भदौ २४ गते आफ्नै निवास बुढानिलकण्ठमा प्रदर्शनकारीहरूबाट भौतिक आक्रमणको सिकार भएपछि कांग्रेस सभापति शेरबहादुर देउवामाथि बनेको एउटा 'मिम' भाइरल भयो।
उक्त 'मिम' मा देउवाका पाँचवटा चरित्र चित्रण गरिएका थिए —
पहिलो, बढी बोल्नेसँग मुख लाग्ने।
देउवाको यो चरित्र झल्काउन 'बिबिसी साझा सवाल' को एउटा कार्यक्रमको दृश्य 'मिम' मा राखिएको थियो, जसमा देउवा कार्यक्रमका एक सहभागी सागर ढकालले सोधेको प्रश्नमा 'इरिटेट' हुन्छन् र उनीसँग मुखामुख लाग्छन्।
दोस्रो, जहाँ पनि सुत्दिने।
कुनै एक सार्वजनिक समारोहको अतिथि आसनमा बसेका देउवा मज्जाले निदाइरहेका देखिन्छन्। उनी तालीको गड्गडाहटले झस्किँदै ब्युँझन्छन् र मुखबाट चुहिँदै गरेको र्याल पुछ्दै आफू पनि ताली बजाउन थाल्छन्।
तेस्रो, छिनछिनमा रिसाउने।
यहाँ 'मिम' बनाउनेले कुनै कार्यक्रममा देउवा रिसाइरहेको दृश्य प्रयोग गरेका छन्।
चौथो, साथीहरूलाई हँसाइराख्ने।
यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', राष्ट्रपति रामचन्द्र पौडेल लगायतका नेताहरूसँग देउवा मज्जाले हाँसिरहेको दृश्य छ। देउवा पछि पछि हिँडिरहेका छन्, अगाडि रहेका दुई नेता उनीतिर फर्केर हाँसिरहेका छन्।
र पाँचौं, सबै काण्डमा आफै फस्ने।
'मिम' को यो आखिरी दृश्य भदौ २४ गतेको हो, जसमा प्रदर्शनकारीहरूको कुटपिटले रगतपच्छे भएका देउवालाई सहयोगीहरूले सहारा दिँदै घरबाहिर आँगनमा ल्याइरहेको देखिन्छ।
पछिल्लो समय देखिएको राजनीतिक विकृतिका लागि अरू नेताहरू, खासगरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड बराबर दोषी भए पनि भदौ २४ गते विस्फोट भएको जनआक्रोशको सिकार एक्ला देउवा मात्र भएको र ७९ वर्षको बुढ्यौली उमेरमा कुटपिट र अपमान सहनुपरेको सन्देश 'मिम' को अन्तिम दृश्यले दिन्छ।
हास्य र संवेदनायुक्त यो 'मिम' कुनै गम्भीर सामग्री होइन। बनाउनेले कुनै गम्भीर सोच राखेर बनाएका पनि नहोलान्!
तर यसले लामो समयदेखि सत्ता र पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका देउवाको व्यक्तित्वको मोटामोटी चित्रण पक्कै गर्छ।
२००३ सालमा जन्मेका देउवाले करिब २० वर्ष उमेरमा २०२३ सालबाट विद्यार्थी राजनीतिबाट करिअर सुरू गरेका हुन्।
उनी त्यस्तो बेला नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए, जुन बेला पञ्चायतको जगजगी मात्र थिएन, कांग्रेसको निम्ति पनि चरम निराशाको समय थियो।
बिपी कोइराला ८ वर्ष जेल बसेर २०२५ सालमा छुटेका थिए। उनलाई क्यान्सरले गाँजेपछि राजा महेन्द्रले उपचारका लागि जेलबाट छाडेका थिए। बिपी जेलबाट छुटेर उपचार निम्ति अमेरिका गए र त्यहीँबाट निर्वासनमा भारत पुगे। गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लगायत नेताहरू सबै निर्वासनमै थिए भने कृष्णप्रसाद भट्टराई जेलमा थिए।
राजनीतिक दलहरू प्रतिबन्धित रहेको र सबै नेताहरू निर्वासित रहेको त्यो समय देशमा कांग्रेस पार्टीको आस्था जीवित राख्ने र प्रजातन्त्र बहालीको आवाज मर्न नदिने सम्पूर्ण अभिभारा विद्यार्थीहरूमाथि थियो। नेविसंघको गठन नै नेपाली कांग्रेसको राजनीतिक उपस्थिति देखाउनलाई भएको थियो।
त्यस्तो बेला कांग्रेसको विद्यार्थी राजनीतिमा आएका देउवा २५ वर्षको भर्भराउँदो उमेरमा नेविसंघको पहिलो निर्वाचित केन्द्रीय अध्यक्ष बनेका थिए।
२०२८ सालमा नेविसंघको अध्यक्ष बनेयता पछिल्ला ५५ वर्षमा उनी लगातार नेपाली कांग्रेसको नेतृत्व तहमा छन्।
युवा उमेर र विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेर दुई पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री भएका देउवाको राजनीतिक 'बहिर्गमन' को कारण युवा र विद्यार्थीहरूले नेतृत्व गरेको जेन–जी आन्दोलन बन्न पुग्यो।
