सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँगको भेटमा मन्त्री खरेलले फागुन २१ मै चुनाव गराउने कुरामा सरकार स्पष्ट रहेको बताएका हुन्।
'सरकारको विशेष म्याण्डेटहरू छन्। फागुन २१ मा चुनाव गर्नैपर्छ। सरकार यसमा स्पष्ट छ,' उनले भने।
त्यस्तै भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा पनि जनताले अनुभूत गर्नेगरी काम सुरू भएको उनले बताए।
'हामीसँग त यतिवटा काण्डहरु छन् कि कतिपय काण्डहरूको छानबिन गर्न २ महिना लाग्छ, ३ महिना लाग्छ । केही एक वर्ष लाग्न सक्छ, कुनै २ वर्ष नै लाग्नसक्छ । तर ६ महिना भित्र कम्तिमा महशुस हुनेगरी कामहरु अगाडि बढाउने हो,' उनले भने।
जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको घटनामा संलग्नलाई कारबाही हुने पनि उनले बताए।
'देशभर धेरै क्षति भएको छ। त्यस हिसावले यसको क्षतिको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने कुरामा दुविधा नराख्दा हुन्छ,' उनले भने।