नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबका दिनमा पार्टी रूपान्तरण र पुनगर्ठनको कुनै विकल्प नभएको बताएका छन्।
शुक्रबार साँझ एक भिडिओ सन्देश सार्वजनिक गर्दै महामन्त्री थापाले भदौ २३ र २४ को आन्दोलनमा व्यक्त भावना बोकेर हिँड्न सक्ने पार्टीका रूपमा कांग्रेसलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्।
'सभापतिलाई मनाउने हो, फकाउने हो, तैपनि मान्नुभएन भने अब हात उठाउने होइन। अगाडि बढ्ने हो। त्योभन्दा अर्को कुनै बाटो हामीसँग छैन,' उनले भने, 'पार्टी रूपान्तरण र पुनर्गठनको यो अभियानमा लाग्दै गर्दा जस्तोसुकै मूल्य चुकाउन म तयार छु। पार्टीको साधारण सदस्य मात्र भएर बस्न तयार छु। भूमिमा बस्न तयार छु। किनकि यो मेरो विषय होइन। मभन्दा माथि पार्टी छ भन्ने मलाई थाहा छ। तर पार्टीभन्दा माथि देश छ।'
उनले अगाडि भने, 'आज देश दनदनी जलिरहेका बेला यसलाई निभाउन सक्ने तागत हामीले राख्नुपर्छ। सँगसँगै नवजवानहरूले जुन आगो ओकलेका छन्, त्यसको मर्म पनि हामीले बुझ्नुपर्छ। उनीहरूले परिवर्तन खोजेका छन्। त्यो परिवर्तनको जुन माग छ, त्यसलाई सम्बोधन गर्न सक्ने पार्टी भयो भने मात्र हामी सान्दर्भिक हुन्छौं। हाम्रो अर्थ हुन्छ। नभए हुँदैन। र, त्यस्तो पार्टी बनाउन सक्यौं भने मात्र त्यो पार्टीले नवजवानहरूले सोचेजस्तो देश बनाउने कुरामा योगदान गर्न सक्छ।'
पार्टी रूपान्तरण र पुनर्गठन निम्ति अधिवेशन गर्नुबाहेक अर्को बाटो नभएको उनले बताए।
महामन्त्री शर्माले अधिवेशन गर्ने दुइटा बाटो पनि औंल्याएका छन्।
एउटा, अधिवेशन आह्वान गरेर विधानका सबै धारा निलम्बन गरी पार्टीका सदस्यहरूबाट सिधा चुनाव गर्ने र सभापति छान्ने।
अर्को, विशेष महाधिवेशन डाक्ने।
'पुरानै महाधिवेशनका प्रतिनिधिहरूबाट विशेष महाधिवेशन गर्ने र त्यसले नयाँ नेतृत्व छान्ने उपाय अपनाउन सकिन्छ,' उनले भने, 'अहिलेको संक्रमणकालीन अवधिका लागि यो नेतृत्व छान्ने कुरा मात्र होइन; पार्टीको नीति, नियम, पार्टीसँग जोडिएका कतिपय प्रश्नको उत्तर दिने, पार्टीका कतिपय कमजोरी सच्याउने, हामीले गरेका गल्ती छाडेर नयाँ संकल्प गर्न पनि यो एउटा राम्रो मौका हुनेछ।'
नेपाली कांग्रेसमा विशेष महाधिवेशन डाकिएका ऐतिहासिक उदाहरण पनि उनले दिएका छन्।
उनका अनुसार २०१४ सालमा विराटनगरमा भएको विशेष महाधिवेशनबाट बिपी कोइराला सभापति बनेका थिए। त्यसपछिको चुनावमा कांग्रेसले दुईतिहाइ बहुमत ल्याएको थियो।
'आज फेरि त्यही बेला आएको छ,' उनले भने, 'नयाँ महाधिवेशन गरौं, या विशेष महाधिवेशन गरेर त्यसबाट नयाँ नेतृत्व छानौं। योभन्दा अर्को कुनै पनि बाटो छैन।'