जेन–जी आन्दोलनपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका लागि असोज २८ गते सार्वजनिक रूपमा देखापर्दा उनले आफ्नो ५५ वर्ष लामो यात्रामा अल्पविराम लगाएका छन्। र, उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका छन्।
अब केही महिनाभित्र कांग्रेसले महाधिवेशन सम्पन्न गरेपछि देउवाको बहिर्गमन पूरा हुनेछ।
कतिपयले भने यसलाई देउवाको 'बहिर्गमन' भन्न हतार हुने टिप्पणी गरेका छन्।
उनले अहिलेको असहज परिस्थितिलाई सहज अवतरण गराउने उद्देश्यले मात्र 'ब्याक गियर' हानेका हुन सक्छन् भन्ने कतिपय नेताको भनाइ छ।
राजनीतिक दौडादौड झेल्न शारीरिक रूपमा असमर्थ भएकाले अहिलेको समयले माग गर्ने 'अनुत्पादक' धपेडीलाई काँधबाट पन्छाउन उनले यो बाटो लिएका हुन सक्छन् भन्ने ती नेताहरूको शंका छ।
देउवाले खासमा के सोचिरहेका छन् र के गर्न चाहेका छन् भन्ने आगामी महाधिवेशनमा कस्तो भूमिका खेल्छन् र निर्वाचनमा कुन हैसियतमा आफूलाई उभ्याउँछन् भन्नेले मात्र प्रस्ट पार्ने उनीहरू बताउँछन्।
'केन्द्रीय समिति बैठकमा देउवाले दिएको मन्तव्यले धेरैलाई उत्साहित बनाउनु स्वाभाविक हो, तर उनको राजनीतिक विगत हेर्ने हो भने अहिले नै धेरै सकारात्मक भइहाल्नु हतार हुन सक्छ,' लामो समय देउवा निकट रहेर काम गरेका एक कांग्रेस नेताले भने, 'म अहिले नै देउवाको राजनीतिक 'अबिच्युरी' लेखिहाल्ने पक्षमा छैन।'
देउवाले ७९ वर्ष उमेरमा एउटा भयानक राजनीतिक परिस्थिति बेहोरे। आँखै अगाडि घर जलेको देखे। आँखैअगाडि श्रीमतीमाथि गरिएको अपमानपूर्ण दुर्व्यवहार सहे। आफूलाई रगतपच्छे हुने गरी हातपात गरिएको भोगे। राजनीतिक जीवनको उत्तरार्द्धमा आएर पहिले कहिल्यै भोग्नु नपरेको यो हदसम्मको व्यक्तिगत अपमानले उनको मनमा एक किसिमको 'वैराग्य' उत्पन्न भयो होला र त्यही वैराग्यले उनी सत्ताको मोहमायाबाट मुक्त भए होलान् भनेर 'शंकाको लाभ' दिन नसकिने होइन।
सँगसँगै, त्यही राजनीतिक विगतका आधारमा अहिलेको कदमलाई पनि 'चतुर' राजनीतिक खेलाडी देउवाले लिएको अर्को 'चतुर्याइँ' मानेर शंका गर्न नसकिने पनि होइन।
हामी देउवामाथि शंका गर्न वा शंकाको लाभ दिन; दुवै अवस्थाका लागि स्वतन्त्र छौं।
तर दुवै किसिमको धारणा बनाउन हामीले उनको राजनीतिक विगत पर्गेल्नुपर्छ। उनका गुण–दोष केलाउनुपर्छ। देउवाको ५५ वर्ष लामो राजनीतिक जीवनको समग्र लेखाजोखा गर्नुपर्छ। उनी पाँच दशकसम्म के गुणका कारण र कसरी कांग्रेसको मुख्य नेतृत्व समूहमा कायम रहे भन्ने बुझ्नुपर्छ।
यो स्टोरी त्यसैको प्रयत्न हो।
यसमा हामी देउवालाई सत्ता र पार्टीको नेतृत्व तहमा टिकाइराख्ने गुणको मात्र कुरा गर्दैनौं, उनले आफ्नो राजनीतिक जीवनमा सबभन्दा बढी उपेक्षा गरेको सदाचार र सुशासनको पनि कुरा गर्छौं।
सुशासनलाई रत्तिभर प्राथमिकता नदिने र आफ्नो परिवारदेखि आफू निकटका मान्छे ठुल्ठूला भ्रष्टाचार काण्डमा चुर्लुम्म डुब्दासमेत उल्टै छत्रछाया दिने उनको चारित्रिक दोषबारे पनि कुरा गर्छौं। देउवाले देखाएको सत्तामोह र त्यही सत्ताको सिँढी चढ्न उनले कसरी भ्रष्टाचारलाई संस्थागत गरे भनेर हामी यहाँ चर्चा गर्छौं।
र, त्यही सत्तामोह र भ्रष्टाचार काण्डमा नाम मुछिँदा कसरी उनको राजनीतिक साख धुलिसात भयो भनेर पनि हामी चर्चा गर्छौं।
देउवालाई शंका गर्ने कि शंकाको लाभ दिने भन्ने प्रश्नको जबाफ उनका यिनै गुण–दोषहरूमै लुकेको छ। यसले उनको राजनीतिक उदयको कथा पनि भन्छ, बहिर्गमनको अवस्थासम्म आउनुको कारण पनि बताउँछ।
सबभन्दा पहिला देउवाका गुणहरूको कुरा गरौं।
पहिलो गुण — देउवा नेपाली राजनीतिका एक यस्ता नेता हुन्, जसले आफ्नो भूगोललाई जबर्जस्त प्रतिनिधित्व गरे। उनले आफ्नो करिअरमा सुदूरपश्चिम भूगोललाई यस्तरी बोकेर हिँडे, त्यसरी आफ्नो भूगोललाई बोकेर हिँड्ने नेता नेपाली राजनीतिमा विरलै भेटिन्छ।
