नेपाली कांग्रेसमा मंसिरभित्रै १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने वा महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएर मागेअनुसार विशेष महाधिवेशनमा जाने भन्ने विषय पेचिलो बन्दै गइरहेको छ।
महाधिवेशनसहित १० एजेन्डामाथि छलफल गरी निर्णय लिन बोलाइएको केन्द्रीय समिति बैठक असोज २८ देखि सुरू भए पनि बीचका केही दिन स्थगित रह्यो। भोलि बिहीबारदेखि केन्द्रीय कार्यालयमा पुन: केन्द्रीय समिति बैठक बस्दैछ।
भोलिदेखि सुरू हुने केन्द्रीय समितिमा १५ औं महाधिवेशन कार्यतालिका ल्याउने पक्षमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छन्।
महामन्त्रीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई नहेप्न र १५ औं महाधिवेशन नगर्ने हो भने विधानअनुसार विशेष महाधिवेशनमा जान सकिनेसमेत बताइरहेका छन्।
यो कुरा उनीहरूले सभापति शेरबहादुर देउवा र कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई पनि भनिसकेका छन्। थप उपचारका लागि सिंगापुर जानुअघि सभापति देउवाले पार्टीका शीर्ष तहका नेताहरूसँग कुराकानी गरेका थिए।
स्रोतका अनुसार महामन्त्रीद्वयले जारी केन्द्रीय समिति बैठकबाट समयमै महाधिवेशन हुने गरी कार्यतालिका नल्याउने हो भने विशेष महाधिवेशनको प्रक्रिया आफूहरूले थाल्ने चेतावनी दिएका छन्।
केन्द्रीय समितिमा बहुमतले निर्णय गरेर चुनावअघि महाधिवेशन नगर्ने दिशामा संस्थापन पक्ष अघि बढेको खण्डमा आफूहरूले महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर रुझु गरेर विशेष महाधिवेशनको प्रक्रिया सुरू गर्ने पनि उनीहरूले बताएका छन्।
सभापति देउवा पक्षका नेताहरूले मंसिरभित्रै महाधिवेशन गर्न क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका गर्न समय नपुग्ने दाबी गर्दै फागुन २१ को चुनाव सकेर वैशाखमा मात्रै महाधिवेशन गर्न सकिने अडान राखिरहेका छन्।
महामन्त्री थापा र शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने नत्र विशेष महाधिवेशनमा जानुपर्ने भनेका छन्।
महामन्त्री थापाले ढिलोमा पुसको पहिलो साताभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका नै केन्द्रीय कार्यसम्पादन समितिमा पेस गरेका थिए। सभापति देउवा पक्ष उक्त कार्यतालिकामा सहमत नहुँदा केन्द्रीय समितिमा भने त्यो कार्यतालिका पेस हुन सकेको छैन।
सभापति देउवा पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले भने मंसिरमा नियमित वा विशेष कुनै पनि महाधिवेशन सम्भव नभएको बताउन थालेका छन्। उनीहरू फागुन २१ को चुनावपछि वैशाखमा मात्रै १५ औं महाधिवेशन गर्न सकिनेमा छन्।
प्रवक्ता प्रकाशशरण महतले महाधिवेशन तयारीका लागि न्यूनतम समय राखेर कार्यतालिका ल्याउन सकिने बताए।
‘मंसिरमै महाधिवेशन गर्ने भनेर भन्नका लागि भन्ने हो भने ठिकै छ तर गर्ने नै हो भने त्यसको तयारीका लागि न्यूनतम समय त चाहिन्छ। हामीकहाँ फन्डा धेरै भयो, कामभन्दा। काम गरौं भन्ने हाम्रो भनाइ हो। काम गरेर सक्ने भए मंसिरमा महाधिवेशन गर्न हुँदैन भन्ने हाम्रो पनि भनाइ होइन। तर क्रियाशील सदस्यता लगायत कारणले मंसिरमा महाधिवेशन गर्न सकिँदैन,’ सेतोपाटीसँगको कुराकानीमा प्रवक्ता महतले भने, ‘क्रियाशील सदस्यता नवीकरण र नयाँ बाडेर, छानबिन गरेर टुंगो लगाउनुपर्छ। क्रियाशील टुंगिएपछि त महाधिवेशन गर्न समय लाग्दैन।’
उनले फागुन २१ को चुनावमा पार्टी सम्पूर्ण रूपले होमिनुपर्ने बताए।
