नेपाली कांग्रेसभित्र नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने बहस छ। कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्।
विधानअनुसार ४० प्रतिशतले हस्ताक्षर बुझाए तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ।
कांग्रेस संस्थापन भने विशेष महाधिवेशनको पक्षमा छैन। विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरूले पनि मंसिरभित्रै नियमित महाधिवेशन गरे विशेष महाधिवेशन गरिराख्न नपर्ने बताइरहेका छन्। तैपनि संस्थापन पक्ष मंसिरमा महाधिवेशन सम्भव देख्दैन।
अधिकांश जिल्लामा क्रियाशील सदस्यता नवीकरण नसकिएको र नयाँ सदस्यता खुला नगरिएकाले मंसिरभित्र १५औं महाधिवेशन सम्भव नरहेको सभापति शेरबहादुर देउवानिकट नेताहरूले बताउँदै आएका छन्।
महामन्त्री गगन थापाले भने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मंसिरभित्रै महाधिवेशन गर्न सक्ने गरी कार्यतालिका प्रस्ताव गरेका छन्। संस्थापन पक्ष यसमा सहमत नहुँदा उक्त कार्यतालिका केन्द्रीय समितिमा पेस हुन सकेको छैन।
असोज २८ देखि सुरू केन्द्रीय समिति बैठक अहिले स्थगित छ भने कात्तिक १३ देखि पुन: सुरू हुनेछ। केन्द्रीय समितिमा छलफलका १० एजेन्डा भए पनि मुख्य गरी नियमित कि विशेष महाधिवेशन कहिले गर्ने र फागुन २१ को प्रतिनिधिसभा चुनावबारे मसिनो गरी छलफल हुँदैछ।
यसै सन्दर्भमा हामीले नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतसँग कुराकानी गरेका छौं:
जेन–जी आन्दोलनपछि बसेको केन्द्रीय समिति बैठक किन यति धेरै दिन स्थगित गरियो? अलमल अलमल भएजस्तो देखिँदै छ नि?
अलमल भएको होइन। बीचमा तिहार र छठ पर्यो। यही चाडबाडका कारण केन्द्रीय समिति बैठक रोकिएको हो। अब कात्तिक १३ देखि फेरि सुरू हुन्छ। अरू कुनै कारण छैन।
एजेन्डामा पूर्वसहमति जुटाउन बैठक लामो समय स्थगित गरिएको हो कि?
होइन, केन्द्रीय समितिमा १० वटा एजेन्डा पेस भइसकेकै छन्। राष्ट्रिय राजनीतिको विषयदेखि भदौ २३ र २४ को घटनाका प्रभाव लगायत विषय एजेन्डामा छन्। जहाँसम्म अधिवेशनको सवाल छ, त्यसमा समय तालिकाबारे विभिन्न मत अवश्य छन्। त्यस विषयमा हामी एउटा समझदारी कायम गर्न खोज्दैछौं।
केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा समूहगत छलफल हुने गरेको देखिन्छ। संस्थापन पक्षले पनि छलफल गर्यो, संस्थापन इतरको पनि भयो होला। त्यस्ता समूहगत छलफलमा के कुरा हुन्छन्?
विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर आएको अवस्था छ। पार्टीका पदाधिकारी साथीहरूले नै त्यसलाई अगुवाइ गर्नुभयो। फेरि नियमित अधिवेशनको कुरा पनि आएको छ। यस्तो बेला विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने वा नगर्ने कुरा पनि आए।
देश नै संकटमा भएका बेला हामीले पार्टीभित्र विभाजन र ध्रुवीकरण बढाउने कुरा गरिरहेका छौं। त्यसमाथि राष्ट्रिय निर्वाचन पनि भनिरहेका छौं।
अरू साथीहरूले पनि विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर अभियान चलाउनुभयो, त्यस कारण मिलनविन्दु खोज्नुपर्छ भनेर अनौपचारिक र अलग अलग छलफल भएको हो। यस्ता छलफलको मक्सद मिलनविन्दु खोज्ने नै हो।
नियमित वा विशेष महाधिवेशन के हुन्छ?