पञ्चायती व्यवस्थाको कुरा गर्ने हो भने, त्यति बेला राजाबाट टोकन प्रणालीमा नेता छानेजस्तो कुनै खास भूगोल वा समुदायको नेता छान्ने प्रथा थियो। लोकेन्द्रबहादुर चन्ददेखि मरिचमान सिंहसम्म त्यसरी नै छानिएर आए। उनीहरूलाई कुनै खास भूगोल वा समुदायको प्रतिनिधित्व गराउने हिसाबले नै राजाले राजनीतिमा अघि बढाएका थिए र सत्ता आरोहण गराएका थिए।
तर व्यावहारिक रूपमा ती नेताको न आफ्नो भूगोलसँग खास सम्बन्ध जोडियो, न समुदायसँग। आफू जुन भूगोल वा समुदायको प्रतिनिधित्व गर्दै राजनीतिको मूलधारमा जोडिए, त्यही भूगोल वा समुदायलाई उनीहरूले राजनीतिको मूलधारमा जोड्न सकेनन्।
बहुदलीय व्यवस्था पुनर्स्थापनापछि उदाएका राजनीतिक नेताहरूमा पनि भूगोलको प्रतिनिधित्व गर्नेहरू टन्नै थिए। तर ती कसैले पनि आफ्नो भूगोललाई देउवाले जति सशक्त ढंगमा बोकेर हिँडेनन् वा हिँड्न सकेनन्।
देउवाले राजनीतिक जीवनको सुरूदेखि नै आफूलाई सुदूरपश्चिमको बलियो क्षेत्रीय नेताका रूपमा चिनाएका थिए। उनले सुदूरपश्चिमको आवाजलाई काठमाडौंसम्म वा भनौं राजनीतिको केन्द्रसम्म ल्याए।
यसका लागि हामी अनेक उदाहरण दिन सक्छौं।
२०३६ सालको जनमत संग्रहअघि बिपी कोइरालाले टुँडिखेलको आमसभामा भाषण गर्दा नै देउवालाई 'शेरे सुदूरपश्चिम' भनेर खिताब दिएका थिए। त्यसले देउवालाई आफ्ना समकालीन नेताहरूका दाँजोमा चर्चा दिलाएको थियो।
सुदूरपश्चिममा उनको बलियो पकडले त्यति बेला कांग्रेसभित्र देउवाप्रति संशय पनि बढायो। उनलाई पञ्चायतले कुनै लाभको पद दिएर आफूतिर तान्न सक्ने जोखिम देखेर तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको जोडबलमा २०४४ सालतिर छात्रवृत्तिमा पढ्न बेलायत पठाइएको चर्चा कांग्रेस नेताहरू अझै पनि गर्छन्।
बेलायतमा पढ्दा पढ्दै यता २०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था पुनर्स्थापना गरेपछि गिरिजाप्रसाद कोइरालाले उनलाई नेपाल फर्काए र २०४८ सालको आमनिर्वाचनमा सुदूरपश्चिमको 'कमान्डर' बनाए।
उक्त निर्वाचनमा सुदूरपश्चिम क्षेत्रभरि कांग्रेसको प्रचारप्रसारको मोर्चा देउवाले नै सम्हालेका थिए। यसमा उनले आफूलाई खरो साबित गर्दै सुदूरपश्चिमका १९ मध्ये १८ सिटमा कांग्रेसलाई जित दिलाएका थिए। उनी आफू पनि डडेल्धुराबाट विजयी भए। त्यसयता आजसम्म संसदीय निर्वाचन नहार्ने एक मात्र नेता हुन् देउवा।
त्यति बेला सुदूरपश्चिमको दाँजोमा अन्य भूगोलमा कांग्रेसलाई यति ठूलो अनुपातको राजनीतिक सफलता हासिल भएको थिएन। त्यसले पनि देउवालाई पार्टीभित्र जबर्जस्त उदय गराउन भूमिका खेल्यो।
२०५९ सालमा गिरिजाप्रसाद कोइरालासँगको विवादले पार्टी फुट्दा पनि सुदूरपश्चिममा देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) नै बलियो थियो। यसले पनि त्यो भूगोलमा उनको पकड छर्लंग पार्छ।
र, यही क्षेत्रीय नेताको गुण नै देउवाको राजनीतिक उदयको प्रमुख कारण बन्यो।
दोस्रो — सुदूरपश्चिमलाई बोकेर हिँडे पनि देउवाले आफ्नो राजनीतिक दायरालाई त्यही भूगोलभित्र खुम्चिन दिएनन्। उनले सधैं नै राजनीतिमा भौगोलिक र जातीय विविधता स्वीकार गरे।
आफ्नो भूगोल र आफ्नो समुदायका मान्छेबाट मात्र घेरिएर बस्ने काम देउवाले गरेनन्। आज पनि हामी देउवा निकट रहेर हरदम उनलाई साथ दिने नेताहरूमा सुदूरपश्चिमका मात्र भेट्दैनौं। तिनमा फरक भूगोल र फरक जातीय समुदायका मान्छे छन्। उनले ती सबैलाई आफू निकट बराबर हैसियतमा राखेका छन्।
देउवाको यो राजनीतिक गुण बिपी कोइरालाको 'स्कुलिङ' बाट आएको हो। नेतृत्वले सबै भूगोल र समुदायका मान्छेलाई समेटेर हिँड्नुपर्छ भन्ने उनले बिपी कोइरालाबाटै सिकेका हुन्।
यही गुण समकालीन अन्य नेताको तुलनामा देउवालाई नेतृत्वमा आउन र पार्टीमा बाहुल्य बनाउन फाइदाजनक साबित भएको कांग्रेस नेताहरू बताउँछन्।
तेस्रो — देउवा एक व्यवहारवादी राजनीतिज्ञ हुन्।
