नेपाली कांग्रेसमा संस्थागत रूपमा विशेष महाधिवेशनको माग उठेको छ।
जुम्लालगायत केही जिल्लाबाट र भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघले संस्थागत निर्णय गर्दै विशेष महाधिवेशनको माग गरेका हुन्।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसभित्र नेतृत्वको राजीनामा र पार्टीलाई रूपान्तरणका विषय फेरि बहसमा छ।
कांग्रेस जुम्लाले बिहीबार केन्द्रीय कार्यालयमा पत्र पठाउँदै तत्काल विशेष महाधिवेशनको माग गरेको हो।
तत्काल विशेष महाधिवेशन र फागुन २१ को चुनावअघि प्रधानमन्त्री उम्मेदवार तोकेर अघि बढ्न कांग्रेस जुम्लाले आग्रह गरेको हो।
‘तत्काल विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्दै आउँदो फागुन २१ गते तोकिएको निर्वाचनमा कांग्रेसले भावी प्रधानमन्त्री स्पष्ट पार्दै तोकिएको व्यक्तिको नेतृत्वमा निर्वाचनमा जिम्मेवार तबरले सहभागीता जनाउनुपर्ने’ निर्णय जुम्ला कांग्रेसको छ।
पार्टीलाई अझै बलियो, जिम्मेवार र पारदर्शी बनाउने गरी कदम चाल्न पनि जुम्ला कांग्रेसले केन्द्रीय कार्यालयलाई भनेको छ। कार्यवाहक सभापति कार्मा बुढासहित कार्यसमिति बैठकले गरेको निर्णय हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा आएको छ।
साथै उनीहरूले पटक-पटक पार्टी र सार्वजनिक पद धारण गरेका नेताहरूले अब पार्टीको प्रत्यक्ष जिम्मेवारीबाट सन्यास लिँदै अभिभावकीय भूमिकामा रहन माग गरेका छन्।
पार्टीमा एक व्यक्ति, एक पद व्यवस्था लागू गरिनुपर्ने भन्दै उनीहरूले एकै व्यक्ति पार्टी र सार्वजनिक पदमा रहँदा संगठनमा नकारात्मक प्रभाव पर्ने गरेको औंल्याएका छन्।
पार्टीको सभापति, उपसभापति, महामन्त्री र अन्य पदमा अधिकतम २ कार्यकालभन्दा बस्न नपाउने व्यवस्था गरिनुपर्ने भनाइ उनीहरूको छ। कांग्रेस विधानमा सभापति दुई कार्यकालभन्दा बढी बन्न मिल्दैन।
सार्वजनिक पद पनि एकै व्यक्ति धेरै पटक लिने व्यवस्था कायम राख्न नहुने उनीहरूको भनाइ छ।
महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा पेस गरेको एक, दुई, तीन, चार फर्मुलाअनुसार अघि बढ्नुपर्ने संकेत जुम्ला कांग्रेसले दिएको छ।
‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, दुई पटक मन्त्री र ४ पटक सांसद मात्रै हुन पाउने व्यवस्था गरिनुपर्छ,’ जुम्ला कांग्रेसले सुझाव दिएको छ।
महामन्त्री शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद रहने प्रस्ताव महासमिति बैठकमा राखे पनि त्यसबेला सर्वसम्मत पारित भएको यो प्रस्ताव केन्द्रीय समितिमा परिमार्जन गर्दै संविधान संशोधनका बेला छलफल गर्ने भनेर थाती राखिएको थियो।
फेरि यो एजेन्डा कांग्रेसमा ब्युँतन खोजेको छ।
मेयर-उपमेयर, अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष पनि दुई कार्यकाल मात्रै उठ्न पाउने व्यवस्था कांग्रेसले गर्नुपर्ने माग जुम्ला कांग्रेसको छ।
उनीहरूले सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भदौ २४ गते आगजनी र तोडफोडसँगै पैसा भेटिएको भन्ने भिडिओहरू सार्वजनिक भएकोतर्फ संकेत गर्दै छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
‘आन्दोलनका क्रममा नेताहरूको घरमै अकुत नगद तथा जिन्सी सम्पत्ति रहेको समाचार बाहिरिएकोले तत्काल आन्तरिक छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने। यसले पार्टीको छवि सुधार्न मद्दत पुर्याउनुका साथै सुशासन कायममा सहयोग पुग्नेछ,’ जुम्ला कांग्रेसले भनेको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्लाहरूमा सर्कुलर पठाएर वर्तमान परिस्थितिकेन्द्रित सुझाव पठाउन भनेका थिए।
यो पनि: जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्ने कार्यकर्तालाई कारबाही गर्दै कांग्रेस, माग्यो नाम
यसअघि असोज १ गते राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईले विज्ञप्ति निकालेर विशेष महाधिवेशनको आवश्यकता रहेको औंल्याएका थिए।
‘नेपाली कांग्रेसलाई वडादेखि केन्द्रीय तहसम्म पुनः निर्माण, पुनःसंरचना र रूपान्तरणका लागि तत्काल ठोस कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ। यसका लागि अर्ली इलेक्सन वा विशेष महाधिवेशनमार्फत सुधार प्रक्रिया थालनी गर्नुपर्ने ठहर गरिएको छ। यसले युवापुस्तामा पार्टीप्रति विश्वास र आशा पुनः स्थापना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सभापति शेरबहादुर देउवा दम्पतीमाथि भदौ २४ गते घरमै आक्रमण भएको थियो। घाइते भएका उनीहरू उपचारमै छन्। कांग्रेसभित्र नेतृत्व परिवर्तनदेखि जरैदेखि पार्टी रूपान्तरण गर्नुपर्ने विषय उठ्न थालेको छ।
सभापति देउवा अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने केन्द्रीय समिति बैठकमा पार्टी रूपान्तरणबारे छलफल हुने नेताहरूले जनाएका छन्।
सभापति देउवा २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट सभापति पदमा दोस्रो पटक निर्वाचित भएका थिए। यही मंसिरमा उनको नियमित कार्यकाल सकिँदैछ। उनले विशिष्ट परिस्थिति देखाएर केन्द्रीय समितिबाट एक वर्ष कार्यकाल थप गर्न पाउँछन्।
तर फागुनमा प्रतिनिधि सभा चुनाव रहेकोले पुरानै नेतृत्वलाई निरन्तरता दिएर चुनाव फेस गर्न गाह्रो हुने नेताहरूको आकलन छ। सभापति देउवा पक्ष भने २०८३ को मंसिरसम्म १५ औं महाधिवेशन गर्ने पक्षमा छ।
उपसभापति पूर्णबहादुर खड्काले बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै अहिले नै केही निर्णय लिन हतार गर्न नहुने बताएका थिए।
यो पनि: पार्टी नेतृत्वबारे कांग्रेसमा छलफल चलेका तीन विकल्प