नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएका घटनालाई 'कलर रिभोलुसन' सँग तुलना गरेका छन्।
बुधबारबाट सुरू केन्द्रीय कमिटीको दसौं बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै ओलीले भदौ २४ का घटनालाई 'सोभियत युनियन र अमेरिकाको शीतयुद्धपछि विभिन्न मुलुकमा शक्तिराष्ट्रहरूले गर्दै आएको कलर रिभोलुसनकै अभ्यासको निरन्तरता' भनेका हुन्।
'देशव्यापी रूपमा जुन स्वरूपको तोडफोड, आगजनी र लुटपाटको आतंक सिर्जना भयो, त्यो कुनै स्वस्फुर्त, अघिल्लो दिनको घटनाको आक्रोशको परिणाम या सामान्य घटना थिएन। यो त लामो तयारी सहितको सुनियोजित र राष्ट्र, जनता, लोकतन्त्र र संविधान विरूद्धको भयानक षड्यन्त्र र आक्रमण थियो,' उनले भने।
'वास्तवमा यो घटना विभिन्न शक्तिराष्ट्रहरूले शीतयुद्धपछि विभिन्न मुलुकमा गर्दै आएको तथाकथित कलर रिभोलुसनकै अभ्यासको निरन्तरता थियो,' ओलीले अगाडि भने, 'यसको उद्देश्य सरकार परिवर्तन गर्ने मात्र थिएन। मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानलाई नै समाप्त पारेर मुलुकलाई भूराजनीतिक भुँवरीमा फसाउने, मुलुकको अर्थतन्त्रको मेरूदण्ड भाँच्ने र देशलाई अस्थिरता र अराजकतातिर धकेल्ने थियो।'
तर के ओलीले भनेजस्तो भदौ २४ लाई 'कलर रिभोलुसन' सँग तुलना गर्नु सही हुन्छ?
उनको आसय के हुन सक्छ?
यसका लागि हामीले 'कलर रिभोलुसन' भनेको के हो बुझ्नुपर्छ।
सन् २००० को दशकदेखि विभिन्न देशमा अधिनायकवादी शासनविरूद्ध शान्तिपूर्ण जनआन्दोलनहरू चर्किएका थिए। तिनलाई नै 'कलर रिभोलुसन' भनेर चिनिन्छ।
ती आन्दोलनमा जनताले धाँधलीपूर्ण निर्वाचन, भ्रष्टाचार र सत्ताको दुरूपयोगविरूद्ध सडकमा ओर्लिएर लोकतान्त्रिक शासन र पारदर्शी राजनीतिक प्रणाली माग गरेका थिए।
त्यहाँ 'कलर रिभोलुसन' भन्ने शब्द यस कारण प्रचलनमा आयो; किनभने ती आन्दोलनले रङ, फूल वा कुनै प्रतीकलाई आन्दोलनको पहिचानका रूपमा अपनाएका थिए।
उदाहरणका लागि — जर्जियामा गुलाबलाई प्रतीक मानिएको थियो, त्यसैले त्यहाँको आन्दोलनलाई 'रोज रिभोलुसन' भनियो।
त्यस्तै, युक्रेनको अरेन्ज (सुन्तला) रिभोलुसन, किर्गिस्तानको ट्युलिप (गुलाफजस्तो फूल) रिभोलुसन र आर्मेनियाको भेल्भेट (मखमल) रिभोलुसन चर्चित छ।
ती देशमा विभिन्न रङले एकता, आशा र शान्तिपूर्ण परिवर्तनको सन्देश दिएको थियो।
यो खालको आन्दोलनको सुरूआत सर्बियाबाट भएको हो।
कलर रिभोलुसनको पहिलो उल्लेखनीय उदाहरण सन् २००० मा सर्बियामा भएको 'बुलडोजर रिभोलुसन' हो। स्लोबोदान मिलोसेभिचको लामो शासनविरूद्ध नागरिकहरूले आन्दोलन चर्काएपछि उनले अन्ततः सत्ता त्याग्नुपर्यो।
त्यो सफलतापछि लोकतान्त्रिक आन्दोलनको नयाँ शैलीका रूपमा यसलाई अन्तर्राष्ट्रिय स्तरमा अध्ययन गर्न थालियो।
सर्बियापछि यो लहर पूर्वसोभियत संघका अरू देशमा फैलियो।
उदाहरणका लागि — सन् २००३ मा जर्जियामा भएको 'रोज रिभोलुसन' ले तत्कालीन राष्ट्रपति एडुअर्ड शेवार्डनाजेलाई पद त्याग्न बाध्य बनायो।
सन् २००४ मा युक्रेनमा धाँधलीपूर्ण राष्ट्रपतीय निर्वाचनविरूद्ध 'अरेन्ज रिभोलुसन' भएको थियो, जसले चुनाव दोहोर्याउने निर्णय गरायो र भिक्टर युसेन्को सत्तामा आए।