कतिपय कांग्रेस नेताहरू व्यवहारवादी राजनीतिमा देउवा गिरिजाप्रसाद कोइरालाभन्दा माथि रहेको बताउँछन्।
उनीहरूले यसो भन्नुको कारण के भने, देउवाले राजनीतिमा आफ्नो स्वार्थ मात्र हेरेनन्, आफू सँगसँगै हिँड्ने र गाह्रोसाह्रो पर्दा काँध थाप्ने नेता र कार्यकर्ताहरूको स्वार्थलाई पनि हदैसम्म व्यवस्थापन गरे।
हामीले पछाडि फर्केर हेर्ने हो भने देउवासँग निकट रहेका वा उनी सँगसँगै लागेका कोही पनि नेता गुमनामीमा हराएका छैनन्। उनले कसैलाई पनि बीचैमा छाडेर वा पछाडि धकेलेर आफू अगाडि बढेका छैनन्। ज–जसको साथ र सहयोग पाएका छन्, उनीहरूलाई बराबर साथ र सहयोग दिँदै आफूसँगै अगाडि बढाएका छन्। उनीहरू सबैका राजनीतिक र अन्य सबै किसिमका स्वार्थ पूरा गरेका छन्।
देउवाको दाँजोमा गिरिजाप्रसाद कोइरालालाई साथ दिने धेरै नेताले समय क्रममा उनको साथ छाडेको र विपरीत कित्तातिर लागेका थुप्रै उदाहरण हामी पाउँछौं। आफ्ना धेरै अनुयायीलाई उपयोग गरेको र मिल्काएको आरोप गिरिजाप्रसाद कोइरालालाई छ। देउवाका हकमा यस्तो कमै भेटिन्छ।
यो गुणले कांग्रेस पार्टीभित्र गुट–उपगुटको हालिमुहाली पक्कै बढायो होला, तर राजनीतिक रूपमा ३० वर्षदेखि अनवरत सत्ता र पार्टीको केन्द्रमा रहन उनलाई फाइदा पनि धेरै भयो।
यसबारे राजनीतिक विश्लेषक हरि शर्माले भनेका छन्, 'घरको धुरी बाँध्दा माथि एक जना मात्र देखिन्छ, तर त्यो काममा अरू धेरैको मिहिनेत परेको हुन्छ। राजनीतिक नेतृत्व भनेको त्यस्तै हो। हरेक नेतृत्व कार्यकर्ताहरूको काँधमा टेकेर अगाडि बढेको हुन्छ। नेतृत्वमा एउटा अनुहार देखिन्छ, उसलाई काँध थाप्ने अनुहारहरू धेरै हुन्छन्। देउवाले आफूलाई काँध थाप्नेहरूको साथ कहिल्यै छाडेनन्। आफ्नो समूहलाई सधैं सुरक्षा दिए, छत्रछायामा राखे।'
चौथो — देउवा राजनीतिक रूपमा खुला विचारधारा राख्ने व्यक्ति हुन्।
उनी बिनाहिच्किचाहट आफ्नो विरोध सुन्छन्। असहमति राख्नेहरूको आवाजलाई पनि स्थान दिन्छन्। जसले पनि मेरो विरोध गर्न पाउँछ वा मविरूद्ध असहमति राख्न पाउँछ भन्ने लोकतान्त्रिक चेत देउवामा थियो।
उनले भलै आफ्ना विरोधीलाई पछार्न राजनीतिक खेल खेले होलान्, तिकडम लगाए होलान्; तर विरोध नै नसुन्ने वा असहमति नै राख्न नदिने काम गरेनन्।
हुन त देउवामा अत्यन्तै धेरै रिसाउँछन् भन्ने पनि हामीले सुनेका छौं। उनकी पत्नी आरजु राणाले नै केही वर्षअघि 'नयाँ पत्रिका' सँगको अन्तर्वार्तामा भनेकी थिइन्, 'अत्ति रिसाउने बानी छ। उठेदेखि रिसाउनुहुन्छ। जस्ता कुरामा पनि रिसाउनुहुन्छ। कुनै दिन रिसाउनुभएन भने ओहो आज उहाँलाई के भयो भनेर चिन्ता लाग्छ।'
आरजुको यो भनाइले मात्र होइन, देउवालाई कयौं पटक सार्वजनिक कार्यक्रममै रिसाएको हामीले देखेका छौं।
एउटा कार्यक्रममा प्रवक्ता प्रकाशशरण महतसँग 'इरिटेट' हुँदै 'ओ प्रकाशशरण, ओ प्रकाश' भन्दै माइकबाटै रिस पोखेको सुनेका छौं। रिसको झोकमा मुखामुख लागेका उदाहरण पनि छन्। तिनैमध्ये दुइटा दृश्य यो स्टोरीको सुरूमा हामीले चर्चा गरेको 'मिम' मा देखिन्छन्।
तर उनको रिस र आवेग क्षणिक भएको र त्यसैलाई लिएर कहिले पनि कसैप्रति तुष नपालेको नेताहरू बताउँछन्।
'विरोध गर्नेहरूसँग कुनै दिन मुखामुख लागे पनि भोलिपल्ट हार्दिकताका साथ प्रस्तुत हुने उनको बानी छ,' देउवालाई राम्ररी चिनेका एक नेताले भने, 'आफ्नै विरोध गर्ने नेताहरूलाई भेट्दा पनि 'ए मलाई गाली गर्ने भाइ' भनेर हाँसोमा उडाउँथे।'
पछिल्लो पटक हिल्टन होटलमा आफ्ना छोराको नाम मुछिएको प्रसंगमा भने उनले पत्रकार दिलभूषण पाठकसँग रिस साधेको उदाहरण छ। यो घटना पारिवारिक दबाबको उपज हुनसक्ने कांग्रेस नेताहरू बताउँछन्।
देउवाको यस्तो बानीमा महामन्त्री विश्वप्रकाश शर्मा सहमत छन्।
