पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा माओवादी केन्द्रको अध्यक्ष होइन, संयोजकका रूपमा शुक्रबार पहिलो पटक पत्रकारहरूसँग संवाद गरे।
संयोगको कुरा, आज असोज २४ गते हो।
ठ्याक्कै एक महिनाअघि, आजकै दिन देश आगोमा जलिरहेको थियो। संसद भवनदेखि सिंहदरबार र सर्वोच्च अदालतसमेत तोडफोड र आगजनीको सिकार हुँदै थिए। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू भागाभाग सेनाको सुरक्षामा पुगेका थिए।
त्यसरी भागाभाग सेनाको सुरक्षामा पुग्ने शीर्ष नेताहरूमध्ये प्रचण्ड पनि एक हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका उनले शुक्रबारको पत्रकार भेटघाटमा नयाँ परिस्थितिमाथि चर्चा त गरे नै, सँगसँगै भदौ २४ को घटना र त्यसपछिका दिनमा आफूले भोगेका केही अनुभव पनि सुनाए।
पहिला प्रचण्डको अनुभव सुनौं।
उनी शुक्रबार दिउँसो साढे १ बजेतिर पाटन महालक्ष्मीस्थानको रिभाइभ रेस्टुरेन्टमा पत्रकारहरूसँग कुराकानी गर्न उपस्थित भएका थिए। ठ्याक्कै एक महिनाअघि, लगभग यही समयतिर उनी त्यही सिंहदरबारभित्र थिए, जुन पछि आगजनी र तोडफोडले खण्डहरमा परिणत भयो।
उनी त्यति बेला सिंहदरबारमा प्रतिपक्षी दलहरूसँग छलफल गर्दै थिए।
भदौ २३ गते नयाँबानेश्वरमा भएको घटनापछि प्रतिपक्षी दलहरूको धारणा के हुनुपर्छ र कसरी अघि बढ्नुपर्छ भन्नेमा छलफल केन्द्रित थियो।
त्यही बेला सूचना आयो — देशभरि प्रदर्शनकारीहरू भड्किएका छन्। संसद, अदालत जस्ता प्रमुख सरकारी संस्थाहरूमा आगजनी सुरू भइसकेको छ। र, आगजनी गर्ने भिड सिंहदरबारतिर बढ्दैछ।
खबर पाउनासाथ प्रचण्ड लगायत अन्य प्रतिपक्षी नेताहरू सिंहदरबारबाट बाहिरिन खोजे।
तर सुरक्षा निकायले सिंहदरबार बाहिरको स्थिति असुरक्षित र भयावह हुँदै गएको भन्दै बाहिर जान दिएनन्।
त्यसपछि प्रचण्डले सिंहदरबारबाटै प्रधानसेनापति अशोकराज सिग्देललाई फोन गरे र आफू सिंहदरबारभित्र फसेको जानकारी गराए।
'त्यति बेला मसँग भएको सेक्युरिटीले सिंहदरबार बाहिर जान उचित छैन भनेपछि म आफैले प्रधानसेनापतिलाई सम्पर्क गरेको थिएँ,' भदौ २४ को अनुभव सुनाउँदै उनले भने, 'प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूलाई सेनाले गाडी वा हेलिकप्टरमा राखेर सुरक्षित ठाउँमा लगेको थियो। मैले चाहिँ आफै प्रधानसेनापतिलाई फोन गरेको हुँ।'
त्यसरी प्रधानसेनापतिलाई सम्पर्क गरेपछि सेनाले उद्धार गरेर सैनिक मुख्यालय (हेडक्वार्टर) मा लगेर राखेको प्रचण्डले खुलाएका छन्।
आफूबाहेक अरू को को नेतालाई कहाँ कहाँ लगिएको थियो भनेर उनले प्रस्ट बताएनन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने हेलिकप्टरमा उद्धार गरेर हेटौंडा लगिएको उनले संकेत गरे।
भने, 'केपी ओलीलाई सेनाले हेलिकप्टरमा राखेर हेटौंडा हो वा कतातिर पुर्याएको थियो।'
उनले एउटा कुरा प्रस्टै भने, 'त्यस दिन हामी सबै नेताहरूलाई सेनाले नै बचाएको हो। सेना नभइदिएको भए हामीलाई किचिमिची पारिसक्थे। हामी सेनाकै हेडक्वार्टरमा बसेर सकुशल आयौं। त्यसका लागि सेनालाई धन्यवाद छ।'
'मलाई अहिले पनि 'हामी बाँचियो कसरी' भन्ने प्रश्न घरि घरि मनमा आउँछ,' उनले भने, 'एक मनले सोच्छु, हामीलाई आखिर सेनाले नै बचाएको हो। फेरि अर्को मनले सोच्छु, हामी सबै नेताहरूलाई बचाउन सक्ने सेनाले सिंहदरबार किन बचाएन? सर्वोच्च अदालत किन बचाएन?'
