नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट बिदा गर्नुपर्ने र अहिले बिदा गर्न नहुने लडाइँ चलिरहेको छ।
जेनजी आन्दोलनपछि पनि देउवा पक्षधरहरू उनलाई नै सभापतिमा निरन्तरता दिन खोजिरहेका छन्। अर्को पक्ष भने आन्दोलनको भावनाअनुसार अब देउवालाई सभापतिमा निरन्तरता दिन नसकिने निष्कर्षमा पुगेको छ।
यी दुवै पक्षले आ-आफ्नो निष्कर्षअनुसार गतिविधि अघि बढाइरहेका छन्।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन वा विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव पार्टीका विभिन्न बैठकमा राखेका छन्। तर यो कुरा संस्थापन पक्ष सुन्न तयार छैन। उनीहरू अहिले नै देउवाको विकल्प खोज्न नहुने कुरा गर्दैछन्।
विशेष महाधिवेशन माग गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ५० प्रतिशत पुगेपछि सभापति देउवासहित उनीनिकट नेताहरू फोन गर्दै हस्ताक्षर फिर्ता लिन दबाब दिन थालेका छन्।
कैयन जिल्लामा विशेष महाधिवेशनका पक्षमा ६० देखि ८९ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्।
विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बढ्दै गएपछि सभापति देउवा, प्रवक्ता प्रकाशशरण महत, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भूगोलअनुसार जिल्लाका महाधिवेशन प्रतिनिधिलाई फोन गरेर हस्ताक्षर फिर्ता लिन दबाब दिएको स्रोतको भनाइ छ।
एकातिर पदाधिकारी तथा पूर्वपदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेर नेताहरूलाई धारणा राख्न दिने र अर्कातिर सभापतिसहित केही नेताहरूले भने हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिलाई हस्ताक्षर फिर्ता लिन दबाब दिइरहेको स्रोत बताउँछ।
आजदेखि केन्द्रीय समिति बैठक गर्ने भने पनि संस्थापन पक्षले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन सक्ने संशयले असोज २८ का लागि केन्द्रीय समिति बैठक सारेर महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन दबाब दिइरहेका छन्।
'अहिलेको मुख्य लडाइँ जेनजी आन्दोलनको भावनाअनुसार नेतृत्व परिवर्तन हो, सभापतिबाट शेरबहादुर देउवालाई बिदा गर्ने हो,' एक नेताले भने, 'तर अहिले नियमित कि विशेष महाधिवेशन भन्नेतिर मतभेद भएजस्तो देखाइँदैछ। त्यस्तो होइन। नियमित वा विशेष महाधिवेशन जे गरे पनि वैधानिक र सम्मानजनक रूपमा सभापतिबाट शेरबहादुर देउवालाई हटाउनु अहिलेको मुख्य मुद्दा हो।'
पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर माग गरे सभापति देउवाले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ। तर सभापति देउवा पक्ष विशेष महाधिवेशनतिर पार्टीलाई लैजान दिने पक्षमा छैन।
केन्द्रीय समितिबाट पनि विशेष महाधिवेशनका पक्षमा आवाज आए उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्ने संकेत देउवाको छ।
केही समयका लागि उपसभापति खड्कालाई कार्यवाहक दिने र फेरि आफैले सभापति लिनेमा देउवा छन्। यही रणनीतिअनुसार सभापति देउवा पक्ष अघि बढेको नेताहरू दाबी गर्छन्।
सभापति देउवा पक्षले हस्ताक्षर फिर्ताका लागि एउटा फारम नै तयार पारेका छन्।
'मैले गरेको हस्ताक्षर विशेष महाधिवेशनका लागि थिएन, नियमित महाधिवेशनका लागि थियो भन्ने उल्लेख गरेको फारम नै बनाएर सभापति देउवासहित नेताहरूले महाधिवेशन प्रतिनिधिलाई हस्ताक्षर फिर्ता लिन दबाब दिएको पाइएको छ,' स्रोतले भन्यो।
