नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्न कैयन जिल्लामा ६० देखि ८९ प्रतिशतसम्म महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको गृह जिल्ला काठमाडौं, नेता शेखर कोइरालाको जिल्ला जिल्ला मोरङ, पूर्वमहामन्त्री शशांक कोइराला चुनाव उठ्ने नवलपुर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालको गृहजिल्ला झापामा पनि ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन्।
२०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए। यसको ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर माग गरे तीन महिनाभित्र सभापतिले विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको व्यवस्था छ।
अहिलेसम्म ५० प्रतिशत बढीले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरिसकेको दाबी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मानिकट नेताहरूले गरेका छन्।
अहिलेसम्म सबैभन्दा धेरै अर्घाखाँची जिल्लामा ८९ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन्।
पाल्पामा ८६.५, गुल्मीमा ८६, उदयपुरमा ८१.१, तेह्रथुममा ८१, गोरखामा ७८, चितवनमा ७८, रसुवामा ७५, नवलपुरमा ७५, डोल्पामा ७०, कपिलवस्तुमा ७०, जुम्लामा ६७, सिन्धुलीमा ६७, सर्लाहीमा ६६, धनकुटामा ६६, बाजुरामा ६१, मोरङमा ६१, जाजरकोटमा ६०, काठमाडौंमा ६०, बारामा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको विशेष महाधिवेशन हस्ताक्षर संकलन अभियानमा सक्रिय कांग्रेसका एक नेताले सेतोपाटीलाई जानकारी दिए।
पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिका बैठकमा सभापति शेरबहादुर देउवानिकट नेताहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्ष्य गर्दै विशेष महाधिवेशन हस्ताक्षर अभियान चलाएको भन्दै आलोचना गरेका छन्।
विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टी विभाजनतिर लैजाने दाबी उनीहरूको छ।
तर विधानको व्यवस्थाअनुसार ४० प्रतिशत केन्द्रीय सदस्य वा महाधिवेशन प्रतिनिधिले चाहेमा विशेष महाधिवेशन बोलाउन माग गर्न सक्छ। सोही विधानको व्यवस्थाअनुसार जिल्ला-जिल्लामा संकलित हस्ताक्षर अहिले केन्द्रमा ल्याउने काम भइरहेको छ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर अभियानको विपक्षमा उभिएका छन्। जबकि उनीहरूको गृहजिल्लामा ६० प्रतिशतबढी महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशन चाहन्छन्।
पूर्वमहामन्त्री सिटौलाले उपसभापति पूर्णबहादुर खड्कासँगै १० भन्दा बढी केन्द्रीय सदस्यहरूसँगको भेटमा महामन्त्रीहरूले गरेको हस्ताक्षर अभियानले पार्टी विभाजन हुने कुरा बताएका थिए।
नेता शेखर कोइरालाको गृह जिल्ला मोरङमा पनि विशेष महाधिवेशनका पक्षमा महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। जबकि शेखरले विशेष महाधिवेशनबारे अहिलेसम्म मुख खोलेका छैनन्।
मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने उनको भनाइ छ। त्यसैले शेखर पक्षका महाधिवेशन प्रतिनिधिहरू नियमित र विशेष महाधिवेशनका पक्षमा बाँडिएका छन्।
पूर्वमहामन्त्री शशांक कोइराला चुनाव उठ्दै आएको नवलपुरमा पनि विशेष महाधिवेशनका पक्षमा ७५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। शशांक पनि विशेष महाधिवेशनका पक्षमा छैनन्।
आफूले सभापति शेरबहादुर देउवालाई भेटेर कार्यवाहक सभापति तोक्न भनेको उनले बताएका छन्।
‘मेरो धारणा के हो भने- विशेष महाधिवेशन होइन अब नियमित महाधिवेशन नै गर्नुपर्छ। मैले त शेरबहादुरजीलाई भने-शेरबहादुरजी अब तपाईँले विघटन गर्नुस् र एक जनालाई कार्यवाहक सभापति दिनुस्, उनले गठन गर्छन् र महाधिवेशन मिति तय गर्छन्,´ शशांकले भने।
जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनपछि कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तनको माग उठिरहेको छ।
सभापति शेरबहादुर देउवानिकट नेताहरू भने अहिले नै नेतृत्व परिवर्तनका पक्षमा उभिएका छैनन्।
२०७८ मंसिरमा सभापति निर्वाचित भएका देउवाको नियमित कार्यकाल मंसिरमा सकिँदैछ। नियमित महाधिवेशन गर्ने बेला भइसक्दा पनि सभापति देउवानिकट नेताहरू मंसिरमा महाधिवेशन गर्ने पक्षमा छैनन्।
सभापति देउवानिकट नेताहरू नियमित महाधिवेशनका पक्षमा भए पनि चुनावपछि मात्रै महाधिवेशन गर्न सकिन्छ भनेर अभिव्यक्ति दिइरहेका छन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा चुनाव घोषणा गरेको छ।
कांग्रेसभित्र चुनावमा जाने कि नजानेमा पनि मतभेद देखिन्छ। अहिलेसम्म नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पूर्वउपसभापति विमलेन्द्र निधिलगायत नेता चुनावमा जानुपर्नेमा प्रष्ट बोलेका छन्।
सभापति देउवानिकट अरू नेताहरू भने प्रतिनिधि सभा पुनर्स्थापना र चुनाव दुवै कुरा गरेका छन्। कांग्रेसले प्रतिनिधि सभा विघटन संविधानविपरीत भन्दै विरोध गरेको छ।
मंसिरभित्रै नियमित महाधिवेशनका पक्षमा नेता कोइराला, महामन्त्री थापा र शर्मा छन्। मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्ने र यो कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव अब केन्द्रीय समितिमा नल्याउने महामन्त्री थापाले बताइरहेका छन्।
सभापति देउवा पक्षले भने नियमित महाधिवेशन पक्षमा कुरा गरे पनि अहिले महाधिवेशन गर्ने पक्षमा उनीहरू छैनन्। केही गरी देउवाले उपसभापति खड्कालाई कार्यवाहक दिए चुनावपछि वैशाखमा महाधिवेशन गर्ने पक्षमा उनीहरू छन्।
पूर्वउपसभापति विमलेन्द्र निधिलगायत केही नेताहरू मंसिरमा नियमित र विशेष महाधिवेशन नगरी फागुनको चुनावमा केन्द्रित हुनुपर्ने धारणा राखिरहेका छन्।
त्यसैले २६ असोजदेखि सुरू हुने भनिएको केन्द्रीय समिति बैठक दुई दिन पर सरेको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि चलिरहेको र नेताहरूले धारणा राख्ने क्रम नसकिएको भन्दै केन्द्रीय समिति बैठक सारिएको नेताहरूले बताएका छन्।
तर केन्द्रीय समितिमा लैजाने एजेन्डा अहिलेसम्म तय हुन सकेको छैन। अरू जे जे विषय केन्द्रीय समितिमा लगे पनि नियमित र विशेष महाधिवेशनकै एजेन्डा केन्द्रीय समितिमा प्रवेश पाउने र व्यापक छलफल हुने देखिन्छ।
महामन्त्री गगन थापाले २८ असोजदेखि सुरू हुने केन्द्रीय समितिमा मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने खाका प्रस्तुत गर्ने तयारी गरेका छन्। त्यसमा सभापति देउवासहित संस्थापन समूह नमानेमा विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गर्ने तयारी रहेको नेताहरू बताउँछन्।