उनले आफू कति दिन सैनिक मुख्यालयमा सेनाको सुरक्षा घेराभित्र बसे भन्ने खुलाएनन्। तर उनको भनाइको आशय बुझ्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदासम्म सेनाकै सुरक्षामा थिए भन्ने बुझिन्छ।
'म सेक्युरिटी खोज्दै सेनाको मुख्यालय पुगेको थिएँ,' उनले भने, 'हामीले त्यहीँबाट राजनीतिलाई ट्रयाकमा फर्काउन सक्नेजति भूमिका खेल्यौं।'
प्रचण्डले त्यति बेलाको आफ्नो भूमिका व्याख्या गर्न एउटा कथाको थुँगा जोडेका थिए।
कथा थियो —
एउटा घरमा आगो लागेछ। आगो निभाउन एउटा चरो पनि कम्मर कसेर लागेछ। ऊ आफ्नो चुच्चोमा पानी भरेर आगोमा खसाल्दो रहेछ। अनि, आगो निभेपछि भनेछ, 'यो सारा आगो निभाएको मैले हुँ नि!'
'त्यस दिन यो देशमा लागेको आगो मैले नै निभाएको हुँ भनेँ भने त्यो चराले गफ दिएजस्तै हुन्छ। त्यसैले मैले त्यहाँबाट निर्वाह गरेको भूमिकाले नै देश जोगियो वा सिस्टमहरू ट्रयाकमा आए भनेर भन्दिनँ। तर संकटको त्यो घडीमा हामीले आफूले सक्नेजति भूमिका खेलेकै हो।'
उनका अनुसार भदौ २४ को घटनापछि अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा सबभन्दा पहिला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम आएको थियो। जेनजी युवाहरूको माग अनुसार बालेनलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्नेबारे छलफल पनि भएको थियो। तर बालेन तयार नभएपछि विकल्पका रूपमा सुशीला कार्कीलाई छनौट गरिएको उनले बताए।
'बालेन आफू प्रधानमन्त्री हुन तयार नभएपछि सुशीला कार्कीको नाम आयो। हामीले आवश्यकताको सिद्धान्तका आधारमा उहाँलाई प्रधानमन्त्री नियुक्त गरेर अघि बढ्ने सहमति गर्यौं,' उनले भने।
कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन ओली पनि त्यति बेला सहमत भएको र ओलीकै सिफारिसमा टेकेर राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको प्रचण्डले बताए।
'सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको घटनामा हामी त साक्षी मात्र बसेका हौं,' उनले भने, 'लिखित सिफारिस गरेर दिने त ओली नै हो।'
'केपी ओलीलाई सेनाले हेलिकप्टरमा राखेर हेटौंडा वा कतातिर पुर्याएको थियो। उहाँले त्यतैबाट सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस लेखेर पठाउनुभयो,' प्रचण्डले अगाडि भने, 'आफैले सिफारिस गरेर प्रधानमन्त्री बनाएको व्यक्तिलाई अहिले आएर हाहुको सरकार भन्दै हुनुहुन्छ। कम्तीमा ओलीले यस्तो भन्न मिल्दैन। बरू हामी साक्षी मात्र बसेकाले हामीले भन्न मिल्ला!'
