नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिको यात्रालाई सुदृढ बनाउन सबै नेता–कार्यकर्तालाई फेरि एउटै छातामुनि एकत्रित हुन आह्वान गरेका छन्।
ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, 'निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा एमाले सधैं अग्रपंक्तिमा रह्यो। अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो।'
उनले नेकपा (एमाले) केवल राजनीतिक संगठन नभई जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार भएको उल्लेख गरेका छन्।
उनले भने, 'यो घर बनाउन तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेल यातना भोगे, कसैले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे।'
ओलीले लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको र राष्ट्रिय अस्तित्वमाथि खतरा उत्पन्न भएको बेला एमाले मौन रहन नसक्ने बताएका छन्।
उनले भनेका छन्, 'राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।'
यस क्रममा उनले विगतमा पार्टी निर्माणमा संलग्न भएका सबै नेता–कार्यकर्तालाई फर्किन आह्वान गर्दै भनेका छन्—
'जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।'
अन्त्यमा उनले सबै कार्यकर्तालाई कोही पनि अलमलमा नपरी निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न आग्रह गरेका छन्।
अन्तिममा उनले भनेका छन्- 'समृद्ध नेपाल, सुखी नेपाली हाम्रो साझा लक्ष्य हो।'