जेन–जी आन्दोलनले सरकारी संस्थाहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ — आफूकहाँ भएका कागजपत्र अभिलेखहरूलाई 'डिजिटाइज' गर्ने।
यसलाई सबभन्दा बढी गम्भीर रूपमा लिएको छ राष्ट्रिय अभिलेखालय तथा पुरातत्त्व विभागले।
हुन त यो आन्दोलनमा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म प्रदर्शनकारीको आक्रमणमा जल्दा एकै भवनमा सञ्चालित राष्ट्रिय अभिलेखालय र पुरातत्त्व विभागमा कुनै असर परेन। यसलाई सेना वा प्रहरीले नभई सम्पदाको महत्त्व बुझेका जागरूक नागरिकहरूले बचाएका थिए।
पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले आमनागरिकले देखाएको यो सचेतनाको सराहना गरेकी छन्।
'मानिसहरू पुरातत्त्व विभाग जोगाउनुपर्छ भनेर स्वस्फुर्त आउनुभएकाले यो आक्रमणबाट जोगिन सम्भव भएको हो। त्यस्तो त्रासदीपूर्ण समयमा उहाँहरूले जुन संयमता अपनाएर सुरक्षा दिई बसिदिनुभयो, त्यसका लागि जति धन्यवाद भने पनि कम हुन्छ,' महानिर्देशक प्रधानांगले सेतोपाटीसँग कुरा गर्दै भनिन्, 'उहाँहरू नआइदिनुभएको भए हामी दुई–चार जना कर्मचारीले जोगाउन सम्भव हुने थिएन।'
यो घटनाबाट अभिलेखालय र विभागमा रहेका पुराना कागजपत्र र ऐतिहासिक दस्तावेज डिजिटाइज गरेर सुरक्षित राख्नुपर्ने कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता महसुस भएको उनले बताइन्।
पुरातत्त्व विभागको भवनमुनि इतिहास, सम्पदा, पुराना ग्रन्थ, तमसुक, थ्यासफु, राजपत्र, लालमोहर, भोजपत्र, ताडपत्र, हुलाक टिकट, नक्सा, विभिन्न कार्यालयका कागजातदेखि माइक्रोफिल्मका अभिलेख छन्। २०२४ सालदेखि सञ्चालनमा आएको यो भागलाई राष्ट्रिय अभिलेखालय भनिन्छ। यो भवन जलेको भए ती अभिलेख नष्ट हुने थिए।
राष्ट्रिय अभिलेखालयकी पूर्वअधिकृत रज्जु हाडाले डिजिटाइजेसन द्रुत रूपमा हुनु अति आवश्यक भएको बताइन्।
'गत साता जुन घटना भयो, त्यसले हामीलाई सशंकित बनाएको छ,' करिब एक दशक अभिलेखालयमा काम गरेकी उनले भनिन्, 'मैले काम गर्दा नै हजारौं पोका अभिलेखको डिजिटाइजेसन हुन बाँकी थियो। यस्तो घटना फेरि नहोला भन्न सकिन्न। त्यही भएर यसलाई जोगाउन अति आवश्यक भइसक्यो।'
राष्ट्रिय अभिलेखालयमा ६ वटा शाखा छन् — ज्योतिष, अभिलेख, धर्मशास्त्र, तन्त्र/दर्शन, श्री कुमारीचोक र तिब्बती।
रज्जुले विशेषगरी अभिलेख र श्री कुमारीचोकका अभिलेखको डिजिटाइजेसन गरेकी छन्। उनका अनुसार श्री कुमारी चोकमा जग्गासँग जोडिएका कागजात भएकाले त्यहाँ सबै भन्दा धेरै मानिसको आवतजावत हुन्थ्यो।
सात–आठ वर्ष यी दुई शाखाको डिजिटाइजेसनमा काम गर्दा जम्मा ६०–७० पोका अभिलेखको डिजिटाइजेसन गर्न सकेको उनले बताइन्।
'त्यहाँ हजारौं संख्यामा त्यस्ता पोका छन् जुन डिजिटाइजेसन हुन बाँकी छ,' उनले भनिन्, 'डिजिटाइजेसन गर्दा कसले दिएको, कहाँबाट ल्याएको, कुन सामग्री प्रयोग गरिएको छ, कुन समयको हो जस्ता विषयको विस्तृत विवरण राख्नुपर्छ। च्यातिएका, धमिराले खाएका, पुराना अभिलेखलाई निकै जतनसँग काम गर्नुपर्छ।'
