नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को सुरक्षामा अहिले दैनिक ७० देखि १०० जना योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) कार्यकर्ता खटिन्छन्।
सरकारले भिआइपीहरूलाई दिँदै आएको सुरक्षा फिर्ता बोलाएपछि प्रचण्डको सुरक्षा व्यवस्था पार्टीकै भ्रातृ संगठनले गर्न थालेको हो।
सामान्य अवस्थामा ४५ जना वाइसिएल कार्यकर्ता प्रचण्डका वरिपरि हुन्छन्। त्यसलाई दुई घेरामा विभाजन गरी प्रचण्डको सुरक्षा व्यवस्था मिलाइएको वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा'ले जानकारी दिएका छन्।
पहिलो घेरामा १५ जना वाइसिएल हुन्छन्। दोस्रो घेरामा ३० जना वाइसिएल खटिएका हुन्छन्। त्यो टोली प्रचण्ड रहेको ठाउँबाट बढीमा १५० मिटर पर खटिन्छ र सुरक्षा संवेदनशीलता र गतिविधिहरूको अवलोकन गर्छ।
पहिलो र दोस्रो घेरामा सेना समायोजन हुँदा नेपाली सेनामा भर्ती भएर अहिले रिटायर्ड भएका पूर्वलडाकू हुन्छन्।
बाहिरी कार्यक्रम तय भएको खण्डमा सुरक्षाको तेस्रो घेरा खडा गरिन्छ।
इन्चार्ज दिपशिखाका अनुसार काठमाडौं उपत्यकाभित्रको कार्यक्रम छ भने वाइसिएलले केन्द्रबाटै टोली खटाउँछ। कति जना खटाउने भन्ने निर्क्योल कार्यक्रममा उपस्थित भिडअनुसार हुन्छ।
'ठूलो कार्यक्रम छ भने ५०/६० जनाको टोली खटिन्छ। मध्यम छ भने ३० जना र त्योभन्दा कम छ भने १० जना खटाइन्छ। त्यसको निर्धारण कार्यक्रमको स्केलअनुसार हुन्छ,' इन्चार्ज दीपशिखाले भने।
यो टोली भने प्रचण्ड कार्यक्रमस्थल पुग्नु अगावै पुग्छ र त्यहाँको अवस्था तथा गतिविधिको सूचना संकलन गर्छ। यो टोलीले अवस्था प्रतिकूल नभएको भनेपछि दोस्रो घेराको टोलीले रूट क्लिअर गर्छ र प्रचण्ड निर्धारित कार्यक्रमस्थलमा जान्छन्।
कार्यक्रमस्थलमा पहिलो लेयरका वाइसिएलहरू प्रचण्डकै वरिपरि हुन्छन्।
उपत्यका बाहिरका कार्यक्रम तय छ भने कार्यक्रम हुने जिल्ला र क्षेत्रकै वाइसिएलहरूले तेस्रो लेयरको सुरक्षा प्रदान गर्छन्।
बाहिरी कार्यक्रम तय भएको समयमा दैनिक औसतमा ७० देखि १०० जना वाइसिएल प्रचण्डकै सुरक्षामा खटिने दीपशिखा बताउँछन्।
प्रचण्डको सुरक्षा व्यवस्थापन र संयोजन दीपशिखा स्वयं र वाइसिएल अध्यक्ष पुष्प वली लगायत पूर्वलडाकूले गरिरहेका छन्।
यसरी दैनिक सय जनाको हाराहारीमा प्रचण्डको सुरक्षामा खटाइँदा त्यसको खर्च व्यवस्थापन र कार्यकर्ताहरूको जीवन निर्वाहबारे कसरी मिलाइएको छ भनेर हामीले वाइसिएल इन्चार्ज दीपशिखा र अध्यक्ष वलीलाई सोधेका छौं।
'उनीहरूलाई तलब दिएर राखिएको हो?' भनेर दुई नेतालाई प्रश्न गरेका छौं।
