नुवाकोट र धादिङका स्थानीय बासिन्दाहरूले काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा क्षेत्रमा फाल्नै नदिने गरी आन्दोलन सुरू गरेका छन्।
उनीहरूले बञ्चरेडाँडा क्षेत्रमा संघीय सरकारले बनाएको दीर्घकालीन ल्याण्डफिल साइट सदाका लागि बन्द गराउने चेतावनी दिएका हुन्।
काठमाडौं महानगरसहित काठमाडौं, भक्तपुरका स्थानीय तहहरूले फोहोर व्यवस्थापनमा चरम लापरवाही गरेको र स्थानीयको माग पूरा गर्नसमेत उदासीन रहेकाले बञ्चरे डाँडा क्षेत्रले ‘अब अति नसहने’ नुवाकोट ककनीका श्रीराम ढुंगानाले बताए। ढुंगाना पटक पटक संघर्ष समिति बनाएर आन्दोलित छन्। यसपटकको आन्दोलन भने कुनै संघसंस्थाको ब्यानरमुनि नभई स्थानीयको स्व:स्फुर्त रहेको उनले बताए।
बञ्चरेडाँडावासी चार दिनदेखि आन्दोलनमा छन्। उनीहरूले मंगलबारदेखि नै काठमाडौंबाट गएका फोहोरका कन्टेनर फर्काइदिएका थिए। फोहोर व्यवस्थापन हुन नसकेपछि काठमाडौं महानगरले सूचना जारी गर्दै घरभित्रै फोहोर राख्न र सडकमा नल्याउन सूचना जारी गरेको छ।
ढुंगानाले काठमाडौं महानगरसहित काठमाडौं र भक्तपुरका स्थानीय तहहरूलाई अप्ठ्यारो पार्न नखोजेको, सिसडोल, बञ्चरेडाँडा, धुनीबेसीसम्मका नागरिकहरूको जीवनरक्षाको प्रश्न अहम् बनेको बताए।
-1761909158.jpg)
‘गाउँभरि क्यान्सर रोगी छन्। स्वासप्रस्वासम्बन्धी बिरामी थपिएका थपियै छन्। ल्यान्डफिल साइट वरपरका जग्गाजमिनमा कमाइ हुन छाडिसक्यो। गाउँभरि कुकर, चिल–गिद्धको आतंक छ,’ ढुंगानाले सेतोपाटीसँग भने, ‘यी हाम्रा दुःख कतिञ्जेल सुनाइरहने? एउटै कुरा पटकपटक कतिञ्जेल उठाइरहने? महानगर लगायत संघीय सरकारसँग कतिञ्जेल संघर्ष गर्ने!’ 
उनले नुवाकोट ओखरपौवादेखि, धादिङ धुनीबेसीसम्मका नागरिक एक हजारपटक आन्दोलित भएको र त्यति नै पटक सहमति भएको भन्दै काठमाडौं महानगरपालिकाको नेतृतवमा बालेन शाह निर्वाचित भए पनि पनि आधा दर्जन बढीपटक फोहोर व्यवस्थापनबारे संघर्ष भएको सुनाए।
बालेन शाह मेयर भएपछि आफूहरू आशावादी भएर नेतृत्वलाई सघाउन सहमति गरेको तर उनले पनि पुरानै नेतृत्वको शैली अपनाएको बताए।
-1711969665.jpg)
‘हाम्रा धेरै कुरा छैनन्। बञ्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रलाई मानवरहित बनाउने हाम्रो माग हो। बञ्चरेडाँडाँ क्षेत्रमा निश्चित परिधि तोकेर मध्यवर्ती क्षेत्र तोक्ने, त्यहाँको मानव बस्ती हटाउने, त्यहाँको जग्गा जमिन उचित मुआब्जा दिएर अधिग्रहण गर्ने, फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने, फोहोरको वर्गीकरणसहित वैज्ञानिक व्यवस्थापन गर्ने, कोल्पु खोलालाई जीवनदान दिने हाम्रो मुख्य सरोकारका विषय हुन्,’ उनले भने, ‘पटक पटकका संघर्ष, सरकारसँगको मुकाबिलाबाट हामीले राज्यलाई यसप्रति संवेदनशील बनाएका थियौं। सरकार परिवर्तन र महानगरको नेतृत्वको उदासीनताले हाम्रो ठाउँ क्रमशः विषाक्त, रोगको घर र दुर्गन्धको साम्राज्य बन्यो। हामीले उठाएका कुनै पनि माग पूरा भएनन्।’

उनले काठमाडौंको फोहोर व्यवस्थापनमा अहिलेको सरकार, काठमाडौं उपत्यकाका स्थानीय तहहरू संवेदनशील बनेको हो भने माथिका मागहरू पूरा गर्नुको विकल्प नभएको बताए।
उनले बञ्चरेडाँडा ल्यान्डफिललाई मध्यविन्दु मान्ने र त्यसभन्दा २५०० मिटर वरपरको क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरेर अधिग्रहण गर्नु नै विकल्प रहेको बताए।
बञ्चरेडाँडाभन्दा करिब २ किलोमिटर वर सिसडोल क्षेत्रमा अग्लिएको फोहोरको चुली र त्यसले निम्त्याएको समस्याका कारण स्थानीय आन्दोलित भएका बेला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका भैरवबहादुर पन्त नेतृत्वको कार्यदलले २५०० मिटर वरपरको क्षेत्र बफर जोन बनाउनुपर्ने विकल्प अघि सारेको थियो। बञ्चरे क्षेत्रमा छुट्टै अध्ययन भएको छैन। बञ्चरे क्षेत्रका स्थानीय आन्दोलित भएपछि सहरी विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभागले बञ्चरे क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकनका लागि बोलपत्र आह्वान गरेको छ। तर मूल्यांकन भएको छैन।