प्रचण्डले भदौ २३ र २४ को घटनालाई दुई दृष्टिले हेर्नुपर्ने बताएका छन्।
उनी भदौ २३ को घटनालाई आन्तरिक असन्तुष्टिका कारण उत्पन्न परिघटनाको परिणाम मान्छन् भने भदौ २४ को घटनालाई बाह्य परिघटनाको परिणाम मान्छन्।
'भदौ २४ गते पनि बिहानदेखि जेनजीहरू सकारात्मक ढंगले आन्दोलन गर्दै थिए। त्यस दिन दिउँसो ११-१२ बजेपछि भने त्यो आन्दोलन अर्कैको हातमा पुग्यो। दुई–चार घन्टाभित्रै विध्वंश मच्चियो,' उनले भने, 'यो विध्वंशका पछाडि लामो तयारी देखिएको छ।'
जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रिय सहमति जुटाउन वास्तविक जेनजी समूहका प्रतिनिधिसँग आफूले संवाद गरिरहेको पनि उनले बताए।
'वास्तविक जेनजी युवाहरूलाई विश्वासमा नलिई राष्ट्रिय सहमतिको वातावरण बनाउन सकिँदैन,' उनले भने, 'वास्तविक जेनजीलाई साथ लिएर अघि बढ्न सके मात्र हामी फेक जेनजीलाई पन्छाउन सक्छौं।'
पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा गर्ने क्रममा उनले अहिलेको राजनीतिक संकट चिर्न फागुन २१ को निर्वाचनलाई सफल रूपमा सम्पन्न गराउनुको विकल्प नभएको बताए।
माओवादीमा आफ्नो नेतृत्वलाई लिएर उनले भने, 'जेनजी आन्दोलनकै मागका कारण म पार्टीको नेतृत्व छाडेर महाधिवेशनमा जान लागेको हुँ। महाधिवेशनपछि म रिटायर्ड जीवन त बिताउँदिनँ। तर पार्टी प्रमुख भइरहनुपर्छ भन्ने पनि मलाई लाग्दैन।'
महाधिवेशनपछि पुरानो नेतृत्वले भिन्न भूमिकामा रहेर काम गर्ने उनले बताए।
फागुन २१ को निर्वाचन सफल गराउन सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई राष्ट्रिय सहमतिको वातावरण बनाउनतिर अघि बढ्न पनि उनले अपिल गरे।
'निर्वाचनपछि बन्ने प्रतिनिधिसभाले जेनजी आन्दोलनको भावना अनुसार नयाँ ढंगबाट संविधान परिमार्जन गर्नेतिर राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,' उनले भने, 'विगतको अप्ठ्यारो अवस्थामा पनि हामी सधैं राष्ट्रिय सहमतिबाटै अगाडि बढ्दै आएका हौं। २०६२ मा हामीले राष्ट्रिय सहमतिका आधारमा शान्ति सम्झौता गर्यौं। त्यसपछि २०७२ सालमा पनि राष्ट्रिय सहमतिकै आधारमा संविधान ल्यायौं।'
'अहिले २०८२ सालमा उत्पन्न राजनीतिक संकट समाधानका लागि पनि देशले फेरि एकचोटि त्यस्तै राष्ट्रिय सहमति खोजेको छ,' उनले भने।
पछिल्लो जेनजी आन्दोलनबाट सुरू भएको एउटा अभियानले भने आफ्नो चित्त दुखाएको प्रचण्डले बताएका छन्।
'युवाहरूले तीन पार्टी (नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र) र त्यसका तीन शीर्ष नेतालाई एउटै कित्तामा राखेर यिनीहरू तीनै जना खराब हुन् भन्ने अभियान चलाए,' उनले भने, 'म यो सरकारविरूद्ध जनतामा उत्पन्न असन्तुष्टिबारे लामो समयदेखि खबरदारी गर्दै आएको छु। जेनजी आन्दोलनपछि तुरून्तै पार्टी नेतृत्व छाड्न तयार भएको छु। यस्तोमा मलाई पनि उही कित्तामा राखेर गाली गर्दा मेरो चित्त दुखेको छ।'
***