प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार प्रमुख बनेको एक महिनाभन्दा बढी समयपछि मंगलबार राजनीतिक दलहरूसँग पहिलो संवाद गरेकी छन्।
उनले बालुवाटारमा डाकेको बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले संवाद सुरू गर्न किन ढिलाइ भयो भन्ने प्रश्न सोधेका थिए।
'भदौ २३ र २४ को आन्दोलनले राजनीतिक दलहरूमाथि विजय हासिल गरेजस्तो व्यवहार यो सरकारले देखाउँदैछ। अन्तरिम सरकारको म्यान्डेट नै चुनाव हो भने दलहरूसँग संवाद गर्न किन यति ढिला?' बैठकमा नेकपा एमाले तर्फबाट राखेको धारणाबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने।
जबाफमा कार्कीले भनिन्, 'आन्दोलनका घाइतेहरूको उपचार, सहिदको शव व्यवस्थापन र परिवारलाई राहत, आन्दोलनकारी पक्षको आवाज सुनुवाइ गर्नुपर्ने भयो। त्यसले दलहरूसँग संवाद सुरू गर्न समय लाग्यो।'
सुरूआती चरणमा जेन-जी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरूचाएको पनि उनले बताइन्।
त्यसबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट जेन-जी युवा र राजनीतिक दलहरू दुवै पक्षसँग कुराकानी गरेर संवादको ढोका खोलिदिने काम भएको प्रधानमन्त्री कार्कीले बताइन्।
'हामी जसरी हुन्छ स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔं भन्नेमा छौं। चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका खेलौं। यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,' बैठकमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'अब जेन-जी र दलहरू छलफलमा बसौं।'
उनले फागुन २१ को निर्वाचन भयरहित वातावरणमा गर्न सम्पन्न सरकार प्रतिबद्ध रहेको र यसका लागि सबै सरकारी संयन्त्र अहोरात्र खटिएको पनि बताएकी छन्। तोकिएकै समयमा चुनाव सम्पन्न गराउन सरकारका मन्त्री, सुरक्षा निकाय लगायत राज्यका सबै संयन्त्रले काम गरिरहेको उनले बताइन्।
छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, कृषिमन्त्री मदन परियार उपस्थित थिए।
त्यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाकार अजयभद्र खनाल पनि उपस्थित थिए।
नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत उपस्थित थिए भने नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए।
माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतमको उपस्थिति थियो।
एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नेमकिपाबाट प्रेम सुवाल सहभागी थिए। त्यस्तै, रेशम चौधरी र चन्दन सिंह पनि सहभागी थिए।