जेन–जी आन्दोलनको बलमा अन्तरिम सरकार गठन भइसक्दा पनि यो आन्दोलन सुरू गर्ने र भदौ २३ गते बिहान युवाहरूलाई माइतीघरमा भेला हुन आह्वान गर्ने खास व्यक्तिहरू को हुन् भन्ने प्रस्ट भइसकेको छैन।
छुट्टाछुट्टै समूहले 'सबै युवाहरूको आन्दोलन' भनिरहँदा हामीले त्यस दिन प्रदर्शन आयोजना गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अनुमति माग्न को गएका थिए भनेर बुझेका छौं।
प्रशासन कार्यालयका अनुसार भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गर्न पुरूषोत्तम यादव र सबल गौतम पहिलोपटक अनुमति लिन गएका थिए। २६ वर्षीय यादव पत्रकारिताका विद्यार्थी हुन् भने १९ वर्षीय गौतम बिबिए पढ्दै छन्।
उनीहरूले भदौ २२ गते दिउँसो नै प्रशासन कार्यालय गएर अनुमति लिएको प्रशासन कार्यालयले जनाएको छ। दुवैको नामसहितको पत्र प्रशासन कार्यालयमा दर्ता भएको देखिन्छ।
उनीहरूले स्वतन्त्र नेपाली युवाहरूको आयोजनामा माइतीघरमा हुने 'भ्रष्टाचारविरूद्ध कार्यक्रम' मा शान्ति सुरक्षाको व्यवस्था मिलाइदिनू भनी पत्रमा लेखेका थिए।
त्यसै दिन सुदन गुरूङ संयोजक रहेको 'हामी नेपाल' ले पनि माइतीघरमा प्रदर्शन हुने भनी जानकारी गराएको जिल्ला प्रशासनका एक अधिकारीले जानकारी दिए। तर हामी नेपालले प्रशासन कार्यालयमा बुझाएको पत्र उपलब्ध भएको छैन।
'म शान्ति सुरक्षा कायम गरिपाऊँ भनेर प्रशासन कार्यालय गएको थिएँ,' यादवले भने।
उनलाई सहायक सिडिओले सोधेका थिए, 'तपाईंहरूको प्रदर्शनमा कति जना आउनुहुन्छ?'
'सामाजिक सञ्जालमा राखेका भिडिओ दसौं लाखले हेरिरहेका थिए। तर प्रदर्शनमा धेरै मानिस जुट्लान् जस्तो लागेको थिएन। सिडिओसाबले सोध्दा मैले त एक–दुई सय मान्छे आउलान् भनेको थिएँ,' उनले भने।

अनुमति लिँदा आफूहरूले माइतीघरमै बसेर प्रदर्शन गर्ने योजना बनाएको पनि उनी बताउँछन्।
'हाम्रो आन्दोलन शन्तिपूर्ण थियो। बानेश्वरनिर पुगेपछि एक्कासि बाइकमा आएका युवाहरू छिरे, बाजा बजाउँदै आएका युवाहरू छिरे। त्यसपछि एकाएक सुरक्षा ब्यारिकेड तोडियो,' उनले भने।
उनले अगाडि भने, 'सुरक्षा निकायबाट त्यहीँनिर ठूलो चुक भयो। सुरक्षा निकायले एक तहको मात्र ब्यारिकेड लगाउँदा निषेधित क्षेत्र तोडियो। पानीको फोहरा हान्ने पनि एउटा मात्र गाडी थियो। त्यसले भीड नियन्त्रण गर्न नसकेपछि सबै जना संसद भवन अगाडि पुगे।'
प्रदर्शनकारीहरू संसद भवन अगाडि पुगेपछि नै स्थिति काबूबाहिर गएको उनी बताउँछन्।