'हामीले महामन्त्रीका रूपमा भेट्दा वा व्यक्तिगत रूपमा भेट्दा पनि थुप्रै मुद्दामा उहाँको आलोचना गर्थ्यौं। अब तपाईंले प्रधानमन्त्री बन्ने चाहना राख्न हुँदैन भनेर धेरैचोटि भन्यौं। उहाँ हाम्रो आलोचना हार्दिकतापूर्वक सुन्नुहुन्थ्यो। यसले त मलाई गाली गर्छ भनेर रिस साधेर बस्नुभएन,' महामन्त्री शर्माले भने।
पार्टीभित्र मात्र होइन, उनको यो चरित्र पार्टीबाहिर पनि झल्किन्छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले 'म सिंहदरबार जलाइदिन्छु' भनेर सामाजिक सञ्जालमा लेख्दा तत्कालीन प्रधानमन्त्री प्रचण्ड बालेनलाई पक्राउ गर्ने तयारीमा थिए।
त्यो बेला देउवाले 'बोल्दैमा कसैलाई पक्राउ गर्न हुँदैन' भनेर प्रचण्डलाई साथ दिएनन्।
राजनीतिमा लागेको मान्छेले विरोधी स्वर सुन्ने संयम र साहस देखाउनुपर्छ भन्ने लोकतान्त्रिक चरित्र उनले देखाए।
यो गुणले जस्तोसुकै गाह्रोसाह्रो पर्दा सम्हालिएर अघि बढ्न देउवालाई सहयोग गरेको र पार्टीभित्र प्रभाव विस्तार गर्न मद्दत गरेको कांग्रेस नेताहरू बताउँछन्।
पाँचौं — देउवा एक लचिलो, सहनशील र संयम राख्ने नेता पनि हुन्।
उनले आफ्नो राजनीतिक जीवनमा कुनै मुद्दालाई लिएर हठ राखेको उदाहरण विरलै भेटिन्छ। सहमतिको वातावरण बन्छ भने आफूले बोकेर हिँडेको एजेन्डामा पनि तलमाथि गर्न तयार हुन्थे।
'मै ठिक हुँ र मैले भनेकै कुरा लागू हुनुपर्छ भन्ने हठ थिएन,' अर्का एक कांग्रेस नेताले भने, 'यसबाट उनी धेरै पटक असहज परिस्थितिमा पनि आफू अनुकूलको वातावरण निकाल्न सक्षम भएका छन्।'
उदाहरणका लागि —
संविधान जारी भएपछि मधेसी दलहरूले स्थानीय निर्वाचन बहिष्कार गर्दा केपी ओली मधेसी पार्टीहरूको कुरै सुन्न तयार थिएनन्। देउवाले भने उनीहरूका एक–दुईवटा कुरा मान्दा सहमति हुन्छ भने मानेर अघि बढौं भन्ने लचिलोपना देखाएको ती नेताले बताए।
देउवाको यो गुणसँग महामन्त्री गगन थापा सहमत छन्।
'उहाँ एकदमै 'एकोमोडेटिभ' र लचिलो स्वभावको हुनुहुन्छ। यस्तो स्वभावले धेरै अप्ठ्यारा र जटिल परिस्थितिमा समाधान निकाल्ने काम गरेको छ। कुनै पनि लोकतान्त्रिक पार्टीका लागि राजनीतिज्ञमा हुनैपर्ने गुण हो यो,' उनी भन्छन्।
उनी यो पनि भन्छन्, 'पार्टी भित्र र बाहिर सबैलाई मिलाएर जाने स्वभावले नै उहाँलाई नेतृत्वमा टिकिरहन मद्दत गर्यो भन्ने मलाई लाग्छ।'
देउवाको लचिलोपना र मनमा तुष नलिने बानीको एउटा उदाहरण कांग्रेसबाट फुट्दा र फेरि जुट्दाको घटनाले पनि देखाउँछ।
त्यति बेला गिरिजाप्रसाद कोइरालाजस्तो राजनीतिक रूपले 'शिखर व्यक्तित्व' सँग झगडा मोलेर पार्टी फुटाउने जुन साहस देउवाले गरे, त्यसले उनको व्यक्तिगत र राजनीतिक साख दुवै बढायो। पछि पार्टी एकीकरण गरेर कांग्रेसमै मिल्न आउँदा पनि मनमा तुष पालेनन्। कसैविरूद्ध रिसिइबी साधेनन्।
'पार्टी फुटाएर हिँडेको मान्छे फर्केर आएपछि पनि तिक्तता नदेखाउनु र दुवै पक्षलाई एकैठाउँ समाहित गर्नुले देउवाको उदार र सहनशील चरित्र देखाउँछ,' राजनीतिक विश्लेषक हरि शर्मा भन्छन्।
यसैमा एउटा पछिल्लो उदाहरण पनि छ।
देउवाले असोज २८ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा जुन मन्तव्य दिए, त्यो पार्टी सभापतिका हैसियतमा उनको अन्तिम सम्बोधन थियो।
त्यो मन्तव्य तयार पार्न र भाषा मिलाउन थुप्रै पदाधिकारीले मद्दत गरेका छन्। त्यस क्रममा देउवाले दुइटा मात्र कुरा भनेको उक्त प्रक्रियामा संलग्न एक नेताले बताए।
'उहाँको दुइटा मात्र इच्छा थियो — उहाँ आफ्नो मन्तव्यमा पार्टीबाट बहिर्गमनको सन्देश दिन चाहनुहुन्थ्यो। र, कसैविरूद्ध पनि घोचपेच, घृणा वा गालीगलौजको शब्द नपरोस् भन्ने उहाँको इच्छा थियो,' ती नेताले भने।
यी त भए देउवाका गुण। तर सिक्काको मात्र होइन, मान्छेको चरित्रमा पनि दुइटा पाटो हुन्छ, गुण सँगसँगै दोषहरू पनि हुन्छन्।
देउवा पनि अनगिन्ती दोष वा कमजोरी भएका व्यक्ति हुन्। तराजुमा नाप्ने हो भने गुणभन्दा दोषकै पल्ला भारी होला, सायद!
