नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उखानतुक्का भन्न माहिर छन्। उनका राजनीतिक मन्तव्यहरू पनि हास्यरस, व्यंग्य र छेडखानीले युक्त हुन्छन्।
बुधबार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले करिब एक घन्टा बोले। उनले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्न धेरै समय खर्च गरेका थिए।
पार्टी अप्ठ्यारो अवस्थामा रहेकाले एकढिक्का भएर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।
सधैंझैं उनको आजको मन्तव्यमा पनि केही 'पन्चलाइन' छन्। तीमध्ये ७ वटा पन्चलाइन हामीले यहाँ छानेका छौं —
१. एमाले चटकेहरूको पार्टी होइन, जता हावा चल्यो उतै हल्लिने सिमलको भुवाजस्तो पार्टी होइन।
२. सिंहदरबार जलाउने, लुटपाटमा लाग्ने र सामान चोर्नेहरूले देश बनाउँदैनन्।
३. कतिपय एकीकृत समाजवादीका साथीहरू कहाँ बास पाइन्छ भनेर अरूको बलेसी खोज्दै हुनुहुन्छ। एमाले नै ठूलो घर छ, यहीँ आए हुन्छ।
४. कतिपय बौद्धिक मानिसहरू भन्छन् — केपी ओली सुध्रने छाँट छैन। केपी ओली कहिल्यै बिग्रेको भए पो सुध्रनू!
५. कतिपय आफूलाई विद्वान भन्नेहरू ओलीले नेतृत्व छाड्नुपर्छ भनिरहेका छन्, फेसबुकमा लेखिरहेका छन्। फेसबुकमा भनेर मैले राजीनामा दिने होइन, पार्टी कमिटीले आदेश दियो भने नेतृत्वमा बस्दिनँ।
६. कतिपयले केपी ओलीलाई अब बोकेर जान सकिँदैन भनेका छन्। किन बोक्नुपर्यो? म हिड्न सक्दिनँ र? दौडिन सक्छु।
७. हिजो दुईतिहाइ सरकारले गरेको संसद विघटन असंवैधानिक भन्नेहरू अहिले असंवैधानिक सरकारले विघटन गरेको प्रतिनिधिसभामा लतारिएका छन्।