काम गर्नलाई जनशक्तिको कमी र बजेट पनि पुग्दो नभएको गुनासो उनले गरिन्। त्यही गुनासो अहिलेका निमित्त महानिर्देशक कुमार श्रेष्ठले पनि गरे।
'हामीसँग जम्मा चार जना कर्मचारी हुनुहुन्छ, जो डिजिटाइजेसनको काम गर्नुहुन्छ। त्यो जनशक्ति यस्तो कामका लागि निकै कम हो। कहिलेकाहीँ काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका विद्यार्थी पनि सहयोग गर्न आउनुहुन्छ,' उनले भने, 'बजेट पनि निकै कम छ। यो वर्ष डिजिटाइजेसनका लागि जम्मा ६ लाख बजेट छुट्याइएको छ। यो बजेट पनि यस्तो संकटको समयमा काटिएला भनेर हामी डराएका छौं। त्यही भएर बजेट नकाट्न अर्थ मन्त्रालयलाई अनुरोध पनि गरेका छौं।'
कुमारका अनुसार अभिलेखालयले अहिलेसम्म करिब ३० लाख हाराहारी पाना अभिलेख डिजिटाइजेसन गरिसकेको छ। कति अभिलेख यहाँ छन् भनेर गनिसाध्य नभएको उनले बताए।
'अभिलेखालयको संकलन त छँदै छ, बाहिरी जिल्लामा भएका मठमन्दिर, गुम्बा, कार्यालयहरूका अभिलेख पनि कति संकलित हुँदैछन् र कति त्यही गएर छानेर ल्याउनुपर्ने पनि छ,' उनले भने।
आफूहरूले डिजिटाइजेसन गरेका प्रतिलिपि भने सुरक्षाका लागि राष्ट्रिय अभिलेखालयसँगै सिंहदरबार र हेटौंडाको 'डिजास्टर रिकभरी कार्यालय' मा राखेको उनले बताए।
कुमारका अनुसार सबभन्दा पुरानो अभिलेखका रूपमा पाँचै शताब्दीतिरको दशभूमि पत्र छ। त्योसँगै आठौं शताब्दीको सद्धर्मपुण्डरिकसूत्र, नवौं शताब्दीको स्कन्दपुराण लगायत छन्। नवौं शताब्दीका शैव तन्त्रसम्बन्धीको ग्रन्थ निश्वासतत्त्व संहितालाई त युनेस्कोले मेमोरी अफ वल्र्ड रजिस्टरमा पनि सूचीकृत गरेको छ।
लालमोहर, स्याहामोहर, सन्धिसम्झौता, तमसुक, ऐतिहासिक चिठीपत्र लगायत त कति छन् कति!
'यदि जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले राष्ट्रिय अभिलेखालय जलाएका भए, देशको इतिहास/सम्पदा नै मेटिनसक्थ्यो। यो राष्ट्रले कहिले पनि भरपाई गर्न नसक्ने क्षति हुन्थ्यो,' उनले भने।
डिजिटाइजेसन सँगसँगै अभिलेखालयको सुरक्षाबलमा जोड दिन उत्तिकै आवश्यक भएको पनि कुमारले बताए।
उनका अनुसार अहिले अभिलेखालयमा ६ जना प्रहरी छन्। यहाँ सुरक्षाबल थप्न पनि आफूहरूले मन्त्रालयहरूसँग पत्राचार गरिरहेको उनले बताए।
जेन–जी आन्दोलन क्रममा कतिपय व्यक्तिगत भवन र सरकारी कार्यालयहरू जलेका छन्। तिनमा भएका कतिपय महत्वपूर्ण अभिलेख पनि नष्ट भए। त्यही भएर आफूसँग वा आफ्नो कार्यालयमा भएका महत्त्वपूर्ण अभिलेख वा त्यसका प्रतिलिपि अभिलेखालयमा ल्याउन कुमारले अनुरोध पनि गरे।
'हामीले महत्त्वपूर्ण कागजात किरा, ढुसीबाट जोगाउन विभिन्न रसायन हाल्छौं। कोठाको तापक्रमदेखि आद्रतालाई ध्यान पुर्याउछौं। अभिलेखालयको आफ्नै कमजोरी छन्। सीमित स्रोतसाधन छन् तर अभिलेखको महत्त्व बुझेर हामीले यसलाई सकभर जोगाउने प्रयास गरिरहेका छौं,' उनले भने, 'तपाईंले आफूसँग भएको अभिलेखका प्रतिलिपि जति धेरै ठाउँमा राख्नुहुन्छ, त्यति धेरै त्यसका तथ्यांक सुरक्षित हुन्छन्।'
यो पनि पढ्नुहोस्:
***