राजनीतिक जीवन र व्यक्तिगत रूपमा देउवाको सबभन्दा पहिलो र सबभन्दा ठूलो दोष यही हो — उनका लागि सधैं, सधै नै सत्ता महत्त्वपूर्ण रह्यो।
हुन त उनी स्वयंले पछिल्लो मन्तव्यमा आफू 'पाँच पटक प्रधानमन्त्री भए पनि कुल मिलाएर पाँच वर्ष पनि सरकारमा नबसेको' बताएका छन्। यो आकडा सही हो। तर कति वर्ष प्रधानमन्त्री भए वा कति पटक कसलाई प्रधानमन्त्री बनाएर सत्ता साझेदारी गरे भन्ने महत्त्वपूर्ण होइन।
त्योभन्दा महत्त्वपूर्ण, २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएयता उनी कहिले पनि सत्ताबाट तलमाथि वा दायाँबायाँ हुन चाहेनन्।
आफ्नो ६० वर्षको राजनीतिक जीवनमा उनी ३० वर्षसम्म सत्ता र पार्टी राजनीतिको केन्द्रमा रहे। पहिलो पटक प्रधानमन्त्री भएयता उनी या त आफै प्रधानमन्त्री बने, या 'प्रधानमन्त्री इन वेटिङ' मा बसे।
२० वर्ष उमेरमा राजनीति सुरू गरेर लगभग ८० वर्ष पुग्न लाग्दा पनि उनमा प्रधानमन्त्री बन्ने लोभ हराइसकेको थिएन। यसको पछिल्लो उदाहरण त केपी शर्मा ओलीसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता साझेदारी नै हो।
केपी ओलीले जब सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाए, त्यसले आमजनतामा मात्र होइन, कांग्रेस पार्टीभित्रै पनि विरोध भयो। दुवै जना महामन्त्रीले यो निर्णय तुरून्तै फिर्ता लिनुपर्छ भनेर देउवालाई दबाब दिन गएको घटना सार्वजनिक भएको थियो। अन्य नेताहरूले पनि आ–आफ्नो तर्फबाट दबाब दिएकै थिए।
तर देउवाले कसैको कुरा सुनेनन्।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दा केपी ओली रिसाउँछन् भन्ने देउवालाई डर थियो। ओली रिसाए सत्ता समीकरण फेरिन सक्छ र त्यो अवस्थामा आफू छैठौं पटक प्रधानमन्त्री बन्ने सम्भावना गुम्छ भन्ने उनले ठानेका थिए।
त्यही सत्ताको लोभ र सत्ता नपाइएला कि भन्ने चिन्ताले ओलीविरूद्ध बोल्न नसक्नुले नै आखिरमा उनको राजनीतिक बहिर्गमनको बाटो खन्यो।
नभए सामाजिक सञ्जाल बन्दको निहुँमा जेन–जी आन्दोलन नभइदिएको भए र देशमा नयाँ राजनीतिक परिस्थिति नबनेको भए उनी आउँदो साउनमा फेरि प्रधानमन्त्री हुने तयारीमै थिए।
अहिले देउवाको आखिरी मन्तव्यको सन्देशमाथि शंका गर्नेहरूको एउटा ठूलो आधार देउवाकै यही अवगुण वा कमजोरी हो।
'देउवाको विगतको सत्तामोह हेर्दा उनी यति सजिलै यो रेसबाट बाहिरिए भन्ने लाग्दैन,' एक कांग्रेस नेताले भने, 'पार्टीको नेतृत्वबाट त विधान अनुरूप यसै पनि उनी बाहिरिँदै नै थिए। त्यो ठूलो कुरा होइन। तर भोलि फेरि प्रधानमन्त्री बन्ने लालसा त्याग्छन् भन्ने चाहिँ अहिल्यै पत्याउन मुस्किल छ। कम्तिमा उनको राजनीतिक विगत हेर्दा त्यो आशा गरिहाल्न सकिँदैन।'
हामीले देउवाको यो कमजोरीबारे महामन्त्री थापालाई सोधेका थियौं।
उनले यसमा सहमति जनाउँदै भने, 'आफ्नो राजनीतिक जीवनमा उहाँ सधैं नेतृत्वमा टिकिरहन चाहनुभयो। सत्तालाई प्रमुख ठान्नुभयो। यो पक्कै पनि उहाँको कमजोरी हो।'
दोस्रो कमजोरी — देउवाले सत्तालाई जति महत्त्व दिए, सत्तामा गएपछि के गर्ने भन्ने कुरालाई कहिल्यै महत्त्व दिएनन्।
प्रधानमन्त्री बन्ने उत्कट अभिलाषा बोकेर हिँडे पनि प्रधानमन्त्री बनेपछि के गर्ने भन्नेमा उनीसँग कुनै योजना व कार्यक्रम हुन्थेन।
प्रधानमन्त्री बन्ने तयारीमा रहेका बेला यसपालि सरकारमा गएपछि कांग्रेसले के गर्छ, कस्तो खालका कार्यक्रम ल्याउँछ भन्नेमा उनले पार्टीभित्र कहिल्यै छलफल नगरेको नेताहरू बताउँछन्।
'प्रधानमन्त्री बनेपछि उहाँको एउटै काम भनेको अर्कोचोटि फेरि प्रधानमन्त्री बन्न तारतम्य मिलाउनमै केन्द्रित रह्यो,' एक कांग्रेस नेताले भने।
हुन त देउवाले आफ्नो मन्तव्यमा आफूले गरेका कामको वर्णन गरेका छन्। भ्रष्टाचार नियन्त्रण गर्ने कानुन नै आफू प्रधानमन्त्री हुँदा ल्याएको बताएका छन्। तर व्यवहारमा हेर्ने हो भने भ्रष्टाचार नियन्त्रण र सुशासनमा उनले कहिल्यै वास्ता गरेनन्। विधि निर्माण गर्ने काम कहिले पनि उनको प्राथमिकतामा परेन।
सांसद किनबेच, पजेरो/प्राडो प्रकरण लगायत नेपालको संसदीय राजनीतिलाई बदनाम गराउने घटनाहरू देउवाको सत्तामोहकै उपज हुन्। सत्तामा पुगेपछि त्यसमा टिकिरहन र सत्ता बाहिर हुँदा जसरी पनि सत्तामा पुग्न उनले शासकीय प्रणालीको धज्जी नै उडाए।
कर्मचारीहरूको सरूवा–बढुवादेखि आफू निकटका नेता वा कर्मचारीलाई अवाञ्छित आर्थिक लाभ हुने खालका अनेक काण्डमा उनको नाम मुछियो।
हुँदाहुँदा राजनीतिक जीवनको उत्तरार्द्धसम्म आइपुग्दा त उनी आर्थिक अपचलन र सुशासनकै मामिलामा सबभन्दा बढी बदनाम भए।
देशका ठुल्ठूला भ्रष्टाचार काण्डमा उनको नाम प्रत्यक्ष नजोडिएको भए पनि उनले आफ्नो परिवारका सदस्य वा आफू निकट नेताहरूको स्वार्थका खातिर त्यस्ता काण्डमा आँखा चिम्लेका छन् र त्यसबाट हुने आर्थिक लाभको हिस्सेदार भएका छन्।
