प्रतिनिधिसभा विघटन गरी निर्धारित समयभन्दा दुई वर्षअघि नै निर्वाचन गर्ने निर्णयले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कायम व्यवस्था बिथोलिने अवस्था उत्पन्न भएको छ।
जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते नयाँ निर्वाचन घोषणा गरेकी हुन्।
यसबाट प्रतिनिधिसभाको पुरानो म्यान्डेट र प्रदेशसभाको नयाँ म्यान्डेटले राष्ट्रपति निर्वाचित गर्नुपर्ने अवस्था आएको छ।
संविधानमा राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूले मतदान गर्ने व्यवस्था छ। राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पनि पाँच वर्षको हुने भनेर संविधानले नै किटान गरेको छ।
पहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि ताजा जनादेशका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुन्थ्यो। तर अब प्रतिनिधिसभाको फागुन २१ को निर्वाचनपछि राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन हुने छैन।
अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव एकैचोटि प्रदेशसभाको निर्वाचनपछि अर्थात् २०८४ सालमा हुनेछ।
त्यति बेला २०८२ सालमा निर्वाचित प्रतिनिधिसभा सांसद र २०८४ सालमा निर्वाचित प्रदेशसभा सांसदले मतदान गर्नेछन्। एउटा जनादेश ताजा हुनेछ भने अर्को दुई वर्ष पुरानो हुनेछ।
यति मात्र होइन, अब लगभग दुई–दुई वर्षको अन्तरालमा तीन ठूला निर्वाचन गर्नुपर्ने अवस्थाले अर्बौं रकमको अतिरिक्त निर्वाचन भार देशले खेप्नुपर्ने अवस्था पनि उत्पन्न भएको छ।
विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकसाथ हुँदै आएको थियो। यसपटक प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने घोषणा गरिएको छ। त्यसको दुई वर्ष अर्थात् २०८४ सालमा प्रदेशसभा निर्वाचन गर्नुपर्ने छ। २०८४ सालमै देशभरका स्थानीय तहको पनि निर्वाचन हुनेछ।
संविधानले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको कार्यकाल पाँच–पाँच वर्षको हुने व्यवस्था गरेको छ।
२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। त्यसै वर्ष मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैचोटि भएको थियो।
पछिल्लो जेन–जी आन्दोलनको बलमा प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा नगर्दै विघटन भयो। अब अन्तरिम सरकारले तोकेको मितिअनुसार २०८२ फागुन २१ को निर्वाचनपछि बन्ने नयाँ प्रतिनिधिसभाको कार्यकाल २०८७ फागुनसम्म हुनेछ।
नयाँ प्रतिनिधिसभा बन्ने यो प्रक्रियामा अहिलेका प्रदेशसभा र स्थानीय तह भने यथावत् छन्। यी दुवै अंगको निर्वाचन पुरानै मितिअनुसार २०८४ सालमा हुनेछ।
भन्नुको मतलब, अहिले प्रतिनिधिसभाको निर्वाचन गरेपछि हामीले दुई वर्षमै यही स्तरका दुई ठूला निर्वाचन गराउनुपर्नेछ। त्यसको दुई–अढाई वर्षपछि अब बन्ने प्रतिनिधिसभाको कार्यकाल सकिन्छ, अनि फेरि त्यसको निर्वाचन गर्नुपर्छ।
२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड रूपैयाँ खर्च भएको थियो। त्यसअघि स्थानीय तह निर्वाचनमा ८ अर्ब ११ करोड खर्च भएको थियो।
निर्वाचनमा सुरक्षा, मतदानदेखि मतगणना व्यवस्थापनसम्ममा ठूलो रकम खर्च हुन्छ। अझ निर्वाचन आयोगले जारी गर्ने आचारसंहिताका कारण सरकारका कतिपय निर्णयमा झन्डै तीन महिनाजस्तो बन्देज लाग्छ। यसले पाँच वर्ष अवधिमा कम्तिमा तीनपटक निर्वाचन आचारसंहिता जारी हुनेछ र सरकारको काम–कारबाही प्रभाव पार्नेछ।
निर्वाचन आयोगका एक पूर्व पदाधिकारीले प्रतिनिधिसभाको निर्वाचन फागुनमा तोकिएकाले अब तीन तहको निर्वाचन छुट्टाछुट्टै तीनपटक हुने गरी मुलुक अघि बढेको बताए।
'यसले निर्वाचनको तालिका बिगार्ने भयो। निर्वाचन व्यवस्थापन खर्च पनि एकदमै बढ्ने भयो,' उनले भने।
ती पदाधिकारीले मुलुक प्रत्येक दुई वर्षमा निर्वाचनमा जाँदा राष्ट्रको काम–कारबाही नै प्रभावित हुने स्थिति आएको टिप्पणी गर्दै भने, 'निर्वाचन अघि र पछि मुलुक चुनावमय हुन्छ। अमेरिकादेखि भारतसम्म सबैतिर यस्तै हो। यसले देशको धेरै महिना निर्वाचनमै जाने भयो।'
यही समस्या हल गर्न निर्वाचन आयोगले विगतमा तीनै तहको निर्वाचन दुईपटक होइन, एकसाथ गर्ने गरी छलफल अघि बढाएको उनले स्मरण गरे।
'निर्वाचन आयोगले तीन तहकै निर्वाचन एकैपटक गरेर खर्च घटाउने योजना बनाएको थियो,' ती पदाधिकारीले भने, 'तर अब हामी ठिक उल्टो तीनवटा चुनावमा जाने भयौं।'
***