भदौ २४ गतेको जेनजी प्रदर्शनमा तोडफोड र आगजनीको आरोपमा कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई वडा सभापतिले आफूलाई मात्र कारबाही गरेर नेताहरुलाई छोडिएको गुनासो गरेका छन्।
जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटनामा संलग्न रहेको भन्दै पोखरा–१० का चन्द्रबहादुर थापा र मादी–६ का भोजराज पौडेललाई गण्डकी प्रदेश अनुशासन आयोगले वडा सभापतिबाट निलम्बन गरेको थियो।
थापा र पौडेलले पार्टीले स्पष्टीकरण राख्न पनि नदिई कारबाही गरेको बताए।
उनीहरुले पार्टीकै समर्थनमा आन्दोलनमा उत्रिएका बेला राज्यले गोली चलाएको दृश्य देखेर आफूहरू पनि सडकमा आएको बताएका छन्। एउटै विषयमा कारबाहीमा भने तल्ला तहका कार्यकर्तामात्र परेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरे।
थापामाथि पोखरा महानगरपालिका, मेयर धनराज आचार्यको घर र भाटभटेनीतर्फ भएको तोडफोड–आगजनीमा संलग्न भएको आरोप छ।
तर उनले घटनामा आफ्नो संलग्नता नस्वीकार्दै प्रहरीको अश्रुग्यासपछि नजिकै होटलको छतमा बसेको दाबी गरेका छन्।
पार्टीमा सहमहामन्त्री सुमना श्रेष्ठको पक्षमा उभिँदा सभापति रवि लामिछाने समूहले आफूलाई बदनाम गरेको आरोप पनि उनले लगाएका छन्।
पौडेलमाथि सिचाइँ कार्यालय तोडफोड र प्रदेश सांसद बेदबहादुर गुरुङको घरमा ढुङ्गा हानेको आरोप छ। उनले गेटमा लात प्रहार र बाहिरबाट ढुङ्गा हानेको स्वीकार गरे पनि आगजनी वा ठूला तोडफोडमा संलग्न नभएको बताए।
‘उत्तेजनामा ढुङ्गा हानें, तर तुरुन्तै गलत भयो भन्ने महसुस गरे,’ पौडेलले भने। उनले गुरुङसँग भेटेर क्षमायाचना गर्ने प्रयास गरेको पनि खुलाए।
उनीहरुले जिल्ला सभापतिदेखि केन्द्रीय नेतासम्म आन्दोलनमा देखिँदा पनि कारबाही आफूहरूमा मात्र केन्द्रित भएको आरोप लगाए।
‘पार्टीका ठूला नेताहरु पनि ठाउँ ठाउँमा हिडेको भिडिओ भाइरल छ। उनीहरूलाई केही भएन सानालाई मात्र कारबाही भयो,’ उनले भने।
रास्वपाले थापा–पौडेलसँगै गोरखाको पालुङटारका लक्ष्मण गिरी र नवलपुर गैडाकोटका विमल घिमिरेलाई पनि निलम्बन गरेको छ।
रास्वपा अनुशासन आयोग गण्डकीले आन्दोलनमा सहभागी भएर तोडफोड र आगजनीको आरोपमा थापा र पौडेलका साथै गोरखाको पालुङटार नगर सभापति लक्ष्मण गिरी र नवलपुरको गैडाकोटका नगरसभापति विमल घिमिरेलाई पनि निलम्बन गरेको छ।
अनुशासन आयोगका प्रदेश संयोजक योगेन्द्र कुँवरले परिस्थितिजन्य प्रमाणका आधारमा उनीहरुलाई तत्काल कारबाही गर्नुपरेको बताए ।
‘स्पष्टीकरण सोधेर कारबाही गर्न समय लाग्ने भएकाले परिस्थितिजन्य प्रमाणका रुपमा भिडिओ हेरेर निलम्बन गरेका हौं,’ उनले भने, ‘यसो नगर्दा तोडफोड र आगजनीमा संलग्न देखिएका व्यक्तिलाई पनि पार्टीले कारबाही गरेन भन्ने सन्देश जान सक्थ्यो ।’
काठमाडौंमा भएको प्रदर्शनमा राष्ट्रपति निवास शितल निवासबाट राष्ट्रपतिको नेमप्लेट बोकेर हिँडेका रास्वपा पर्वतका पूर्वसभापति सन्तोष रेग्मीलाई स्पष्टिकरण सोध्ने तयारी गरेको पनि कुँवरले बताए।