नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो।
अब आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ।
शुक्रबार बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर महाधिवेशन कार्यतालिका पेस गर्न समय पाउनुपर्ने बताएका थिए।
आजकै केन्द्रीय समिति बैठकबाट महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने उनीहरूको भनाइ थियो।
महामन्त्री विश्वप्रकाश शर्माले मंसिरमा महाधिवेशन गर्न भ्याइन्न भन्ने लाग्छ भने पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने कुरा कार्यवाहक सभापति खड्कालाई राखेका थिए। त्यसमा अर्का महामन्त्री थापाले सहमति जनाएका थिए।
तर आज पनि महाधिवेशन कार्यतालिका ल्याउन नपाउने हो भने आफू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने कुरा महामन्त्री थापाले कार्यवाहक सभापति खड्कालाई सुनाएका थिए।
कार्यवाहक सभापति खड्काले आफू नियमित महाधिवेशन गर्ने पक्षमा रहेको र सबैसँग छलफल गर्न एक दुई दिन समय आवश्यक पर्ने कुरा गरेका थिए।
सभापति शेरबहादुर देउवा पक्षका नेताहरू फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने पक्षमा छैनन्।
तर महामन्त्रीद्वय तथा नेता शेखर कोइराला चुनावअघि महाधिवेशनका पक्षमा छन्। नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनमा जानुपर्ने महामन्त्रीद्वय छन्।
महाधिवेशन कार्यतालिका विवादले केन्द्रीय समिति बैठक स्थगित भएको हो। अब नेताहरूबीच संवाद गरेर सहमतिमै महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा नेताहरू छन्।