाव पार्टीले कसरी 'फेस' गर्ने विषयमा पनि केही जिल्ला सभापतिले कुरा राखेका थिए।
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर प्रतिनिधि सभा विघटनको विरोध गरेको छ। फागुन २१ को चुनावमा उसले भाग लिन्छ कि लिँदैन संस्थागत निर्णय गरिसकेको छैन।
तर नेताहरू चुनावमा होमिने गृहकार्यमा छन्।
अधिकांश जिल्ला सभापतिहरूले पार्टीले नयाँ पुस्ताको भावना बुझेर अघि बढ्नुपर्ने सुझाव नेताहरूलाई दिएका छन्।
ललितपुर सभापति जितेन्द्र श्रेष्ठले जेनजी आन्दोलनका क्रममा कांग्रेसकै कतिपय कार्यकर्ता तोडफोड र आगजनीमा लागेको देखिएकोले अनुशासन कायम राख्न पनि पार्टी रूपान्तरण नगरी नहुने बताएका थिए।
‘कांग्रेसकै नेताहरू खुलेआम जेनजीको जुलुस उत्तेजित पार्दै हिँडेको देखियो। यस्तो कांग्रेस कसरी चलाउने? रूपान्तरण अनिवार्य शर्त भइसकेको छ, ढिला नगरौं,’ उनले भर्चुअल बैठकमा भने।
उनकै जस्तै कुरा राखेका थिए- बैतडी सभापति चतुरबहादुर चन्दले। उनले अहिलेको प्रतिकूलता चिरेर कांग्रेस अघि बढ्नेमा विश्वास व्यक्त गरे।
‘इतिहास हेर्दा कांग्रेस यस्तै प्रतिकूलताका चिरेर अघि बढेको पार्टी हो, यो परिस्थितिलाई पनि चिरेर अघि बढ्छ,’ उनले भने, ‘नयाँ पुस्ताको भावनाअनुसार पार्टी चाहिँ रूपान्तरण हुनैपर्छ।’
अहिलेको परिस्थिति निम्तनुमा तत्कालीन संसदका दुई ठूला पार्टी कांग्रेस-एमाले मिलेर सरकार बनाउनुसमेत रहेको कुरा जिल्ला सभापतिहरूको छ।
एमालेसँग सत्ता सहयात्रा गर्दा प्रतिपक्षी (माओवादी केन्द्र) कमजोर देखिएको र सरकारका गतिविधिको प्रतिपक्षी दलहरू र कांग्रेसले पनि समयमै राम्रोसँग खबरदारी गर्न नसक्दा जेनजी आन्दोलनको पृष्ठभूमि र जनतामा निराशा थप गर्ने काम गरेको उनीहरूको भनाइ थियो।
‘केही दिनमै केन्द्रीय समिति बैठक बसेर दसैं-तिहारपछि अर्ली महाधिवेशन गर्ने गरी पार्टी अघि बढ्ने देखिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘पार्टी जरैदेखि रूपान्तरण हुनुपर्छ तर त्यसअघि सभापति देउवाले राजीनामा दिएर वातावरण बनाउनुपर्छ।’
सभापति देउवामाथि दबाब परेर नेतृत्व छाडे उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाउने तयारीसमेत रहेको चर्चा पार्टीभित्र छ। अहिलेकै नेतृत्व लिएर फागुन २१ को चुनाव फेस गर्न गाह्रो हुनेमा नेताहरू छन्।
सभापति, पदाधिकारी र सिंगो केन्द्रीय सदस्यहरूले पदबाट राजीनामा दिएर तदर्थ समिति बनाएर जाने विकल्पमा समेत पार्टीमा छलफल हुन थालेको छ।
नयाँ बानेश्वरमा मंगलबार बसेको नेता शेखर कोइरालानिकट पक्षका नेताहरूको छलफलमा अहिलेको केन्द्रीय समिति भंग गरी तदर्थ समिति गठन गरिनुपर्ने कुरा उठेको हो।
‘वर्तमान सभापति, पदाधिकारी र सबै केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिनुपर्ने, वैचारिक रूपमा योग्य, इमानदार र दूरदर्शी व्यक्तिलाई तदर्थ समितिको सभापति बनाउने, पार्टीको विधानअनुसार समयमै महाधिवेशन सुनिश्चित गर्नुपर्ने र आत्माआलोचना गर्दै जनताको घरदैलोमा गई विश्वास दिलाउने काम गर्नुपर्छ,’ नेता रञ्जित कर्णको पहलमा बसेको छलफलले यस्तो निष्कर्ष निकालेर कार्यान्वयनका लागि पार्टीसँग मागसमेत गरेको छ।
