अमेरिका र चीनले एक वर्षका लागि व्यापार युद्धविराम गरेका छन्।
बिहीबार दक्षिण कोरियामा दुई देशका राष्ट्रपतिबीच भएको छलफलपछि एक वर्षका लागि व्यापार युद्धविराम गर्ने सहमति भएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
त्यो भनेको चीनले एक वर्षसम्म अमेरिकामा दुर्लभ खनिज निर्यात खुकुलो बनाउने सहमति भएको र अमेरिकाबाट कृषि उत्पादन र आधुनिक चिप्स चीन निर्यात गर्ने सहमति भएको जनाइएको छ।
त्यस्तै अमेरिकाले चीनमाथि लगाउँदै आएको भन्सार दर १० प्रतिशतले घटाउने घोषणा ट्रम्पले गरिसकेका छन्।
एयरफोर्स वानमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले एक वर्षका लागि त्यस्ता खनिज निर्यातमा कडाइ नगर्ने सम्झौता भएको र त्यो सम्झौता बर्सेनि नवीकरण गर्दै लगिने पनि बताएका छन्।
ट्रम्पले प्राविधिक वस्तुमात्र नभई कृषि उपज पनि ठूलो मात्रामा चीन निर्यात हुने बताए।
'अब किसानहरू खेत र ट्याक्टर किन्न जाँदा हुन्छ। धेरै उत्पादन गरी धेरै निर्यात गर्नुपर्ने छ,' ट्रम्पले भने।
६ वर्षपछि ट्रम्प र सी आमनेसामने भएका हुन्। ट्रम्पले यो भेटवार्तालाई उत्कृष्ठ भनेका छन्।
'यदि १० उत्कृष्ट अंक हो भने, यो बैठकलाई म १२ अंक दिन्छु,' उनले भने, 'हामीले उत्कृष्ट निर्णयहरू गरेका छौँ, छिट्टै औपचारिक व्यापार सम्झौता हस्ताक्षर हुनेछ।”
सम्झौताअनुसार दुबै देशले कृषि व्यापार विस्तार, फेन्टानिल नियन्त्रणमा सहकार्य, र अमेरिकी स्वामित्वको माग गरिएको टिकटक विवाद समाधान गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
चीनको वाणिज्य मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिकी बन्दरगाह शुल्क एक वर्षका लागि रोक्ने र चीनले पनि त्यसको जवाफी कदम स्थगित गर्ने उल्लेख छ।
पिपुल्स डेलीले राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै लेखेको छ- 'व्यापार सम्बन्धलाई द्विपक्षीय सम्बन्धको आधार बनाउनु पर्छ, विवादको कारण होइन।' राष्ट्रपति सीले आपसी प्रतिशोधको दुष्चक्र टार्न दुबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएका छन्।
ट्रम्प र सीबीच दक्षिण कोरियाको बुसानमा करिब ९० मिनेट छलफल भएको थियो।
छलफल क्रममा सीले विश्वका दुई ठूला अर्थतन्त्रबीच कहिलेकाहीं मतभेद हुनुलाई स्वाभाविक भनेका थिए। तर ती मतभेदलाई व्यवस्थापन गर्न सकिने बताउँदै सीले व्यापारिक सम्बन्धलाई स्थायी बनाउनुपर्ने बताए।