'प्रहरीले त्यहाँ गोली चलायो। केही युवाहरू संसद भवन अगाडि ढलेको मैले देखेँ,' उनले भने, 'त्यसपछि हामी आत्तिएर भाग्यौं।'
लगत्तै उनीहरूले प्रेस विज्ञप्ति जारी गरेर जेन–जी आन्दोलनमा तोडफोड गर्नेहरू आफूहरू नभएको प्रस्टीकरण दिए। जेन–जीका अरू समूहले पनि क्रमश: त्यसमा आफूहरू संलग्न नभएको भन्दै विज्ञप्ति निकाले।
त्यस दिन काठमाडौंमा १७ जना र इटहरीमा दुई जना गरी १९ जनाको ज्यान गएको थियो।
भदौ २३ को रात आफू र आफ्ना साथीहरू काठमाडौंकै एउटा स्कुलमा रातभरि लुकेर बसेको यादव बताउँछन्।
'हामीलाई पनि समाउँछन्, मार्छन् भन्ने डर लाग्यो। राति स्कुलमा लुकेर भोलिपल्ट बाहिर निस्केका थियौं। भोलिपल्ट त आन्दोलन झन् चर्कियो,' उनले भने।
आन्दोलन नियन्त्रणबाहिर गएपछि संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी भवन लगायत विभिन्न महत्वपूर्ण भवनहरू जलाइए। निजी व्यावसायिक प्रतिष्ठानहरूमा पनि तोडफोड र आगजनी गरियो। शीर्ष नेताहरूदेखि ठूला व्यवसायीसम्मका घरमा तोडफोड र आगजनी भए। अहिलेसम्म मृतक संख्या ७२ पुगेको छ।
स्थिति नियन्त्रणमा लिन सेना परिचालन भएपछि पुरूषोत्तम यादव, रक्षा बम, तनुजा पाण्डे, सुदन गुरूङ लगायत युवाहरूलाई सैनिक मुख्यालय बोलाएर छलफल गरिएको थियो।
त्यही छलफलपछि भदौ २५ गते सरकारको नेतृत्व चुन्ने जिम्मा जेन–जी पुस्ताको काँधमा आइपुग्यो।
उनीहरूले सामाजिक सञ्जाल 'डिस्कर्ड' मा रहेको 'युथ अगेन्स्ट करप्सन ग्रुप' मा दिनभरि लाइभ बसेर नेतृत्वबारे छलफल गरे।
छलफलमा सुशीला कार्कीसहित कुलमान घिसिङ, बालेन शाह, राष्ट्रविमोचन तिमल्सिना, हर्क साम्पाङ लगायतको नाम प्रस्ताव भयो। त्यसमा १० हजार युवाले मतदान गर्दा पूर्वप्रधानन्यायाधीश कार्कीले सबभन्दा बढी भोट पाइन्।
कार्कीको शपथग्रहणमा पनि जेन–जी आन्दोलनका प्रतिनिधिलाई बोलाइएको थियो।
यादवसहित केही युवाले हल पछाडि बसेर शपथग्रहण हेरेका थिए। उनीहरूले कार्कीसँग सामूहिक तस्बिर पनि खिचाए। यादव कार्कीको पछाडि उभिएको तस्बिरमा देखिन्छ।
भ्रष्टाचार र बेथितिका कारण युवाहरूमा चरम निराशा छाएको र त्यसैबीच सामाजिक सञ्जाल बन्द भएपछि भदौ २३ को प्रदर्शन आयोजना गरेको यादवको भनाइ छ।
तर यो आन्दोलन यति ठूलो हुन्छ भन्ने कल्पनासमेत नगरेको उनी बताउँछन्।
'सम्भवत: सामाजिक सञ्जाल बन्द गर्ने केपी ओली सरकारको निर्णयले जेन–जी पुस्तालाई सडकमा ओर्लिन प्रेरित गर्यो,' उनले भने।
