मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार थियो। तर जेन–जी प्रदर्शनपछि २८ भदौमा जनमतले आफ्नै नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो।
मधेस प्रदेश सभाका सभामुखलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता सहित मुख्यमन्त्री/मन्त्रीलाई फिर्ता बोलाइएको जानकारी गरायो।
पार्टीको निर्देशनानुसार जनमतबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री रहेका वसन्त कुशवाहा र वनमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिए। तर सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको घोषणा गरेका मुख्यमन्त्री सतिशकुमार सिंहले भने औपचारिक रूपमा राजीनामा दिएका छैनन्।
उनलाई पार्टीले कारबाहीका लागि स्पष्टीकरण समेत सोधिसकेको छ। यसै सन्दर्भमा सेतोपाटीका लागि वीरगञ्ज संवाददाता सुरेश बिडारीले मुख्यमन्त्रीसँग संक्षिप्त कुराकानी गरेका छन् ।
तपाईंले फेसबुकबाट राजीनामाको घोषणा त गर्नुभयो तर औपचारिक रूपमा प्रदेश प्रमुख समक्ष पत्र बुझाउनुभएको छैन। तपाईंको पार्टीले मुख्यमन्त्रीसहित मन्त्रीलाई फिर्ता बोलाएको भनेर प्रदेश सभा सचिवालयमा पत्र पठाएको छ। यो परिस्थितिमा तपाईंको कुरा के हो?
अहिले संघीयतामा असर परेको छ। परिस्थिति विषम छ, सबैले छोडेर जान भएन भन्नुभयो। अहिले सबै एकजुट भएर संघीयतालाई बचाउनुपर्छ। त्यसको वकालत गर्नुपर्छ भन्ने उहाँहरूको कुरा छ। त्यस्तो स्थितिमा राजीनामा गर्नु हुँदैन भनेर पार्टीमा पनि कुरा राखेको हो। तर पार्टीमा चलखेल गरेर क-कसलाई के इच्छा छ त्यही गरिरहेका छन्।
मैले प्रदेश प्रमुख आएपछि राजीनामा दिइहाल्छु भनेको थिएँ। त्यसो भन्दा उनीहरूले सभामुखलाई चिठी काटे। त्यसपछि सबैले अनुरोध गरिरहेका छन् कि, सबै एक जुट भएर जानुपर्ने बेलामा कहाँ छोडेर जानुहुन्छ?
अहिले कसैलाई बहुमत पनि छैन कि तुरून्तै सरकार बनाउन सकोस्। यस्तो बेलामा नराम्रो सन्देश जान्छ। जानैपर्छ भने एक–दुई महिनापछाडि अवस्था सामान्य भएपछि जानुहोला भन्ने सल्लाह आयो। त्यसैले म रोकिनुपर्यो। तर पार्टीले चिठी काटिदियो। इज्जत प्रतिष्ठा मान–सम्मान सबै हुन्छ नि! हाम्रा दलका नेताले छिटोछिटो चिठी काट्न आतुरी के थियो? समर्थन फिर्ता लिएका छौं भनेर हाउसमा चिठी नै पठाइसकेका छौं भने एक महिनाभित्र समर्थन लिनुपर्छ। अनि बल्ल म बस्न पाउँछु। राजीनामा दिने कुरै भएन नि त अब। हाउसमा आएको समर्थन म फेस गर्छु। बहुमत सिद्ध भयो भने बसौंला, भएन भने जाउँला। मेरो कुरा यही हो।
पार्टीको निर्णयभन्दा बाहिर जाँदा अप्ठेरो पर्ला नि?