पार्टीको नियमित वा विशेष महाधिवेशन भन्ने प्राविधिक कुरा हो, राजनीतिक कुरा भने सभापतिबाट देउवाको बिदाइ नै रहेको संस्थापनइतर नेताहरू बताउँछन्। देउवालाई नेतृत्वबाट छिटो बिदा गर्न नियमित वा विशेष महाधिवेशन जेबाट छिटो हुन्छ त्यो गर्ने गृहकार्य कांग्रेसभित्र चलिरहेको छ।
सभापति देउवा भने पक्ष अहिले नियमित वा विशेष महाधिवेशन गर्ने पक्षमा छैन। सभापति देउवा पक्षका नेताहरूले भदौ २४ गते उनको बुढानीलकण्ठ घरमा भौतिक आक्रमण भएको, राजनीति तरल रहेको र एकताबद्ध बनाएर पार्टी लैजानुपर्ने अवस्था रहेकाले देउवालाई हटाउन नहुने मत राखिरहेका छन्।
प्रवक्ता प्रकाशशरण महतले अहिले कसैलाई पनि कार्यवाहक सभापति दिने गरी छलफल नभएको कुरा पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरूको प्रश्नमा जबाफ दिँदै भनेका थिए। जबकि देउवा पक्षभित्रै उपसभापति खड्कालाई कार्यवाहक दिने कुरा चलेको थियो।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने सभापति देउवालाई कसैलाई कार्यवाहक सभापति दिन भनेका छन्।
'कस्तो कार्यवाहक भने सभापति विदेश गएका बेला कसैलाई कार्यवाहक दिएजस्तो, स्वदेश फर्केपछि स्वत: हट्ने गरी। अहिले यस्तै खालको कार्यवाहक दिएर अलि दिनमा देउवाले नै सभापति लिने सल्लाह सिटौलाले दिनुभएको छ,' एक नेताले भने, 'कांग्रेसभित्र अहिलेको बहसको अन्तर्य भनेको महामन्त्री गगन र विश्वप्रकाश देउवालाई नेतृत्वबाट बिदा गरिहाल्नुपर्छ भन्ने हो, देउवा पक्षका नेताहरू जसरी पनि रोक्ने भन्ने हो।'
सिटौलाले उपसभापति पूर्णबहादुर खड्का पनि रहेको एक छलफलमा कांग्रेस संस्थापन पक्षका केही केन्द्रीय सदस्यसँग विशेष महाधिवेशन माग गर्न भइरहेको हस्ताक्षर अभियानले पार्टी कमजोर बनाउने र विभाजनतर्फ लैजाने धारणा पनि राखेका थिए।
महमन्त्रीद्वय गगन र विश्वले पदाधिकारी बैठकमा पनि सभापति देउवालाई बिदा गरिनुपर्ने मत राखेका छन्।
'गगन र विश्व सभापतिबाट देउवालाई बिदा गराउनुपर्छ भन्ने अडानमा छन्, देउवा पक्ष भने अहिले बिदा गर्न हुन्न भनिरहेका छन्, मुख्य कुरा यही हो। यसमा नेता शेखर कोइराला मौनजस्तो देखिन्छन्, देउवाले आफूलाई कार्यवाहक दिन्छन् कि भन्ने उनलाई लागेको हुन सक्छ,' ती नेताले भने।
नेता शेखरले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने मत राखेका छन्। उनी विशेष महाधिवेशनका पक्षमा नखुल्दा उनीनिकट महाधिवेशन प्रतिनिधिहरू कतिपयले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन्।
सभापति देउवानिकट नेताहरूले भने सभापतिले आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग भदौ २४ देखि नै संवाद गरिराखेको बताएका छन्।
जेनजी प्रदर्शन क्रममा घाइते भएका देउवा एक महिनासम्म सार्वजनिक रूपमा देखिएका छैनन्। उनी पदाधिकारी तथा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि अनुपस्थित रहे। असोज २८ देखि हुने केन्द्रीय समितिमा सहभागी हुने तयारीमा देउवा छन्।
सभापति देउवाको नियमित चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ। सभापति देउवा पक्ष भने केन्द्रीय समितिबाट एक वर्ष म्याद थप गर्न सकिने जमर्कोमा छन्।
यो पनि: