प्रधानमन्त्री सुशीला कार्कीसँग शुक्रबार भएको राजनीतिक संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफू चुनावमा भाग लिन तयार रहेको बताएको छ।
उक्त संवादमा रास्ववा तर्फबाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतमले भाग लिएका थिए।
बैठकमा रास्वपा तर्फबाट राखेको धारणाबारे जानकारी दिँदै गौतमले सेतोपाटीसँग भनिन्, 'हामीले चुनावका लागि तयार छौं भन्यौं। अरू दलहरूबाट पनि यस्तै धारणा व्यक्त भयो। तर चुनावका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा सबैको जोड रह्यो।'
विदेशमा रहेका नेपालीहरूलाई पनि चुनावमा मतदान गराउने प्रक्रिया सुरू गरिनुपर्ने विषयमा रास्वपाले आफ्नो धारणा राखेको गौतमले बताइन्।
'अहिलेको नयाँ परिवेशमा सरकारले संविधान संशोधनका एजेन्डाबारे सूची बनाउनुपर्यो र विदेशमा बस्ने नेपालीहरूलाई पनि मतदान गराउने वातावरण बनाउन गम्भीर भएर लाग्नुपर्यो भनेर हामीले भन्यौं,' बैठकपछि सेतोपाटीसँग कुरा गर्दै गौतमले भनिन्।
राजनीतिक दलहरू निर्वाचनमा भाग लिन तयार भए पनि सरकारले वातावरण बनाउन सकेको छैन भन्ने धेरैजसो नेताहरूको धारणा रहेको उनको भनाइ छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले केही दिनयता दिएका अभिव्यक्तिमा एमालेले आपत्ति जनाएको पनि उनले बताइन्।