नेपाली कांग्रेस केन्द्रीय कार्यसममितिको बैठक केही बेरमै पार्टी कार्यालय सानेपामा बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि सुरू भइसकेको छैन।
अहिले केन्द्रीय समिति बैठकभन्दा अगाडि केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको छ। केन्द्रीय समितिमा छलफल हुने एजेन्डाहरू तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो।
केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही वरिष्ठ केन्द्रीय सदस्यहरू रहन्छन्। त्यो बैठक केन्द्रीय कार्यालयको माथिल्लो हलमा चलिरहेको छ। भदौ २४ गते कांग्रेसको पार्टी कार्यालय पनि आगजनीको सिकार भएको थियो।
यो बैठकपछि केन्द्रीय समितिको बैठक बस्ने छ। केन्द्रीय समितिको बैठक सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा बस्ने छ। यसका लागि सभापति देउवा केन्द्रीय कार्यालयतर्फ आइरहेको सूचना हामीलाई प्राप्त भएको छ।
केही बेरमा उनी केन्द्रीय कार्यालय आइसकेपछि तल्लो तल्लामा बैठक सुरू हुनेछ।
केन्द्रीय समितिमा आज मुख्य गरी नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा छलफल हुने तयारी छ। तर अहिलेसम्म बैठकका के–के एजेन्डा हुन्छन् भन्ने तय भइसकेको छैन।
यसका लागि देउवाले केही पदाधिकारीसँग बिहानै छलफल गरे। तैपनि केन्द्रीय समिति बैठकको एजेन्डा तय भएको छैन।
सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि आज छलफल गरेका थिए। त्यो बैठकले पनि केन्द्रीय समितिका एजेन्डा तय गर्न सकेन।
छलफलमा महामन्त्री थापा र शर्माले सकेसम्म मंसिरभित्रै नियमित महाधिवेशन गर्न सभापतिसँग प्रस्ताव गरेका थिए। नियमित महाधिवेशन मंसिरभित्र हुन सकेन भने विशेष महाधिवेशनका लागि जानुपर्ने बाध्यता रहेको महामन्त्रीहरूले सभापतिलाई जानकारी गराएका छन्।
विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूले देशभरबाट हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा ल्याइसकेको अवस्था छ। विशेष महाधिवेशन माग गर्दै ५६ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन भइसकेको छ।
जेन–जी आन्दोलनपछि देउवा पहिलो पटक सार्वजनिक हुन लागेकाले पार्टी कार्यालयको सुरक्षा व्यवस्था एकदमै कडा गरिएको छ।
नेपाल प्रहरीले चक्रपथदेखि नै सुरक्षा व्यवस्था कडा बनाएका छन्। तरूण दल र नेपाली कांग्रेसका कार्यकर्ताको पनि केन्द्रीय कार्यालय परिसरमा बाक्लो उपस्थिति छ। उनीहरू सबैलाई केन्द्रीय कार्यालयभित्र भने प्रहरीले प्रवेश गर्न दिएको छैन।
पत्रकारहरूलाई पनि सूचना विभागको र आफ्नो मिडियाको कार्ड हेरेर मात्र प्रवेश गर्न दिइएको छ।
आज कांग्रेसको केन्द्रीय कार्यसमितिमा एजेन्डा तय नभएकाले सभापति देउवाले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउँदै आफ्नो कुरा राख्ने र बैठक आजका लागि स्थगित गर्ने छन्।
पछि एजेन्डाबारे पदाधिकारी तहका नेताहरूबीच छलफल गरेर सहमति भइसकेपछि भोलिदेखि मात्र एजेन्डा पेस गरेर छलफल हुनेछ।
केन्द्रीय सदस्यहरूलाई ५–७ मिनेटका दरले बोल्न दिने र ३–४ दिनसम्म बैठक चल्ने जानकारी एक कांग्रेस नेताले दिएका छन्।