दीपशिखाले त्यसरी सुरक्षामा खटिने कार्यकर्ताहरूलाई तलबमा नराखिएको बताए। उनीहरू स्वयंसेवक भूमिकामा खटिएको उनले बताए।
सुरक्षाका लागि सधैं एउटै मान्छे नखटिने परिवर्तन भइरहने भएकाले पनि समस्या नहुने उनले बताए।
'संख्या उही भए पनि टोलीमा मान्छे परिवर्तन भइरहन्छ। दैनिक कामकारबाहीमा असर नगर्ने र प्रतिबद्ध कार्यकर्तालाई राख्छौं। कोही विदेशबाट लामो छुट्टीमा आउनुभएका कार्यकर्ताहरू हुन्छन्। त्यसरी नै मिलाएका छौं,' उनले भने।
वाइसिएल कार्यकर्ता र समायोजन हुँदा सेनामा गएर अहिले रिटायर्ड भएका पूर्वलडाकूको ठूलो संख्या भएकाले तलब नै दिएर राख्नुपर्ने स्थिति नरहेको पनि दीपशिखाले बताए।
'यो स्थिति सधैं यही रहने पनि होइन। हिजो १० वर्ष कठिन परिस्थितिमा पनि पार्टी नेतृत्वको सुरक्षा गरेका हौं, अहिले पनि गर्छौं भन्ने कार्यकर्ताको कमी छैन। २ लाख वाइसिएल कार्यकर्ता छन्। ५/६ हजार पूर्वजनमुक्ति सेना छन्,' उनले भने।
वाइसिएल अध्यक्ष वलीले पनि प्रचण्डको सुरक्षामा संगठित कार्यकर्ता परिचालन हुने र उनीहरू स्वयंसेवककै भूमिकामा रहने बताए।
'आर्मी पुलिसजस्तो तलबै दिएर राख्नुपर्ने, भत्ता दिएर राख्नुपर्ने हुँदैन। खानपिन र व्यवस्थापनको कुरा हो। सामान्य खाना खुवाउन धेरै खर्च हुँदैन। त्यो संगठनले नै गरिहाल्छौं। शुभेच्छुक र साथीभाइहरूले पनि खर्च गर्नुहुन्छ,' उनले भने।
प्रचण्डको भित्री सुरक्षा (पहिलो र दोस्रो घेरा) मा समायोजनपछि रिटायर्ड भएका 'पूर्वजनमुक्ति सेना' खटिने भएकाले खर्चको समस्या नहुने उनले बताए।
'बाहिर निस्कँदा अलि धेरै खर्च निस्कने हो। इन्डोरमा त छानिएका पूर्वजनमुक्ति सेनाकै साथीहरू खटिनुहुन्छ, जो समायोजन भएर सेनाबाट रिटायर्ड भएर आइसक्नुभएको छ। उहाँहरूलाई राज्यले पेन्सन नै दिन्छ। उहाँहरूलाई केही गर्नुपरेन,' अध्यक्ष वलीले भने।
नियमित खटिने ४०/४५ जना पनि प्रचण्डकै वरिपरि थुप्रेर नबस्ने वलीले बताए।
'बाहिर के छ अवस्था र गतिविधि हेर्नुहुन्छ। अरू नेताहरूको सुरक्षा चुनौतीको पनि विश्लेषण गर्नुहुन्छ र आवश्यक परे अरू नेतालाई पनि सुरक्षा दिनुहुन्छ,' उनले भने।
वलीले नागरिकबाट सुरक्षा चुनौती भएर प्रचण्डलाई वाइसिएलले सुरक्षा दिएको भनेर गलत भाष्य निर्माण गर्न खोजिएको पनि बताए।
'प्रहरीको हतियार लुटिएको छ। आपराधिक गिरोहसँग हतियार छ। समाजमा असुरक्षा दिने कैदीबन्दी बाहिरै छन्। जेलभित्र हुनुपर्ने अपराधीहरू बाहिर छन्। त्यसले समाजलाई नै त्रसित बनाएको छ। आम नागरिकलाई त सुरक्षा छैन। त्यसकारण नेतृत्वको सुरक्षा व्यवस्थाको जिम्मा वाइसिएलले लिएको हो,' अध्यक्ष वलीले भने।
यो पनि:
दैनिक ७० देखि १०० वाइसिएलले गर्छन् प्रचण्डको सुरक्षा