अन्तरिम सरकारले फागुन २१ गते आमनिर्वाचन हुने घोषणा गरेपछि धेरैलाई आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भन्ने चासो छ।
नागरिकता बनाउँदा मतदाता नामावलीमा नाम टिपाएका जेन–जी युवाहरूलाई त आफ्नो नाम सूचीमा परेको छ कि छैन भनेर हेर्न अझै बढी उत्सुकता छ। आउँदो चुनावमा जेन–जी युवाहरूलाई जसरी पनि मतदान गर्न आह्वान गरिएकाले उनीहरू सूचीमा नाम हेरेर आश्वस्त हुन चाहन्छन्।
त्यही भएर केही दिनदेखि निर्वाचन आयोगको वेबसाइटमा मतदाता नामावली खोज्ने क्रम ह्वात्तै बढेको छ।
तर यहाँ समस्या के आयो भने, निर्वाचन आयोगको वेबसाइट क्लिक गरेर मतदाता नामावलीमा जाँदा एउटा सूचना देखिन्छ। त्यो सूचनामा '२०८२ कात्तिक १६ सम्म १८ वर्ष उमेर पुग्ने' भनेर लेखिएको छ।
यसले नामावली खोजिरहेकाहरूलाई २०८२ कात्तिक १६ सम्म १८ वर्ष उमेर पुगेकाहरूले मात्र अर्को निर्वाचनमा भोट हाल्न पाउने हुन् कि भन्ने भ्रम सिर्जना गरेको छ।
जबकि, यो सत्य होइन।
निर्वाचन आयोगले नै २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम भएकाहरूले भोट हाल्न पाउँछन् भनेर भन्दै आएको छ।

त्यसो भए २०८२ कात्तिक १६ को यो सूचना कसरी आयो त?
खासमा यो सूचना कात्तिक १७ गते हुने भनिएको रूपन्देही–३ को उपनिर्वाचनका लागि हो। उक्त उपनिर्वाचनमा कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरू मात्र मतदान गर्न योग्य हुन्थे। तर बदलिँदो राजनीतिक परिस्थितिमा अन्तरिम सरकार गठन र फागुन २१ गते नयाँ निर्वाचन घोषणा भइसकेपछि रूपन्देही–३ को उपनिर्वाचन स्थगन गरिएको छ।
उपनिर्वाचन स्थगत भए पनि त्यसका लागि राखिएको सूचना वेबसाइटबाट नहट्दा भ्रम पैदा भइरहेको देखिन्छ।
हामीले यसबारे निर्वाचन आयोगका प्रवक्त नारायणप्रसाद भट्टराईसँग कुरा गरेका छौं।
'हामीले वेबसाइटमा चैतसम्मको मतदाता नामावलीमा नाम भएकाहरूको विवरण प्रकाशित गरेका छौं,' उनले भने, 'त्यसमा दाबी विरोधका लागि राखिएको सूचना उपनिर्वाचनका लागि हो। अब उपनिर्वाचन नहुने भयो। त्यसैले आयोगले अब रिअर्गनाइज गर्दैछ।'
आयोगले आधिकारिक तथ्यांक छिट्टै प्रकाशन गर्ने उनले बताए।
मतदाता नामावाली ऐन २०७३ अनुसार निर्वाचन मिति घोषणा भइसकेपछि नयाँ नाम दर्ता हुने छैन। तर कसैले नागरिकता बनाउँदा मतदाता नामावलीमा पनि नाम दर्ता गराएका छन् र उनी आउँदो निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते १८ वर्ष पूरा हुन्छन् भने त्यस्ता व्यक्तिले मतदान गर्न पाउने छन्।
उदाहरणका लागि —
मानौं, तपाईंकी छोरी वा छोरा २०८० फागुन २० गते १६ वर्ष उमेर पूरा भए। तपाईंले त्यसलगत्तै उनको नागरिकता प्रमाणपत्र बनाइदिनुभयो। र, नागरिकता बनाउँदा मतदाता नामावलीमा नाम पनि दर्ता गराइसक्नुभयो।
अब २०८२ फागुन २१ गते आमनिर्वाचन हुँदा तपाईंकी छोरी वा छोरा ठ्याक्कै भोट हाल्न योग्य उमेर अर्थात् १८ वर्ष पूरा भएका हुनेछन्।
यस्तो अवस्थामा उनीहरूले नागरिकता प्रमाणपत्र देखाएर नै मतदान गर्न पाउने छन्।
तर कदाचित् नागरिकता बनाउने बेला वा त्यसपछि पनि मतदाता नामावलीमा नाम लेखाएका छैनन् भने उनीहरू भोट हाल्न योग्य हुने छैनन्।
धेरै जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयहरूले नागरिकता बनाउन गएका व्यक्तिलाई त्यही बेला मतदाता नामावलीमा नाम लेख्न लगाउने गरेका छन्। त्यसैले निर्वाचनको समयमा बाहेक मतदाता नामावलीमा नाम लेखाउने काम क्रमश: चलिरहन्छ।
निर्वाचन आयोगले उपलब्ध गराएको २०८१ चैत ३१ सम्मको तथ्यांकअनुसार १ करोड ८१ लाख ४८ हजार ६ सय ५४ मतदाता छन्। जुन अघिल्लो प्रतिनिधिसभा निर्वाचनको भन्दा १ लाख ६० हजार ५४ ले बढी हो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए। त्यति बेला साउन १९ गते निर्वाचन मिति घोषणा भएको थियो। त्यसपछि मतदाता नामावलीमा नाम संकलन बन्द भयो। तर २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा भएका व्यक्तिले मंसिर ४ को निर्वाचनमा मत खसालेका थिए।
निर्वाचन आयोगले दिएको तथ्यांकलाई आधार मान्ने हो भने पछिल्लो २८ महिनामा १ लाख ६० हजार ८४ मतदाता थपिएका छन्। अर्थात्, २०७९ पुसदेखि २०८१ चैतसम्म प्रतिमहिना ५ हजार ७ सय १७ जनाले मतदाता नामावलीमा नाम लेखाएको देखिन्छ।
यसलाई आधार मानेर विश्लेषण गर्ने हो भने २०८२ को वैशाखदेखि भदौसम्म २८ हजार हाराहारी मतदाता थपिएका देखिन्छन्। आउँदो चुनावमा १ करोड ८१ लाख ७६ हजार हाराहारी मतदाता हुनेछन्।
तर मतदाता संख्या अहिल्यै यकिन साथ भन्न सकिँदैन। किनभने, निर्वाचन आयोगले केही समयपछि मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूमाथि पनि दाबी विरोध गर्न आह्वान गर्छ।
२०७९ को निर्वाचनमा आयोगले यस्तो दाबी विरोधका लागि पाँच दिनको समय दिएको थियो। निर्वाचन कार्यालय गएर नामावलीमा दोहोरो नाम भएका र मृत्यु भएकाहरूको विवरण हटाउने काम हुन्छ।