भदौ २३ र २४ गतेको आन्दोलनका घाइते र सहिद परिवारलाई भेट्न नगएको विषयमा पनि महामन्त्री थापाले जबाफ दिएका छन्।
उनले भनेका छन्, 'म अहिले जान सक्दिन। मलाई अप्ठ्यारो लाग्छ। भ्रष्टाचारको अन्त्य र सुशासनको जुन माग राख्दा राख्दै उनीहरू लडेर ढले, यो माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले केही ठोस परिणाम ल्याउन सक्यो भने बल्ल म त्यो परिवारलाई भेट्न आफूलाई योग्य ठान्छु।'
आन्दोलनमा होमिएका नवजवानहरूको भावना बोक्ने पार्टी बनाउन सक्यो भने मात्र यो आन्दोलनप्रति सच्चा सम्मान हुने उनले बताए।
उनले जेन-जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले गर्नुपर्ने कामबारे पनि आफ्नो वक्तव्यमा चर्चा गरेका छन्।
उनले भनेका छन्, 'यो सरकारको म्यान्डेट चुनाव गराउनु हो। त्यसमा सबैले सहयोग गर्नुपर्छ। तर त्यसबाहेक भदौ २३ गते भएको दमन र भदौ २४ को घुसपैठ, यी दुवै कुरा छानबिन गर्नुपर्छ।'
भदौ २४ को आन्दोलनमा नवजवानहरूको रिस, आक्रोश र परिवर्तनको चाहना भए पनि कतिले त्यही मौका छोपेर व्यापक रूपमा आफ्नो प्रतिशोध साँध्ने काम गरेको महामन्त्री थापाले बताए।
'अदालतदेखि सिंहदरबार र राष्ट्रपति भवनसम्म जलाउन प्रयोग भएका विभिन्न हतकन्डा हामीले देख्यौं। निजी सम्पत्तिमाथि आक्रमण भएको, नेताहरूको घरभित्र छिरेर भौतिक आक्रमण गरिएको र कतिपय व्यावसायिक प्रतिष्ठानहरूलाई निशाना साधेर आक्रमण गरिएको पनि देख्यौं। यसमा कतिपय नयाँ र पुराना पार्टीका मानिसहरू संलग्न रहेको भेटिएको छ। त्यसैले आन्दोलनको पवित्रता एकापट्टि छ भने यसमा घुसपैठ क-कसले गरे, किन गरे भन्ने विषयमा पनि छानबिन हुनुपर्छ र दोषीले सजाय पाउनुपर्छ,' उनले भने।
उनले अगाडि भने, 'तिनले सजाय पाएनन् भने अलि पछाडि जब भदौ २३ र २४ को सम्झना गरिन्छ, त्यो बेला यत्रो त्याग र बलिदान दिएर युवाहरूले गरेको आन्दोलनलाई बदनाम गराउन यिनै कुराहरू प्रयोग हुन्छ। यिनै घटनाका विवरण प्रयोग हुन्छन्। त्यसैले भदौ २३ को दमन र भदौ २४ को घुसपैठ दुवै कुरा छानबिन गर्नुपर्छ।'
उनले २०४६ सालपछिका सबै काण्ड छानबिन गर्नमा पनि जोड दिएका छन्।
उनले भनेका छन्, '२०४६ सालपछाडि हामी जो जो जिम्मेवारीमा बसेका छौं, म बसेको छु, मन्त्री भएको छु, चारपटक सांसद भएको छु। मजस्तो राजनीतिक दलमा आबद्ध भएका, अड्डा अदालत, प्रहरी, प्रशासन, सेना सबैमा काम गर्नेहरूको सम्पत्तिको स्रोत, जग्गा-जमिन, व्यापार-व्यवसाय, हामी संलग्न भएका भनिएका कतिपय व्यवसाय, कतिपय काण्ड प्रत्येकको बिनाप्रतिशोध कानुनसम्मत् ढंगले छानबिन हुनुपर्छ। दूधको दूध, पानीको पानी हुनुपर्छ। जसले गल्ती गरेको छ, उसले सजाय पाउनुपर्छ। अनि मात्र अलिकति भए पनि केही उपलब्धि भएको ठहरिन्छ।'