पार्टी रूपान्तरण गर्दा ४० वर्ष मुनिका युवायुवतीहरूको कम्तीमा ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्दै केन्द्रीय समितिमा उनीहरूको प्रतिनिधित्व बढाउनुपर्ने, भ्रष्टाचार निवारण आयोग पार्टीभित्रै गठन गर्नुपर्ने कुरा पनि उठेको छ।
क्रियाशील सदस्यता वितरणका लागि स्वतन्त्र र निष्पक्ष समितिको आवश्यकता र सबै तहका अधिवेशनलाई डिजिटल प्रणालीमार्फत पारदर्शी बनाउने कुरा पनि उनीहरूले छलफलमा उठाएका थिए।
केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि पार्टी पुनर्गठन गर्ने हो भने सबैले पद त्याग गर्नुपर्ने बताएका छन्।
‘महाधिवेशन नहुँदासम्म अब पार्टीमा संयोजक तोकेर अघि बढ्नुपर्छ। १४ औं महाधिवेशनबाट आएका सबैले पद छाडेर एक जनालाई संयोजक बनाएर अघि बढौं,’ उनले भनेका छन्।
नेता शेखर कोइरालाले पार्टी नवनिर्माणमा जुट्नुपर्ने बताए। हिजो पार्टी कहाँ चुक्यो भन्नेमा भन्दा अब कसरी सुधार गर्दै अघि जाने भन्नेमा बहसकेन्द्रित गर्नुपर्ने उनको भनाइ छ।
'हामीले आँसु बगाएर र पश्चाताप गरेर समय खेर फाल्नु हुँदैन। निश्चय नै विगतमा हामीले जनताका अपेक्षाअनुसार खरो उत्रन सकेनौं होला, यसका लागि प्रायश्चित गर्नुपर्छ,' उनले भनेका छन्, ‘न दाजुको न भाइको, कांग्रेस कांग्रेसजनको' भन्ने भनाइ अनुसार अघि बढौं।’
महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूको बहिर्गमन नीति नहुँदा वर्षौंसम्म नेतृत्व परिवर्तन नहुने अवस्था देखिएको बताए।
उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री, चार पटक सांसद मात्रै हुन पाउने व्यवस्था राख्न सके नेतृत्व बहिर्गमनको सुनिश्चितता हुने बताए।
अर्का महामन्त्री गगन थापाले जोडतोडले पार्टी रूपान्तरणको कुरा उठाउँदै आएका छन्।
थापाले जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी रहेको बताएका छन्।
‘हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन। पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ। नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु,’ उनले भने।
उनले गल्ती स्वीकार गर्दै आत्मसमीक्षा, आत्ममूल्यांकन र आत्मसंकल्प गर्नुपर्ने बताए।
कांग्रेस भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघले विज्ञप्ति निकालेर पार्टी रूपान्तरण गरिनुपर्ने उल्लेख गरेको छ।
‘कांग्रेसलाई वडादेखि केन्द्रीय तहसम्म पुनः निर्माण, पुनःसंरचना र रूपान्तरणका लागि तत्काल ठोस कदम चाल्नुपर्छ।यसका लागि अर्ली इलेक्सन वा विशेष महाधिवेशनमार्फत सुधार प्रक्रिया थालनी गर्नुपर्ने ठहर गरिएको छ। यसले युवा पुस्तामा पार्टीप्रति विश्वास र आशा पुनःस्थापना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ,’ संघका अध्यक्ष माधवप्रसाद चम्लागाईले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
