नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको केन्द्रीय कार्यसमितिको म्याद थप गर्न चाहनेहरू विशेष महाधिवेशन गर्न तयार रहनुपर्ने बताएका छन्।
यो केन्द्रीय कार्यसमितिको म्याद केन्द्रीय समितिले थप गरेका खण्डमा महाधिवेशन प्रतिनिधिहरूको पनि म्याद थपिने र विधानको धारा १७ को २ अनुसार विशेष महाधिवेशन कसैले नचाहे पनि हुने उनको जिकिर छ।
‘केन्द्रीय समितिले म्याद एक वर्ष थप गर्ने कुरा पास गर्यो भने केन्द्रीय कार्यसमितिको मात्र होइन, महाधिवेशन प्रतिनिधिको पनि म्याद थपिन्छ नि,’ बिहीबार सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले भने, ‘महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको अवस्था छ, एक वर्ष म्याद थपेपछि विशेष महाधिवेशन त गर्नुपर्ने हुन्छ किनकि विधानले विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ। कसैले नमानेर पाइँदैन, विशेष महाधिवेशन बाध्यकारी छ। विशेष महाधिवेशन मान्दिनँ, केन्द्रीय समितिको एक वर्ष म्याद थप्छु भनेर त मिल्दैन।’
उनले पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने पनि बताए। फागुन २१ को चुनावमा जानुअघि नियमित महाधिवेशन गरेर जानुपर्ने उनको भनाइ छ।