सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा अन्तरिम सरकारमा उद्योग तथा भूमिसुधार मन्त्री हुने भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उद्योग तथा भूमिसुधार मन्त्रीका रूपमा सिन्हाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। उनीसहित नयाँ नियुक्त हुने पाँच जना मन्त्रीको सोमबार शपथ हुनेछ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हाले ६५ वर्षे उमेर हदका कारण २०८० कात्तिक १४ गते अवकाश पाएका थिए।
न्यायाधीश नियुक्त हुनुअघि उनी लामो समय वरिष्ठ अधिवक्ताका रूपमा वकालतमा सक्रिय थिए। उनी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिल मानिन्छन्।
करिब सात वर्ष सर्वोच्च अदालतमा न्यायाधीश रहँदा उनले गरेका केही संवैधानिक फैसलाहरू महत्त्वपूर्ण छन्।
केपी ओली सरकारले गरेको संसद विघटनको पहिलो निर्णय उल्ट्याउँदा संवैधानिक इजलासमा उनी पनि थिए। त्यति बेला न्यायाधीश सिन्हाले संसद पुनर्स्थापनाको पक्षमा मत हालेका थिए।
त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति विवादमा फैसला गर्नेमा पनि उनी थिए।