कतिपय नेताहरू भने सभापति देउवामाथि आक्रमण भएका बेला पार्टी नेतृत्व छाड्ने कुरा गर्न नहुनेमा छन्।
सभापति देउवानिकट नेताहरूले देउवाकै नेतृत्वमा चुनावमा गएर ०८३ मंसिरमा १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्। तर यो कुरा मान्न अधिकांश नेता तयार छैनन्, यसो गर्दा जेनजीको भावनाविपरीत हुने र चुनाव फेस गर्न गाह्रो पर्ने चेतावनी उनीहरूको छ।
पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टी सभापति नै परिवर्तन हुने अवस्था अहिले नदेखिएको बताए।
'सभापति अहिले तुरून्त कसरी फेर्ने त? उहाँ (शेरबहादुर देउवा) ले राजीनामा गरे मात्रै हो, नत्र भने त अहिले सभापति फेरिने अवस्था छैन। हामीले त २०८३ सालको महाधिवेशनमा फेर्ने हो,' उनले भने।
तत्काल विशेष महाधिवेशन गर्ने अवस्था पनि नरहेको उनको भनाइ छ।
'यस्तो जर्जर अवस्थामा के-कसरी महाधिवेशन गर्न सकिन्छ र?। शीर्ष नेताहरूले छाड्ने भन्ने मानिसहरूको अपेक्षा त छ तर कहाँ छाड्छन् त? उनीहरू पनि जितेरै आएका हुन्,' उनले भने।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वैचारिक रूपमा पार्टी एकबद्ध हुनुपर्ने बताइरहेका छन्।
‘पार्टीभित्रका एकतालाई खलबल पार्ने खालका गतिविधि गर्न हुँदैन। जतिबेला राष्ट्र संकटमा पर्छ कांग्रेस नै अगाडि आएको छ, देश बचाउनका लागि,’ तरूण दलका अध्यक्ष विद्वान गुरूङलगायत सँग बुधबार कुराकानी गर्दै सिटौलाले भने।
कांग्रेसकै नेतृत्वमा देशका सारा समस्याको समाधान मुलुकले पाएको बताएका सिटौलाले भने, ‘हामीसँग ठूलो जिम्मेवारी र कार्यभार पनि छ। केही दिनभित्र पार्टीको बैठक बस्छ र केही निर्णय लिन्छ।’
कांग्रेस महाधिवेशन २०७८ मंसिरमा भएकाले यो मंसिरमा ४ वर्ष पूरा हुन्छ। ६ महिनाभित्र चुनाव हुने भएकोले त्यो अवधिमा १५ औं महाधिवेशन गर्न समय अभाव हुने कतिपय नेताहरू बताउँछन्। टोलदेखि केन्द्रसम्म ८ तहका संरचनामा अधिवेशन हुने भएकोले कम्तिमा एक वर्ष समय चाहिने विगतको अभ्यासले देखाउँछ।
क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम पनि सकिएको अवस्था छैन।
त्यसैले सभापति शेरबहादुर देउवाले अब केन्द्रीय समिति बैठक राखेर एक वर्ष कार्यकाल थप गर्ने प्रस्ताव राख्न सक्छन्। त्यसो भए कांग्रेसभित्र आगामी नेतृत्व र रूपान्तरणलाई लिएर थप बहस हुनेछ।
सभापति देउवा उपचारपछि पार्टीको नियमित काममा फर्केपछि बस्ने केन्द्रीय समितिमा पार्टीमा व्यापक सुधारको एजेन्डाले प्रवेश पाउने नेताहरूले बताएका छन्।
केही केन्द्रीय सदस्यहरूले सभापतिबाट देउवाको राजीनामा माग्न सक्छन्। कार्यवाहक सभापति तोक्न र अर्ली महाधिवेशन गर्न कार्यतालिका ल्याउन दबाब दिन सक्छन्।
यिनै विषय र विकल्पमा कसरी नेतृत्वमाथि दबाब पुर्याउने भनेर कतिपय नेताहरू गृहकार्यमा जुटेका छन्।