प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार डाकेको राजनीतिक संवादमा माओवादी केन्द्रले आफूहरू चुनावमा जान तयार रहेको बताउँदै त्यसका लागि वातावरण बनाउने आग्रह गरेको छ।
बैठकमा माओवादी तर्फबाट वर्षमान पुन र पम्फा भुसालले भाग लिएका थिए।
पार्टी सचिवालय सदस्य पुनले बैठकमा राखेको धारणाबारे जानकारी दिँदै निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको बताए।
'सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने भए पनि पर्याप्त ध्यान पुग्न नसकेकाले तत्काल आवश्यक कदम चाल्नुपर्छ,' उनले बैठकमा भने।
माओवादी केन्द्रले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको बताउँदै उनले मतदाता नामावली अद्यावधिक गर्न निर्देशन जारी गरेको समेत जानकारी दिएका थिए।
त्यस्तै, घोषित मितिमा धाँधलीरहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारले सक्रिय पहल गर्नुपर्ने धारणा पनि माओवादीले राखेको थियो।
आफूहरुले निर्वाचन केन्द्रित अभियान सुरू गरिसकेको उल्लेख गर्दै माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दललाई पनि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको थियो।