नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरू हुँदैछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुनेछ।
केन्द्रीय कार्यसमिति बैठकमार्फत सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक हुँदैछन्।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूको आक्रमणमा परी घाइते भएका देउवा स्वास्थ्यलाभपछि आज पहिलोपटक सार्वजनिक हुन लागेका हुन्। बैठकको सभापतित्व उनैले गर्नेछन्।
बैठकमा उनी आउँदैनन् र उपसभापति पूर्णबहादुर खड्काले नै सभापतित्व गर्छन् भन्ने अनुमान थियो। तर अन्तिममा आफै आउने निर्णय उनले गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे सभापति देउवासहित केही पदाधिकारीको बैठक बस्नेछ। उक्त बैठकमा केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाबारे छलफल हुनेछ। त्यसपछि सानेपामै दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक सुरू हुनेछ।
आजदेखि सुरू हुने केन्द्रीय समिति बैठक देउवाको जीवनकै पेचिलो बैठक हुनेछ। पार्टीभित्र अहिले विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने बहस तीव्र छ।
विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसमेत संकलित भइसकेको छ।
उक्त हस्ताक्षर केन्द्रीय समिति बैठकअघि नै बुझाउने तयारी रहेको नेता गुरुराज घिमिरेले जानकारी दिए। उनका अनुसार अहिलेसम्म करिब ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्।
`केन्द्रीय समिति बैठकका लागि अहिलेसम्म एजेण्डा तय भएको छैन भन्ने सुनिएको छ, सभापति र महामन्त्रीहरू बीच छलफल भएर एजेण्डा पनि तय होला केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दै रहेछ,´ उनले भने, `केन्द्रीय समिति बैठकअघि हामी विशेष महाधिवेशन माग गर्न महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाउँछौं। अहिलेसम्म ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसक्नुभएको छ।´
महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन प्रस्ताव राख्दै आएका छन्। मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने उनीहरूको भनाइ छ भने सभापति शेरबहादुर देउवा पक्षले मंसिरमा नियमित वा विशेष महाधिवेशनमा जान नसकिने अडान राखिरहेका छन्।
सभापति देउवा पक्ष मंसिरभित्रै नियमित महाधिवेशनमा जान नखोजेकोले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन लागिएको नेताहरूले बताएका छन्। सभापति देउवा पक्ष भने चुनावपछि वैशाखमा मात्रै महाधिवेशन गर्न सकिने पक्षमा छ।
महामन्त्री गगन थापाले अब बस्ने केन्द्रीय समिति बैठकमा यो कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव नल्याउने बताएका छन्। २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकोले नियमित ४ वर्षे कार्यकाल मंसिरमा सकिँदैछ।
त्यसैले मंसिरभित्रै नियमित महाधिवेशनका पक्षमा महामन्त्रीद्वय थापा र शर्मा तथा नेता शेखर कोइराला छन्।
सभापति देउवा पक्ष मंसिरमा नियमित महाधिवेशन पनि गर्न नचाहेपछि विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या बढ्दै गएको नेताहरूले दाबी गरेका छन्।
महामन्त्रीद्वय थापा र शर्माको सक्रियतामा जिल्ला-जिल्लामा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको भन्दै संस्थापन पक्ष असन्तुष्ट छ।
विशेष महाधिवेशनले पार्टी कमजोर बनाउने र विभाजन निम्तने दाबी संस्थापन पक्षको छ भने महामन्त्री थापा र शर्मानिकट विशेष महाधिवेशनको व्यवस्था विधानअनुसार नै भएकोले यसले विभाजन र पार्टीलाई कमजोरभन्दा पनि बलियो बनाउने तर्क गर्दै आएका छन्।
विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर कारण खुलाएर माग गरे सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।
विशेष महाधिवेशन माग गर्ने पक्षमा हस्ताक्षर बढ्दै गएपछि सभापति देउवा, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, प्रवक्ता प्रकाशशरण महतले फोन गर्दै हस्ताक्षर फिर्ता लिन दबाब दिएका थिए।
यतिका नेताहरूले हस्ताक्षर फिर्ताका लागि दबाब दिए पनि कैलालीका ४ जना, डडेलधुराका १ जना र जाजरकोटका १ जनाले हस्ताक्षर फिर्ता लिएका थिए।
यस्तो परिस्थितिमा देउवाले आफै एकताको आह्वान गर्दै नियमित महाधिवेशन गराउने निर्णय सुनाउछन् वा उनलाई हटाउन सक्ने विशेष महाधिवेशन हुने तर्फ अघि बढ्छन् भन्ने तय केन्द्रीय समिति बैठकले गर्नेछ।