काठमाडौं महानगर र तत्कालीन ललितपुर उपमहानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने गरी २०६२ साल जेठ ५ गतेदेखि नुवाकोटको सिसडोल क्षेत्रमा फोहोर लैजान थालिएको हो।
करिब २ लाख ७५ हजार मेट्रिक टन फोहोर व्यवस्थापन गर्ने सहमति त्यतिबेला भएको थियो। सुरूमा सिसडोलको आलेटार क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थालिएको थियो। उक्त स्थानमा अल्पकालीन ल्यान्डफिल साइट (जाइकाको प्राविधिक एवम् आर्थिक सहयोगमा) सेमी एरोबिक ल्यान्डफिल साइट) बनाइएको थियो। फोहोर कुहिएर बग्ने दुर्गन्धिन रसायन (लिचेड) बग्ने छुट्टै पोखरीसमेत बनाइएको थियो। उक्त पोखरीमा जम्मा भएको लिचेड प्रशोधन गरेर मात्रै कोल्पु खोलामा खसाल्ने प्रबन्ध पनि थियो।
तर फोहोको परिमाणले पुरिँदै सिसडोलमा झन्डै दुई सय मिटर फोहोरको पाहाड बन्यो। त्यहाँ काठमाडौं महानगरसहित काठमाडौं, भक्तपुर, ललितपुर र बनेपासम्मको फोहोर व्यवस्थापन गर्ने गरिएको थियो। नुवाकोटमा मात्रै पर्ने उक्त क्षेत्रमा २०७९ जेठ सम्म फोहोर व्यवस्थापन गरिएको थियो।
त्यसपछि झन्डै दुई अर्बको लागतमा संघीय सरकारले बञ्चरेडाँडा क्षेत्रमा बनाएको दीर्घकालीन ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुँदै आएकामा त्यहाँ पनि सिसडोलकै तौरतरिका दोहोर्याइएको ढुंगानाले बताए। बञ्चरेडाँडा ल्यान्डफिल साइट चाहिँ नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिकाको सिमानामा पर्छ।
‘फोहोर नफाल्नुहोुस् भन्दा राजनीति गरेको आरोप लगाउँछन्। हाम्रो धुरीमा चिलले सिनो ल्याउँछ। कुकुर बाटैभरि फोहोर ल्याउँछन्। आँगनमा, मझेरीमा फोहोर छ। खाँदाखाँदैको भागमा फोहोर खस्छ। कुकर, झिँगाहरूको आतंक छ। कोल्पु खोलामा कालो लेदो बग्छ,’ उनले भने, ‘अब तपाईंहरू नै भन्नुहोस्– हामी फोहोरको थुप्रोमाथि कसरी बसौं। कि बञ्चरेडाँडावासी फोहोरकै थुप्रामा बस्नुपर्ने हो?’

बञ्चरेडाँडा क्षेत्रमा दीर्घकालीन ल्यान्डफिल साइट बनाइए पनि त्यहाँ वर्गीकरण (कुहिने र नकुहिने फोहोर छुट्टयाउने विधि) नगरी एकै ठाउँमा व्यवस्थापन गरिएको उनले बताए।
बञ्चरेडाँडा ल्यान्डफिल साइटको दक्षिणतर्फ दुइटा लिचेड पोखरी बनाइएको छ। अहिले त्यो भरिभराउ छ। त्यहाँबाट निकास भएको लिचेड सीधै कोल्पुखोलामा मिसिन्छ। जुन त्रिशूली नदीको शाखा नदी पनि हो। कोल्पुको पानी शुद्धीकरणका लागि मेयर बालेन शाहले एकपटक अध्ययनसमेत गराएका थिए, नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिमार्फत्। तर त्यो प्रयासले पनि सार्थकता पाउन सकेन।
-1711969298.jpg)
‘सिसडोलको फोहोरको थुप्रोबाट चुहिएको लिचेड र बञ्चरेडाँडाको लिचेडले कोल्पु मरेसरह छ। त्यहाँको पानी शुद्धीकरणको कुनै प्रयास भएको छैन। त्यस खोलाको पानी लगाउँदा खेतबारीमा लगाइएको बाली नै मर्छ,’ उनले भने।
उनका अनुसार फोहोर व्यवस्थापनमा स्थानीयले गरेको अवरोध खुलाउन अहिले सहरी विकास मन्त्रालयमा छलफल जारी छ। धादिङका प्रमुख जिल्ला अधिकारीले बिहीबार अत्यावश्यक सेवा सञ्चालनमा अवरोध नगर्न भन्दै स्थानीयलाई वार्तामा बस्न आग्रह गरेका थिए। संघीय सरकारको पनि चासो रहेको छ।
नुवाकोट र धादिङका स्थानीय राजनीति दल यसपटक त्यहाँका स्थानीयको पक्षमा उभिएका छन्। संघर्षप्रति नैतिक समर्थन जनाएका छन्।
‘अतः सिसडोल र बञ्चेडाँडावासीले धेरै संघर्ष गरे, धेरै धरपकड खाए, रोगको कारखानामा बस्नुपर्यो, धेरैले अमूल्य जीवन पनि गुमाए, अब यो दशा धेरै लम्ब्याउनुहुँदैन, हामीले यसबाट मुक्ति पाउनैपर्छ,’ ढुंगानााले भने, ‘हामीलाई थाहा छ, हाम्रो यसपटकको संघर्ष अलि लामै जानेवाला छ। सरकारले बल प्रयोगको नीति लिनसक्छ। तर, हामी फोहोर रोकी छाड्छौं।’