राजनीतिक दलहरुसँगको संवादमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पर्यवेक्षक राख्ने भएकी छिन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रुपमा सहभागी हुनेछन्।
प्रधानमन्त्री कार्कीले ७ राजनीतिक दलहरुसँग आज निर्वाचनका विषयमा छलफल आयोजना गरेकी छिन्। निर्वाचन गराउने उद्देश्यसहित गठन भएको कार्की नेतृत्वको अन्तरिम सरकारले पहिलोपटक राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो।
‘आज बालुवाटारमा राजनीतिक दलहरूसँग चुनावबारे हुने संवादमा २ जना पर्यवेक्षक पनि सहभागी हुने छन्’, प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले ह्वाट्सएप ग्रुपमा पत्रकारहरुलाई पठाएको सन्देशमा भनिएको छ, ‘केदारभक्त माथेमा र विद्याधर मल्लिक बैठकमा सहभागी हुनुहुनेछ।’
प्रधानमन्त्रीले डाकेको बैठकमा राजनीतिक दलको नेतृत्वमा रहेका प्रत्येक दलबाट दुई जनालाई प्रतिनिधित्व गराइदिन प्रधानमन्त्रीको तर्फबाट ७ वटा राजनीतिक दललाई पत्राचार गरिएको थियो।
बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्। यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए।
त्यस्तै नेपाली कांग्रेसबाट उपसभापति गगन थापा, प्रकाशशरण महत बैठकमा सहभागी भएका छन्। राष्ट्रपतिले डाकेको बैठकमा पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका थिए।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी हुने भएका छन्। राष्ट्रपतिले आव्हान गरेको बैठकमा भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी भएका थिए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी हुने भएका छन्। राष्ट्रपतिले डाकेको बैठकमा कार्यवाहक सभापति डिपी अर्याल गएका थिए।
एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला पनि सहभागी हुने भएका छन्।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि यसअघि राष्ट्रपति र निर्वाचन आयोगले दलहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो। तर सरकार आफैले भने दलहरुसँग संवाद गरेको थिएन।