खासगरी आरजु राणासँगको विवाह र आरजुको राजनीतिक सक्रियतापछि आर्थिक अपचलनको मामिलामा देउवा धेरै नै बदनाम भए। उनले घरभित्र र बाहिरका मान्छेलाई त्यस्ता अपचलनमा लाग्नबाट रोक्न सकेनन्। अहिले पनि देउवा पत्नी आरजुको नाम थुप्रै भ्रष्टाचार काण्डहरूमा जोडिएकै छन्।
यसले ६० वर्षको राजनीतिक जीवन र ५५ वर्ष नेतृत्वमा रहेर उनले हासिल गरेको उचाइलाई नै धुलिसात पार्ने काम गर्यो। युवा पुस्ताको नजरमा उनी सबभन्दा भ्रष्ट नेताका रूपमा दरिए।
देउवासँग नजिकबाट संगत गरेका एक नेताका अनुसार उनी पहिले पनि व्यापारी लगायत विभिन्न स्रोतबाट पैसा उठाउने मान्छे नै हुन्। तर त्यति बेला त्यो पैसा पार्टी सञ्चालनमा प्रयोग हुन्थ्यो। कार्यकर्ता परिचालनमा प्रयोग हुन्थ्यो। आफ्नै निर्वाचन क्षेत्रका मान्छे र आफूलाई काँध थापेर हिँड्ने मान्छेहरूका लागि प्रयोग हुन्थ्यो। त्यो पैसाको परिमाण पनि खासै ठूलो हुन्थेन।
यसरी पार्टी सञ्चालनका लागि उद्योगी व्यवसायीदेखि विभिन्न स्रोतबाट पैसा संकलन गर्ने काम उनले गिरिजाप्रसाद कोइरालाको 'स्कुलिङ' बाट सिकेका हुन्। गिरिजा पनि आफूलाई चाहिने पैसा त्यसरी नै जम्मा गर्थ। त्यो पैसा पार्टीकै काममा वा आफू निकट कार्यकर्ताहरूलाई आवश्यक पर्दा प्रयोग गर्थे।
कोइरालाको यो स्कुलिङबाट हुर्केका देउवा उनीभन्दा निकै अगाडि बढेर पैसा संकलन गर्न र राजनीतिलाई नै कारोबार बनाउनतिर लागेको उनी निकट नेताहरू बताउँछन्।
भदौ २४ को घटनामा देउवाको बुढानिलकण्ठ निवासबाट ठूलो परिमाणको नगद र विदेशी मुद्रासमेत फेला परेका भिडिओ भाइरल हुनुले आर्थिक मामिलामा देउवा दम्पतीलाई थप बदनाम गराएको छ।
देउवाले आफ्नो पछिल्लो मन्तव्यमा त्यो भिडिओलाई 'फेक' भनेका छन्। सम्पत्ति शद्धीकरण विभागबाट यसबारे छानबिन चलिरहेकाले सत्यतथ्य बाहिर आउन बाँकी नै छ।
देउवाको तेस्रो अवगुण यो हो — उनले आफ्नो जीवनमा बौद्धिकतालाई कहिल्यै महत्त्व दिएनन्। लोकप्रियतालाई पनि कहिल्यै महत्त्व दिएनन्।
बौद्धिक व्यक्तिहरूको कुरा सुन्ने, सरसल्लाह गर्ने, के गर्दा लोकप्रियता घट्छ र लोकप्रियतामा असर पर्छ भन्ने कुरालाई उनले कहिल्यै वास्ता गरेनन्।
कुनै पनि लोकतान्त्रिक पार्टीमा बौद्धिक मतको ठूलो स्थान हुनुपर्छ। जनताले के भन्दै छन् भन्ने कुरालाई ठूलो महत्त्व दिनुपर्छ। जनमत कता जाँदैछ भन्नेमा लोकतान्त्रिक पार्टीका नेताहरूले सधैं विचार पुर्याउनुपर्छ। एकलकाँटे भएर हिँड्दा कतिखेर पार्टी र आफ्नो साख खस्कियो भन्ने नेताहरूले चाल नै पाउँदैनन्।
गिरिजाप्रसाद कोइरालामाको जुन 'स्कुलिङ' मा देउवा हुर्के, उनले त्यो स्कुलिङबाट बौद्धिक आवाज र जनमतको कदर गर्नुपर्छ भन्ने चाहिँ कहिल्यै नसकेको एक कांग्रेस नेताले बताए।
'गिरिजाप्रसाद कोइराला बौद्धिक व्यक्तिहरूलाई खुब महत्त्व दिनुहुन्थ्यो। त्यही भएर उहाँ लोकराज बराल, गणेशराज शर्मा लगायतलाई भेट्न गइरहनुहुन्थ्यो। बौद्धिक वर्गसँग राजनीतिक परामर्श लिइरहनुहुन्थ्यो। आफ्ना कार्यकर्तासँग कुराकानी गरेर जनता के सोचिरहेका छन् भन्ने हेक्का राख्नुहुन्थ्यो। जनता के भन्दै छन् भन्ने कुरालाई उहाँ महत्त्व दिनुहुन्थ्यो र त्यसलाई लिएर चिन्तित पनि हुनुहुन्थ्यो। यो बानीले बौद्धिक मत र जनमत कता जाँदैछ भन्ने उहाँलाई थाहा हुन्थ्यो,' ती नेताले भने, 'देउवाले भने यी दुवै काम कहिल्यै गरेनन्।'
उनका अनुसार कसैले देउवालाई 'जनता त यस्तो भन्दै छन् नि' भनेर कुरा राखे, उनी सिधै 'को जनता' भनेर प्रतिप्रश्न गर्थे। र, अगाडि भन्थे, 'म पनि तिनै जनताले निर्वाचित गरेर यहाँसम्म आएको हुँ।'
देउवाले जनमतभन्दा बढी अंकलाई महत्त्व दिएको र अंकको भाषा मात्र बुझेको नेताहरू बताउँछन्।
आफूलाई प्रधानमन्त्री बन्न चाहिने वा आफूले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन चाहिने अंक बाहेक उनले आफ्नो राजनीतिक जीवनमा अरू कुराको वास्ता नगरेको उनीहरूको भनाइ छ।
यसपालि जेन–जी आन्दोलनपछि उनी सहमतिमा आउनु र आफ्नो मन्तव्यमा सहमतिको भाषा बोल्नुमा पनि त्यही अंक मुख्य कारण बनेको पार्टीभित्र विश्लेषण गरिन्छ।
जति बेला देउवा केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुँदै थिए, त्यति बेला देशभरिबाट ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवशेन माग गर्दै संकनल गरेको हस्ताक्षर पार्टी कार्यालयमा दर्ता गर्ने तयारी हुँदै थियो।
बहुमत संख्याका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन नगरेका भए यसपालि पनि देउवा सहमतिको विन्दुमा आउँथे भन्नेमा कांग्रेस नेताहरू शंका गर्छन्।
'प्रधानमन्त्री बन्न मात्र होइन, आज उनले बहिर्गमनको सन्देश दिनुमा पनि त्यही अंक कारक बन्यो,' एक नेताले भने।
चौथो — देउवाले मिडियामा आफ्ना विरूद्ध आएका समाचार र टिप्पणीलाई कहिल्यै वास्ता गरेनन्।
मिडियाले यस्तो लेखेका छन् नि भनेर कसैले सूचना लिएर गए उनी हाँसोमा उडाउँदै भन्थे, 'जे लेखे पनि, जे भनेर गाली गरे पनि मलाई के भो, म पढ्ने होइन!'