‘त्यसैले हाम्रो धारणा के हो भने- अहिलेलाई राष्ट्रिय निर्वाचनमा सम्पूर्ण तरिकाले होमिऔं, महाधिवेशन कार्यतालिका पनि अघि सारौं, अभियानहरू पनि लैजाऔं। सँगसँगै, महाधिवेशन कार्यतालिका पनि तय गरौं र महाधिवेशन राष्ट्रिय निर्वाचनपछि वैशाखमा गरौं। त्यो कार्यतालिका बरू अहिलेकै केन्द्रीय समितिबाट प्रकाशित गरेर जाऔं। जसलाई महाधिवेशन समयमै हुँदैन कि भन्ने आशंका छ, उहाँहरू नै जिम्मेवारीमा हुनुहुन्छ।’
महामन्त्रीद्वय र विशेष महाधिवेशन माग गरेका कांग्रेसका देशभरिका कैंयन नेता-कार्यकर्ताले भने जेनजी आन्दोलन पछिको राजनीतिक परिदृश्यमा कांग्रेस पुरानै नेतृत्वलाई काँधमा राखेर चुनावमा जान नसकिने बताएका छन्।
अब कांग्रेसले महाधिवेशन गरेर राजनीतिक सुधारका नयाँ एजेन्डा र नयाँ नेतृत्व लिएर निर्वाचनमा जानु पर्ने उनीहरूको धारणा छ।
महाधिवेशनबाट चुनिएर आएको फ्रेस नेतृत्व र प्रष्ट नीतिसहित पार्टीलाई अघि बढाउन महाधिवेशन गर्नैपर्ने आवाज उठेको छ।
मंसिरभित्रै नियमित महाधिवेशन नगरे त्यसपछि विशेष महाधिवेशन प्रक्रिया सुरू गर्नुपर्ने माग महाधिवेशन प्रतिनिधिहरूको छ।
असोज २९ गते २४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नियमित महाधिवेशन गर्न सकिए विशेष महाधिवेशन माग गर्नेहरूको भावना सम्बोधन हुनेमा विश्वस्त छन् तर नियमित महाधिवेशन कहिले गर्ने भन्नेमा खड्काले मुख खोलेका छैनन्।
मंसिरभित्रै १५ औं महाधिवेशन गर्ने सुनिश्चिततासहित कार्यतालिका ल्याउनुपर्ने कुरामा महामन्त्रीद्वय थापा र शर्मा अडिग छन् भने सभापति देउवा पक्षका नेताहरू चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा रहँदा यो केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गराउन कार्यवाहक सभापति खड्काले धेरै पापड पेल्नुपर्ने देखिन्छ।
यसरी कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै गएपछि कार्यवाहक सभापति खड्काले आज संस्थापन पक्षका नेताहरू र महामन्त्रीद्वयसहित केही पदाधिकारीहरूसँग अलगअलग रूपमा छलफल गर्दैछन्। कार्यवाहक सभापति भएदेखि नै खड्काले सभापति देउवानिकट नेताहरूसँग पनि संवाद गर्दै आइरहेका छन्।
नेता शेखर कोइराला पनि मंसिरभित्रै महाधिवेशन हुनुपर्ने पक्षमा अडिग छन्।
उनीपक्षका महाधिवेशन प्रतिनिधिहरू भने बाँडिएका छन्, कसैले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरे त कसैले गरेनन्।
शेखर पक्षका केही नेताहरूले कार्यवाहक सभापति खड्कालाई हिजो मंगलबार भेटेर मंसिरभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन र नल्याए यो केन्द्रीय समिति विघटन गर्न माग गरेका थिए।
यस्तो अवस्थामा कार्यवाहक सभापति खड्काले संस्थापन र संस्थापनइतर पक्षका नेताहरूसँग अनौपचारिक छलफल गर्न लागेका हुन्।
भोलिदेखि केन्द्रीय समिति बैठक रहेकोले उक्त बैठकबाट महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने दबाबबीच खड्काले नेताहरूसँग परामर्श गर्न लागेका हुन्।
नेता प्रदीप पौडेलले ढिलोमा पुसभित्रै महाधिवेशन गर्नुपर्ने बताएका छन्। नत्र कांग्रेसमा जटिलता थपिने उनको भनाइ छ।
११ औं महाधिवेशनको उदाहरण प्रस्तुत गर्दै केन्द्रीय सदस्य पौडेलले दुई महिनाको तयारीले पनि महाधिवेशन गर्न सकिने बताए।
सभापति शेरबहादुर देउवा पक्षले मंसिरभित्रै महाधिवेशन गर्न समय नपुग्ने दाबी गरिरहेका बेला त्यसतर्फ लक्ष्य गर्दै पौडेलले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले दुई महिनाको तयारीमा ११ औं महाधिवेशन गरेको बताएका हुन्।
‘महाधिवेशन गर्न समय पुग्दैन भनेको सुनिन्छ, ११ औं महाधिवेशनम गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ६० दिनमा सम्पन्न गरिएको हो। त्यसबेला हिँडडुल गर्न पनि गाह्रो अवस्था थियो, आज त्यस्तो अवस्था पनि छैन,’ पौडेलले एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्।