सन् २००५ मा किर्गिस्तानमा भएको 'ट्युलिप रिभोलुसन' ले राष्ट्रपति आस्कार अकायेभको पतन गरायो।
त्यही वर्ष लेबनानमा भएको 'सिडार रिभोलुसन' पछि सिरियाली सेनाले लेबनानबाट फिर्ता जानुपर्यो।
सन् २०१८ मा आर्मेनियामा भएको भेल्भेट (मखमल) रिभोलुसनले सन् १९९९ देखि लगातार सत्तामा रहेको रिपब्लिकन पार्टीलाई सत्ताच्यूत गर्यो।
यी सबै आन्दोलनमा युवाहरूको सक्रिय भूमिका थियो। आन्दोलनको रणनीति बनाउनेदेखि सडकमा प्रदर्शनसम्मको काम विद्यार्थी तथा युवाहरूले गरेका थिए।
अमेरिका, युरोपेली संघ लगायतका पश्चिमी देशले यी आन्दोलनलाई लोकतान्त्रिक मूल्यको जितका रूपमा व्याख्या गरेका छन्। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले तालिम, प्रचार लगायतका सहयोग उपलब्ध गराएको आरोप पनि छ।
रूस र चीनजस्ता मुलुकले भने यी आन्दोलनलाई 'पश्चिमी मुलुकहरूले योजनाबद्ध रूपमा गराएको विदेशी हस्तक्षेप' का रूपमा आरोप लगाउँदै आएका छन्।
उनीहरूको दृष्टिमा 'कलर रिभोलुसन' भनेको आन्तरिक असन्तुष्टिलाई हतियार बनाएर शासन परिवर्तन गर्ने भू–राजनीतिक उपकरण हो। विशेष गरी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई रूसको प्रभाव कम गर्न अमेरिकाले गराएको क्रान्ति भनेर आरोप लगाउने गर्छन्।
यी आन्दोलनले धेरै देशमा तत्कालीन सत्ता परिवर्तन गराए पनि दीर्घकालीन रूपमा सबैले स्थिर लोकतन्त्र स्थापनामा सफलता पाएनन्। केही ठाउँमा नयाँ नेतृत्व पनि त्यही भ्रष्टाचार र अस्थिरतामा फसे। तैपनि यी आन्दोलनले जनमत, नागरिक सचेतना र राजनीतिक सहभागितामा ठूलो प्रभाव पारेका छन्।
के ओलीले भनेजस्तै 'कलर रिभोलुसन' सँग जोडिएका यी अन्तर्राष्ट्रिय घटनाक्रम भदौ २४ सँग मेल खान्छन् त?
ओलीको भनाइ राजनीतिक दृष्टिले बुझ्ने हो भने अर्थपूर्ण हुन सक्छ, तर सैद्धान्तिक रूपमा ठ्याक्कै मिल्दैन।
सैद्धान्तिक रूपमा यस कारण मिल्दैन, किनभने 'कलर रिभोलुसन' ले संसारभरका ती आन्दोलनलाई जनाउँछ, जसमा नागरिकहरूले अहिंसात्मक र शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
निर्वाचनमा हुने धाँधली वा सत्ताको दमनविरूद्ध लोकतान्त्रिक सुधारको माग गरेका थिए। उनीहरूले आन्दोलनमा रङ, फूल वा प्रतीक प्रयोग गरी जनताको एकता र शान्तिको सन्देश दिएका थिए।
यस अर्थमा भदौ २४ को घटनामा भएका आगजनी, लुटपाट र हिंसात्मक घटनालाई 'कलर रिभोलुसन' सँग दाँज्नु गलत हुन्छ।
ओलीले आफ्नो मन्तव्यमा 'कलर रिभोलुसन' लाई भूराजनीतिक षड्यन्त्रका रूपमा प्रयोग गरेका भने हुन सक्छन्।
उनले भदौ २४ गते भएका हिंसात्मक गतिविधि आन्तरिक असन्तुष्टिको प्रतिक्रिया होइन, बरू विदेशी प्रतिक्रियावादी शक्तिहरूको नेपालजस्ता देशमा अस्थिरता फैलाउने षड्यन्त्र हो भन्ने 'न्यारेटिभ' स्थापित गर्न खोजेका हुन सक्छन्।
ओलीले सुरूदेखि नै यो आन्दोलन षड्यन्त्रको उपज हो भनेर शंका जन्माउँदै आएका छन्।
त्यसैले, सोभियत संघ पतनपछि जसरी अमेरिका लगायतका पश्चिमी मुलुकले पूर्वसोभियत राष्ट्रमा शासन परिवर्तन गराउन आन्दोलनहरू प्रायोजित गरे, त्यसरी नै नेपालमा पनि भदौ २४ को घटना गराइयो भन्ने राजनीतिक र वैचारिक सन्देश ओलीले दिन खोजेका हुन सक्छन्।
***