राष्ट्रपतिज्यूले आँट नगरिदिएको भए, देशमा सहज स्थिति हुने थिएन नि! उहाँले त भन्नुभयो नि ‘बरू मलाई मारिदिनु तर म राजीनामा दिन्नँ।’ त्यही अडानले गर्दा देशमा संविधान बचेको छ। १० वर्षको जनयुद्धमाभन्दा बढी क्षति २७ घण्टाको आन्दोलनमा भएको छ।
संघीयतामा असर परेको छ। चारैतिर सरकारी कार्यालय जलेको छ। यस्तो परिस्थितिमा अहिले संघीयतालाई बचाउने हो। प्रदेशलाई बचाउने हो। सम्हालेर एउटा ट्रयाकमा ल्याउने हो कि फोहोरी राजनीति खेल्ने हो? पदको भन्दा पनि अहिलेको विषम परिस्थिति, संघीयतामा संकट आइरहेको स्थितिमा मधेस प्रदेशको नुन खाएको छु, त्यसको लागि जे मूल्य चुकाउनुपर्छ चुकाउँछु। तर छोडेर जाँदिनँ।
फेसबुकमा राजीनामा आफ्नो मनले दिनुभएको हो कि पार्टीको दबाबमा?
डा. साब (अध्यक्ष डा. सिके राउत) ले चाइनाबाट फोन गर्नुभएको थियो, के गर्ने विषम परिस्थिति छ, राजीनामा दिने हो? भन्नुभयो। मैले हुन्छ सर म राजीनामा लेखेर प्रदेश प्रमुखलाई पठाइदिन्छु। उहाँले नै भन्नुभयो– हैन प्रदेश प्रमुखलाई नदिनुस्। फेसबुकमा लेखिदिनुस्। त्यसपछि मलाई सबै जनाले यो विषम परिस्थितिमा यस्तो हुनु हुँदैन भनेर भन्न थाले। जनधनको क्षति नहोस्, प्रदेशको सम्पत्ति, कसैको सम्पत्ति क्षति नहोस्, जेन जी पुस्तालाई हस्तान्तरण गर्नका लागि भनेर लेखेको थिँए। म हटेपछि ऊ पार्टी, ऊ पार्टी हटेपछि अर्को पार्टीका लागि हैन नि!
जेन जी पुस्ताका लागि, अध्यक्षको भनाइअनुसार सामाजिक सञ्जालमा लेखेको थिएँ। त्यतिखेरै वा पछि पनि प्रदेश प्रमुखलाई राजीनामा दिन तयार थिएँ। तर बीचमा प्रतिष्ठासँग खेलबाड भयो। चारैतिर कोही पनि राम्रो भन्दैनन्। अहिलेको परिस्थितिमा। सबैले भन्छन्– एक जुट, एक ढिक्का भएर संघीयतालाई बचाउनुपर्छ। हाम्रो दलको नेतालाई मात्रै हतार भएको छ।
संसदीय दलका नेताले तपाईंसँग समन्वय गर्नुभएन र?
आफ्नै तालमा काम गरिरहनुभएको छ। कुनै बैठक बसेको छैन। सिधै चिठी काट्न सुरू गरिदिनुभयो। चिठी काटिसकेको अवस्थामा ‘फेस’ गरौंला, अब के गर्ने?
तपाईंलाई प्रदेश सरकार अस्थिर बनाएको आरोप पनि लागिरहेको छ नि?
मैले छोड्नेबित्तिकै अस्थिरताको बन्दी बनिहाल्छ नि। अहिले कसलाई बहुमत छ र? सरकार बनाउन। सबै लथालिंग पोजिसनमा छ। संघीयताको रक्षाको लागि मैले अडान लिएको हुँ। कसैको पद आजीवन हुँदैन। निश्चित समयका लागि हुन्छ। सबै राजनीतिक दलका नेताहरूले विषम परिस्थितिमा छोड्नु हुँदैन, सबै एकजुट भएर लाग्नुपर्छ भन्नुभयो। त्यो कुरा मलाई चित्त बुझ्यो। त्यही कुरालाई आत्मसात गरेर जे हुन्छ, त्यसलाई फेस गर्छु। म त्यो हिसाबले अघि बढेको छु। पार्टीभन्दा माथि देशको परिस्थिति र संघीयताको कुरा हो। जुनसुकै मूल्य चुकाउन तयार छु। तर अहिलेको भगौडा सिएम बनेर बस्न तयार छैन।