२०६२ भदौ १ देखि ४ गतेसम्म कांग्रेसको ११ औं महाधिवेशन भएको थियो।
उनले वडादेखि केन्द्रसम्म पार्टीका सबै तहको अधिवेशन गर्न सके राम्रो हुने बताए।
‘यदि सबै तहको अधिवेशन गर्न सकिँदैन भने नीति र नेतृत्व प्रष्ट पार्न जुन-जुन तहको अधिवेशन आवश्यक पर्छ, त्यो गरौं,’ पौडेलले भने, ‘फागुन २१ भित्र नीति र नेतृत्व प्रष्ट बनाएर जान सके कांग्रेस लोकप्रिय पार्टी बन्न सक्छ।’
उनले ढिलोमा पुसभित्र नीतिगत स्पष्टता भएको कांग्रेस र प्रष्ट दृष्टिकोणसहितको नेतृत्व ल्याउन जरूरी रहेको बताए। ‘महाधिवेशन नगरे कांग्रेसमा जटिलता थपिन्छ,’ उनले भने।
कांग्रेसमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन गरेर कार्यवाहक सभापति खड्कालाई असोज २९ गते बुझाएका थिए।
महाधिवेशन प्रतिनिधिहरूको कार्यकाल सकिइसकेको भन्दै त्यस्तो हस्ताक्षरको अर्थ नहुने पूर्वउपसभापति विमलेन्द्र निधि लगायतले दाबी गर्दै आएका छन्।
तर पौडेलले विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने कुरा सम्झाएका छन्।
‘बहुसंख्यक महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्नुभएको छ। यसलाई सामान्य ढंगले लिन मिल्दैन। यो विधानमै व्यवस्था भएको विषय हो। विधानभित्र समावेश विषय लोकतान्त्रिक पार्टीले कार्यान्वयन नगर्न मिल्दैन,’ उनले भने।
कांग्रेस विधानमा महाधिवेशन प्रतिनिधिहरूको कार्यकालबारे प्रष्ट लेखिएको छैन।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म महाधिवेशन भएकोले अर्को महाधिवेशन नहुँदासम्म महाधिवेशन प्रतिनिधिको कार्यकाल रहने अभ्यास छ। विगतमा सभापति देउवाले एक वर्ष कार्यकाल थप गर्दा पनि पार्टीका सबै तहका संरचनाको कार्यकाल स्वत: थपिएको थियो।
विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन अभियान लागेका नेता देवराज चालिसेले अहिलेको समस्याको समाधान खोज्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन्।
‘कुनै समयमा सत्ता र शक्तिको आशक्तिका कारण पार्टी फुटेको दुःखद घटनालाई स्मरण गर्दै हरेक कार्यकर्ता यसलाई बिर्सन चाहन्छन्। त्यसैले इतिहास दोहोरिँदैन, इतिहासबाट शिक्षा लिने हो। कांग्रेसभित्र समयमै अधिवेशन हुनुपर्छ भन्ने आवाज शसक्त र सुदृढ कांग्रेस निर्माणका लागि हो। पार्टीको एकताबाट मात्र यो सम्भव हुन्छ। हस्ताक्षर रहर होइन, केन्द्र आफैंले सिर्जना गरेको परिस्थितिको उपज हो,’ उनले भने, ‘हस्ताक्षर गर्ने र नगर्ने सबै पार्टीका सम्मानित र जिम्मेवार सदस्य हुन्। एजेन्डाका कारण ५४ प्रतिशत र ४६ प्रतिशतलाई विभाजित दृष्टिकोणले हेर्नु उचित हुँदैन, यो पार्टी फुट्ने आधार पनि होइन। कांग्रेस भनेकै १०० प्रतिशत कार्यकर्ताको शक्ति हो, आफ्नो घर हो, पहिचान हो, धरोहर हो।’
उनले हस्ताक्षरकर्ताहरू पार्टीको सर्वोच्च निकायका जिम्मेवार सदस्यहरू रहेको बताए।
‘यही जिम्मेवारीबोधका कारण विशेष परिस्थितिमा पार्टीको पुनर्निर्माण र सुदृढीकरणका लागि महाधिवेशन माग गरेका हुन्। नियमित होस् वा विशेष, केन्द्र आफैले आह्वान गरोस् वा हस्ताक्षरबाट बोलाइएको होस्— महाधिवेशन अपरिहार्य छ र यो मंसिरभित्रै हुनुपर्दछ,’ उनले भने, ‘पार्टी विधानको १७(२) अनुसार माग गरिएको हस्ताक्षर, १७ (१) बाट निर्देशित अभियान होइन र यसको सीमिततामा व्याख्या नगरियोस्। हस्ताक्षर महाधिवेशन प्रतिनिधिहरूको अन्तरआत्माको आवाज हो। यसलाई होच्याउने वा अपमान गर्ने कार्य निन्दनीय छ। भोलि हाम्रो मत पनि चाहिएला, यो दिन सम्झन नपरोस्। नेताहरू जिम्मेवार बन्नुहोस्, संयमता देखाउनुहोस्।’