प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा डा. संगीता मिश्र स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुने भएकी छन्।
कार्कीले आइतबार साँझ स्वास्थ्य मन्त्रीका रूपमा मिश्रको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। उनीसहित नयाँ नियुक्त हुने पाँच जना मन्त्रीको सोमबार शपथ हुनेछ।
मिश्रले अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिइसकेकी छन्।
यसअघि उनी सचिव बन्ने दौडमा थिइन्। गत फागुन २२ को मन्त्रिपरिषद बैठकले उनलाई छाडेर डा. विकास देवकोटालाई सचिव नियुक्त गरेको थियो। वरिष्ठता मिचेर सचिव नियुक्त गरेपछि विवादित भएको थियो।
यसका लागि अतिरिक्त सचिवहरू डा. संगीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस भएको थियो।
आफूभन्दा कनिष्ठलाई मन्त्रिपरिषदले स्वास्थ्य सचिव नियुक्त गरेकोमा डा. मिश्रले विभिन्न माध्यमबाट असन्तुष्टि जनाएकी थिइन्।
डा. मिश्र २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेर करिब एक वर्ष त्यहाँ काम गरेकी थिइन्। त्यसपछि उनी फुलब्राइट छात्रवृत्ति पाएर अमेरिका पढ्न गइन्।
फेरि २०७० असोज १० गते खुलातर्फको प्रतिस्पर्धामा ११औं तहमा नाम निकालेर उनी स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन्।
उनले स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरेकी छन्।
उनले कोभिड बेला कोशी अस्पतालमा गरेको काम र प्रसूति गृह प्रमुखका रूपमा गरेको कामको प्रशंसा हुने गरेको छ।