उनका अनुसार भदौ १९ गते त्यो निर्णय भएपछि भदौ २१ सम्म सामाजिक सञ्जाल 'डिस्कर्ड' मा स–साना प्रदर्शन आयोजना गर्न सर्भरहरू बन्न थालिसकेका थिए। विभिन्न क्षेत्रका अभियानी, व्यवसायी, कलाकार लगायत विविध पेसागत समूह पनि यस्ता ग्रुपमा जोडिन थालेका थिए।
'हाम्रो कुनै ठूलो नेटवर्क थिएन। हामीले सामाजिक सञ्जालबाटै आवाज उठाउँदै थियौं,' यादवले भने, 'त्यही सामाजिक सञ्जालमार्फत मानिसहरू जुटे। समूह समूहमा छलफल चलिरहँदा भदौ २३ गते सोमबार माइतीघरमा प्रदर्शन गर्ने टुंगो लाग्यो।'
त्यसैबीच आन्दोलनबारे छलफल गर्न हामी नेपालका संयोजक सुदन गुरूङको संयोजनमा 'युथ अगेन्स्ट करप्सन' (भ्रष्टाचारविरूद्ध युवा) नामको सर्भर ग्रुप बन्यो। सुदनले सामाजिक सञ्जालबाट सबैलाई त्यसमा जोडिन आह्वान गरे। त्यसपछि प्रदर्शन गर्न जानेहरू यही ग्रुपमा जोडिन थाले।
जेन–जी युवाहरूले आफ्नो प्रदर्शन क्रममा उठाएको भ्रष्टाचार र नेपोटिजम (नातावाद) विरूद्धको नारा केही समययता अन्तर्राष्ट्रिय रूपमै चर्किएका विषय हुन्। सन् २०२२ मा 'न्यूयोर्कर' पत्रिकाले 'द इयर अफ नेपो बेबी' प्रकाशन गरेको थियो। हलिउड र अरू क्षेत्रमा परिवारवादबारे शृंखलाबद्ध समाचार प्रकाशन भएका थिए।
त्यसपछि विभिन्न देशमा यसबारे बहस हुन थाल्यो। छिमेकी मुलुक भारतको बलिउडमा पनि परिवारवाद हाबी रहेको भन्दै बेलाबेला चर्चा हुने गरेको छ।
पछिल्लो समय यही 'नेपो बेबी' ट्रेन्ड राजनीतिक विरोधका लागि प्रयोग गरियो।
अगस्ट अन्तिम साता र सेप्टेम्बर पहिलो साता फिलिपिन्सका सामाजिक सञ्जालमा राजनीतिक पहुँचमा भएका नेताहरूका बालबच्चाको पहिरन, घुमफिर र खानपिनको मूल्य देखाएर पर्दाफास गर्न थालिएको थियो। राजनीतिक व्यक्तिका छोराछोरीको जीवनशैलीमाथि प्रश्न गरिएको थियो। लगत्तै यही ट्रेन्ड नेपालमा सुरू भयो।
नेपालमा यो ट्रेन्ड सुरू गर्नमा आफ्नो समेत हात रहेको यादव बताउँछन्।
उनले 'वेक अप नेपाल' पेज सञ्चालन गरेर विभिन्न व्यक्तिको जीवनशैलीमाथि प्रश्न गर्न थालेका थिए।
'जेन–जी आन्दोलनमा भएको उच्च सहभागिताका पछाडि नेपो बेबी ट्रेन्डिङ एउटा कारण हो भन्ने मलाई लाग्छ,' उनले भने, 'तर यो आन्दोलनले सोचेभन्दा फरक रूप लियो र हामीले कल्पनै नगरेको हिंसा र तोडफोड भयो।'
'दुखद घटना भयो। कहिल्यै नपुरिने क्षति भयो,' उनले अगाडि भने, 'तर यसले लाखौं जेन–जी युवालाई जगाएको छ। राजनीतिक रूपमा सचेत बनाएको छ। देशलाई यो राजनीतिक संक्रमणबाट बाहिर निकाल्न पनि हामी नेतृत्वदायी भूमिका खेल्न तयार छौं।'
***