नियमित र विशेष महाधिवेशन भन्नुपर्ने कारण नै छैन। महाधिवेशन नगर्ने भनेर कसैले भनेको छैन। तैपनि महाधिवेशन गर्नै नखोज्या रहेछ कि भन्ने हिसाबले हस्ताक्षर संकलन भयो। त्यसले पक्ष र विपक्षका कुरा आए।
महाधिवेशन गर्ने कुरामा दुई मत छैन। खालि कहिले भन्नेमा क्रियाशील सदस्यहरू टुंग्याउन न्यूनतम समय राखेर गरौं भन्ने हो।
क्रियाशील सदस्यता नवीकरण अहिलेसम्म टुंगिएको छैन। अहिलेसम्म तीन जिल्लाको मात्र टुंगियो भन्ने छ। यसको जिम्मेवारी महामन्त्रीहरूलाई छ। त्यसैले कसैलाई दोष थोपरेर, सभापतिले गरेन वा फलानाले गरेन भनेर मात्र मिल्दैन। ज्यादा जिम्मेवारी महामन्त्रीहरूकै हुन्छ।
यसका लागि अनावश्यक धेरै समय लिन खोजिएको होइन। न्यूनतम जति समय चाहिन्छ त्यति लिएर १५औं महाधिवेशन गरौं भन्ने कुरा हाम्रो हो। तर अरू साथीहरूको भनाइ मंसिरमै गरौं भन्ने छ। त्यसले अलिकति मतभिन्नता आएको हो।
अर्कातिर, राष्ट्रिय निर्वाचन आउन लागेका बेला महाधिवेशन गर्ने कि नगर्ने भन्ने पनि छ। महाधिवेशनले पार्टीभित्र तलसम्मै मतभिन्नताजस्तो देखिन्छ, त्यसले निर्वाचनमा असर गर्छ कि भन्ने पनि छ।
यो कसैको व्यक्तिगत विषयभन्दा पनि मंसिरमा महाधिवेशन गर्दा फागुन २१ को चुनावलाई प्रतिकूल असर पर्छ कि भन्ने हिसाबले हामीले भनेको हो। कम्युनिस्ट पार्टीहरूको जस्तो संगठित सदस्य भइराख्दैन, त्यसैले कांग्रेसमा झट्ट महाधिवेशन गर्न गाह्रो छ। महाधिवेशनकै बेला अन्तिममा क्रियाशील सदस्य नवीकरण र वितरण गर्ने गरिन्छ।
मंसिरमै महाधिवेशन गर्न के–के अप्ठ्यारा छन्?
मुख्य कारण क्रियाशील सदस्यता नै हो। अहिलेसम्म तीन जिल्लाको मात्रै क्रियाशील सदस्यता नवीकरण भएर आएको छ। अरूको आएको छैन। त्यो पनि आउनुपर्यो। नयाँ क्रियाशील सदस्यता पनि दिनुपर्यो।
विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको यसै समय सकिइसक्यो। त्यसमाथि चार वर्षअघिको क्रियाशील सदस्यताका आधारमा महाधिवेशन प्रतिनिधि बनेको हो। त्यसैले २०७८ सालको १४औं महाधिवेशनका प्रतिनिधिबाट विशेष महाधिवेशन गर्दा नयाँ कुरा केही नहुने भयो।
त्यसैले हाम्रो धारणा के हो भने, अहिलेलाई राष्ट्रिय निर्वाचनमा सम्पूर्ण तरिकाले होमिऔं, महाधिवेशन कार्यतालिका पनि अघि सारौं, अभियानहरू पनि लैजाऔं। सँगसँगै, महाधिवेशन कार्यतालिका पनि तय गरौं र महाधिवेशन राष्ट्रिय निर्वाचनपछि वैशाखमा गरौं। त्यो कार्यतालिका बरू अहिलेकै केन्द्रीय समितिबाट प्रकाशित गरेर जाऔं। जसलाई महाधिवेशन समयमै हुँदैन कि भन्ने आशंका छ, उहाँहरू नै जिम्मेवारीमा हुनुहुन्छ।
तर अब त मंसिरभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनुपर्छ भन्ने मत पनि छ पार्टीभित्र। हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूले दबाबमूलक अभियान चलाउने तयारी गरेको सुनिन्छ?
