भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गरी संसद विघटन गराउनसमेत सफल भएका युवाहरू पहिलो पटक राजनीतिक दलका नेताहरूसँग औपचारिक रूपले आमनेसामने भएका छन्।
प्रधानमन्त्री सुशीला कार्की र अन्य मन्त्रीको रोहवरमा जेन-जी युवाहरूले बुधबार साँझ प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसँग पहिलो वार्ता गरेका हुन्।
प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको वार्तामा जेन-जी युवाहरूका तर्फबाट १४ जना र राजनीतिक दलहरूका तर्फबाट १५ जना नेता सहभागी थिए।
दुई घन्टाभन्दा बढी चलेको वार्तामा के के विषयमा कुराकानी भए भनेर हामीले दुई जना जेन-जी प्रतिनिधिलाई सोधेका छौं।
उनीहरूले मुख्य गरी चारवटा विषयमा छलफल भएको जानकारी दिए —
पहिलो, जेन-जी आन्दोलनलाई संस्थागत गर्न राष्ट्रपतिसँग सम्झौता हुनुपर्छ
जेन-जी मुभमेन्ट अलायन्सकी प्रतिनिधि मोनिका निरौलाका अनुसार यो आन्दोलनलाई संस्थागत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्झौता हुनुपर्ने कुरा बैठकमा उठेको थियो।
'आन्दोलनलाई संस्थागत गर्न सम्झौता अपरिहार्य छ। त्यसका लागि ढिला नगरी सम्झौता गर्नुपर्यो भन्ने कुरा आयो,' उनले भनिन्।
सम्झौतामा राष्ट्रपति पौडेल र जेन-जी प्रतिनिधिहरूले हस्ताक्षर गर्ने र राजनीतिक दलका प्रतिनिधिहरू साक्षी बस्नुपर्ने धारणा बैठकमा सहभागी जेन-जी युवाहरूले राखेका थिए।
'हाम्रो आन्दोलनलाई अहिलेको सरकारले मात्र नभएर भावी सरकारले पनि वैधता दिने र त्यसको मर्मले निरन्तरता पाउने गरी संस्थागत गर्न राष्ट्रपति पौडेलसँग औपचारिक सम्झौता हुनुपर्छ भन्ने कुरा हामीले राख्यौं,' उनले भनिन्।
दोस्रो, सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह
जेन-जी प्रतिनिधिहरूले फागुन २१ गतेका लागि घोषित निर्वाचन सफल बनाउन सबै राजनीतिक दलका नेताहरूसँग सहयोगको अपेक्षा राखेका छन्।
'सबै राजनीतिक दलले चुनावमा जानुपर्छ भन्ने धारणा राख्नुभयो। तपाईंहरूले उठाएका कुरा जायज हुन् भन्नुभयो,' निरौलाले भनिन्, 'नेकपा एमाले बाहेक सबै दलले शान्ति सुरक्षा कायम हुँदा, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा चुनावमा भाग लिन प्रतिबद्ध छौं भन्नुभयो।'
एमाले नेताहरूले भने विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरी जेन-जी प्रतिनिधिहरू समेतलाई समेटेर माग सम्बोधन गर्ने धारणा राखेको उनले बताइन्।
तेस्रो, संसदको आवश्यकता भएकैले चुनावमा जान जोड
कोशी प्रदेशका जेन-जी प्रतिनिधि उपार्जुन चाम्लिङले संसदको आवश्यकता अपरिहार्य भएकैले फागुन २१ गते चुनाव गरेर नयाँ संसद स्थापना गर्नुपर्नेमा जोड दिएका थिए।
एमालेले जेन-जीका माग पूरा गर्न संसद पुनर्स्थापना हुनुपर्ने धारणा राखेपछि चाम्लिङले उक्त कुरा बताएका हुन्।
उनले छलफलको आखिरीमा केही मिनेट समय मागेर भनेका थिए, 'आजभन्दा केही वर्षअघि एउटा दल थियो। त्यसले एक वर्षको अन्तरालमा दुईचोटि संसद विघटन गरेको थियो। त्यो दलको नाम कसैले भनिदिनुभयो भने बहस गर्न मजा आउँछ होला।'
संसद पुनर्स्थापनाबारे उनले भने, 'संसदको आवश्यकता भएर नै फागुन २१ गते चुनाव तोकिएको हो।'
चौथो, २०८४ को चुनाव र फागुन २१ को चुनावमा फरक छ
बैठकमा सहभागी कतिपय नेताले २०८४ मा हुने चुनावलाई दुई वर्ष अगाडि सार्दा के फरक पर्ला भन्ने जिज्ञासा राखेका थिए।
यसमा जबाफ दिँदै चाम्लिङले भने, 'अब आउने चुनाव धेरै हिसाबले फरक छ। हजुरबाको ठाउँमा अब नाति आउँछ। नातिले उमेरको हिसाबले मात्र होइन, भिजन, विचार र एजेन्डाको हिसाबले पनि नाति पुस्ताकै प्रतिनिधित्व गर्छ। अबको संसदमा परिवर्तनको व्यग्र प्रतीक्षामा बसेकाहरू आउँछन्।'
उनले एमाले प्रतिनिधिलाई संकेत गर्दै भने, 'तपाईंहरूलाई यसमा शंका छ भने तपाईंहरू दुईवटा कुरा भनिरहनुभएको छ — एउटा, तपाईंहरूसँग योग्य परिवर्तनकारी उम्मेदवारहरू छैनन् र अर्को, भए पनि चुनाव जित्ने ग्यारेन्टी छैन।'
यो जबाफ सुनेपछि दलका केही नेताले हाँसोसहित ताली बजाएर समर्थन गरेको चाम्लिङले जानकारी दिए।
पाँचौं, राजनीतिक दलहरूमा पनि जेन-जीको खोजी
अर्का जेन-जी प्रतिनिधि पुरूषोत्तम यादवले हरेक राजनीतिक दलबाट जेन-जी पुस्ता अगाडि आउनुपर्ने कुरा आफूहरूले उठाएको बताए।
'हामीले राजनीतिक दलहरूभित्रै पनि जेन-जी पुस्तालाई अघि सार्नुपर्छ भनेर भन्यौं,' उनले भने, 'आज पार्टीका दोस्रो र तेस्रो तहका नेताहरूसँग कुराकानी भएर होला, एकदमै सौहार्द्ध कुरा भयो।'
उनले अगाडि भने, 'हामीले तपाईंहरूको दललाई पनि सुधार गर्नुस्, दलभित्रै जेन-जी पुस्ताको प्रतिनिधित्व हुने गरी विधानहरू संशोधन गर्नुस् भन्यौं।'
वार्तामा जेनजी समूहबाट मोनिका निरौला, रक्षा बम, पुरूषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक ढकाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल, रिजन रानामगर सहभागी थिए।
***