राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक २२ भित्रै समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने भएको छ।
गत कात्तिक ९ र ११ गते बसेको सचिवालय बैठकले आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका लागि उम्मेदवारी आह्वान गर्न लागेको प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
‘आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रीत तयारीहरूको क्रममा समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्तावेजहरूबारे छलफल गरियो। २०८२ कात्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आब्हान गर्ने निर्णय गरियो,’ उनले भने।
यस्तै रास्वपाले मतदाता नामावली दर्ता सहजीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए।
‘निर्वाचन आयोगले मतदाता नामावली दर्ताको लागि यहि कार्तिक मसान्त सम्मको लागि समयसिमा तोकेको र देशभर धेरै नवयुवा लगाएत नागरिकहरुको मतदाता नामावलीमा दर्ता नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि नवयुवा एवं आम नागरिकलाई सहजीकरण गर्नका लागि पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यहि कात्तिक ११ देखि २५ गते सम्म सञ्चालन गर्ने निर्णय गरेका छौं,’ उनले भने।
पार्टी सचिवालय सदस्य गणेश पराजुलीले पार्टीको केन्द्रीय अभियान तथा प्रचारप्रसार विभागसँगको समन्वयमा अभियानको संयोजन गर्ने पनि उनले बताए।