विशेष महाधिवेशनले पार्टीलाई कमजोर गराउँछ भन्ने लाग्छ। कोविरूद्ध दबाबमूलक अभियान चलाउने? कसलाई दबाब दिने?
सभापतिज्यूले स्वास्थ्य लगायत कारणले महाधिवेशन तयारी तपाईंहरू नै गर्नुहोस् भनेर जिम्मेवारी दिइसक्नुभएको छ। कार्यवाहक सभापति हुनुभएका उपसभापतिजीले महामन्त्रीहरूसँग मिलेर काम गर्दै आउनुभएको छ। भनेपछि समस्या कहाँ भयो, कसले रोकेको छ?
मंसिरमै महाधिवेशन गर्ने भनेर भन्नका लागि भन्ने हो भने ठिकै छ। तर गर्ने नै हो भने त्यसको तयारीका लागि न्यूनतम समय त चाहिएला नि! हामीकहाँ फन्डा धेरै भयो, कामभन्दा। काम गरौं भन्ने हाम्रो भनाइ हो। काम गरेर सक्ने भए मंसिरमा महाधिवेशन गर्न हुँदैन भन्ने हाम्रो पनि भनाइ होइन। तर क्रियाशील सदस्यता लगायत कारणले मंसिरमा महाधिवेशन गर्न सकिँदैन। क्रियाशील सदस्यता नवीकरण र नयाँ बाडेर, छानबिन गरेर टुंगो लगाउनुपर्छ। क्रियाशील टुंगिएपछि त महाधिवेशन गर्न समय लाग्दैन।
फागुन २१ को चुनावमा फ्रेस म्यान्डेट लिएर जानुपर्छ भन्ने मत पनि छ नि पार्टीभित्र?
फ्रेस म्यान्डेट भनेको के हो? महामन्त्रीहरू र शेखर कोइराला फ्रेस हो भन्दै हुनुहुन्छ। फ्रेस म्यान्डेटबाट कोही लुकेका व्यक्ति छन् भने बताउनुपर्यो, होइन भने उहाँहरू नै अहिले पार्टीको सत्तामा हुनुहुन्छ।
उहाँहरूले अब आउने हामी नै हौं भनिरहनुभएको छ। फ्रेस म्यान्डेट उहाँहरू हो भने अहिले नै उहाँहरू जिम्मेवारीमा हुनुहुन्छ त। भोलि निर्वाचन अभियानमा उहाँहरूको फेस देखाएर गए भइहाल्यो नि! हामी हो पार्टी हाँक्ने भनेर। क–कसको फेस देखाउँदा गाह्रो भयो, उनीहरूलाई नजाऊ भने भइहाल्यो।
चुनावअघि प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जाने केही तयारी छ र?
कसैलाई व्यक्तिगत रूपमा मेरो नाम घोषणा गरेर गइदिए हुन्थ्यो भन्ने लागेको हुन सक्छ। तर पार्टी भनेको कसैको अनुहार देखाएर होइन, सामूहिक प्रयासबाट परिणाम निकाल्ने संस्था हो। सबै मिलेर गयो भने परिणाम आउँछ, मिल्न सकेन भने आउँदैन।
त्यसैले यहाँ अनुहारको केही कुरा छैन। मेरो अनुहार देखाउँदा मत बढी आउँछ भन्ने कसैलाई लाग्यो भने चुनावी अभियान लिएर गए भयो त। कि हामी नेतृत्वमा आए हामीले भनेका कुरा मात्र गर्थ्यौं भन्ने साथीहरूलाई लागेको हो कि!
जिल्ला–जिल्लामा जसले काम गरेको छ, उसले टिकट पाउने र जित्ने होला। पार्टीको नाम मात्रले पनि जित्ने होइन, कसैको केन्द्रमा फलानो अनुहार छ भनेर पनि जित्ने त होइन। स्थानीय तहमा काम गरेका साथीहरूलाई टिकट दिने हो। काम गरेकाहरूलाई रोक्ने कुरै छैन। हाम्रो भनाइ पार्टीलाई नै केन्द्रविन्दुमा राखौं, यहाँ कोही व्यक्ति प्रधान छैन भन्ने हो।
***