आफ्नो विरोध गर्नेहरूमाथि तुष नराख्ने सकारात्मक गुण हुँदा हुँदै विरोध गर्नेहरूको आवाज सुन्दै नसुन्ने वा सुने पनि टेर्दै नटेर्ने स्वभावले उनको उदारवादी र लोकतान्त्रिक चरित्रलाई नै कमजोर बनाएको नेताहरू विश्लेषण गर्छन्।
'उदार भइकन पनि अरूको विरोध र गालीको वास्ता नगर्ने र आफ्नै सुरमा हिँडिरहने चरित्र उनमा बढी नै हाबी थियो,' एक नेताले भने, 'यही चरित्रले पनि पछिल्लो कालखण्डमा देउवालाई धेरै बदनाम गरायो। आफ्नो परिवार र निकटका व्यक्ति भ्रष्टाचार काण्डहरूमा मुछिएको उनले वास्ता गरेनन्। पार्टीभित्रै कुरा उठ्दा पनि सुनेनन्।'
'जनता यस्ता भ्रष्टाचार काण्डबाट रूष्ट छन्, उनको परिवार बदनाम छ, राजनीतिक साख गिर्दैछ भनेर मिडियाहरूले लेख्दा पनि र नेताहरूले व्यक्तिगत रूपमा भेटेर भन्दा पनि उनले आफू, आफ्नो परिवार र निकटका साथीहरूलाई सच्चिन लगाएनन्,' ती नेताले भने।
देउवाको पाँचौं अवगुण उनको एउटा गुणसँगै जोडिएर आउँछ।
शेरबहादुर देउवा नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाभन्दा व्यवहारवादी राजनीतिज्ञ हुन् भनेर हामीले माथि भन्यौं। उनले राजनीतिमा आफ्नो स्वार्थ मात्र हेरेनन्, आफू सँगसँगै हिँड्ने र गाह्रोसाह्रो पर्दा आफूलाई काँध थाप्ने नेता र कार्यकर्ताहरूको स्वार्थलाई पनि हदैसम्म व्यवस्थापन गरे भनेर पनि माथि भन्यौं।
यसले उनको राजनीतिक कद बढाउन र नेतृत्वमा टिकिरहन पक्कै ठूलो फाइदा गर्यो, तर सँगसँगै नेतृत्वको यही गुणले समग्र राजनीतिलाई प्रदूषित पार्ने काम पनि गर्यो।
देउवाले तत्कालको घटनामा मात्र होइन, कुनै कालखण्डमा आफूलाई अप्ठ्यारो पर्दा सघाएको मान्छेलाई पनि आफूसँगै लिएर हिँडिरहे। यसको प्रतिकूल असर देशको सुशासनमा पर्यो।
यसबारे महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, 'आफ्नो साथ दिनेहरूलाई जस्तोसुकै परिस्थितिमा साथ दिने उहाँको बानी छ। यसले संगठनभित्र पक्कै राम्रो काम गर्यो। यही बानीले उहाँलाई नेतृत्वमा टिकिराख्न मद्दत गर्यो। तर यसको नकारात्मक असर पनि छ, यसको मूल्य पार्टी र देशले चुकाउनुपर्छ।'
हुन पनि नेतृत्वले जबसम्म आफू निकटका व्यक्तिलाई भ्रष्टाचारबाट अलग गराउन सक्दैन, तबसम्म समग्र सुशासन कहिल्यै हासिल हुँदैन।
माथिका 'टाउकेहरू' नै भ्रष्टाचारमा चुर्लुम्म डुबेपछि कर्मचारीतन्त्र, प्रहरी–प्रशासन वा राज्यका अन्य निकायबाट सुशासनको अपेक्षा राख्न सकिँदैन।
फोहोर पानीमा रमाउने गोहीले नदी सफा गर्न सक्दैन!
यो मामिलामा देउवाको नेतृत्वले भ्रष्टाचार संस्थागत गर्यो भन्दा फरक पर्दैन।
समग्रमा भन्दा, देउवाको चरित्रमा झल्किने गुणहरू उनको उचाइ बढाउन जति सहायकसिद्ध भए, उनका दोष वा कमजोरी उनको साख गिराउन उति नै कारक बने।
मान्छेको शरीर हाडछालाले बनेजस्तै मान्छेको चरित्र पनि गुण र दोषले बनेको हुन्छ। चरित्रको तराजुमा गुणको पल्ला भारी भए मात्र मान्छेको साख र व्यक्तिगत उचाइ दीर्घकालसम्म कायम रहन्छ।
देउवाका यिनै गुण–दोष हेरेर अझै पनि कतिपयले उनको पछिल्लो मन्तव्यलाई सकारात्मक रूपमा लिइहाल्न सकेका छैनन्।
जेन–जी आन्दोलनको धक्काले उनी सुध्रिए र आगामी दिनमा फेरि सत्ता चलखेल गर्दैनन् भन्ने विश्वास गर्न सकेका छैनन्।
जीवनको उत्तरार्द्धमा उनले सहेको अपमान, दुर्व्यवहार, घाउ र उनको आहत मन देख्दादेख्दै पनि 'शंकाको लाभ' दिन सकेका छैनन्।
***