जेनजी आन्दोलनकी प्रतिनिधि रक्षा बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्टको घोषणा भएको छ।
शुक्रबार अनलाइनमार्फत देशका विभिन्न ठाउँमा रहेका जेनजी प्रतिनिधिहरूलाई समेटेर नेपाल जेनजी फ्रन्टको घोषणा भएको हो।
यसमा ३८ जना समेटेर संयोजन समिति गठन गरेको रक्षाले बताइन्।
'हामीले आज देशभरिका विभिन्न ठाउँमा बसेका प्रतिनिधिहरू समेटेर नेपाल जेनजी फ्रन्टको घोषणा गरेका छौं। यसमा महिला, विभिन्न संघसंस्था, शुभेच्छु, लैंगिक अल्पसंख्यक समुदाय समेतलाई समेटेका छौं,' उनले सेतोपाटीसँग भनिन्, 'अहिले हामी ३८ जना छौं। यो संख्या बढ्दै जान्छ। हामी यसमा जोडिन अरू युवाहरूलाई पनि आह्वान गर्छौं।'
उनीहरूले दस्तावेज समेत तयार पारी सार्वजनिक गरेका छन्।
नेपाल जेनजी फ्रन्टले दस्तावेजमार्फत केही मागहरू अघि सारेको छ।
भदौ २३–२४ का घटनाबारे छानबिन र सिफारिस तत्काल कार्यान्वयन गर्न, सार्वजनिक व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न र भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता नीति लागू गर्न उनीहरूले माग गरेको छ।
त्यसैगरी आउँदो फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र र भयमुक्त वातावरण बनाउन पनि माग गरेको छ।
दस्तावेजमार्फत जेनजी विद्रोहमा सबै सहमत हुनेहरूसँग एकताको आह्वान समेत गरेको छ।
'यस परिवर्तनलाई संस्थागत बनाउन सबै वर्ग र क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ। त्यसैले हामी जेनजी विद्रोहमा सहमत सबै साथीहरू, साथै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, शिक्षक, प्राध्यापक, बौद्धिक समुदाय, सरकारी कर्मचारी, प्रशासनिक निकाय, व्यावसायिक समुदाय, उद्यमी, श्रमिक वर्ग, कलाकार, लेखक, इन्फ्लुएन्सर, प्रवासी नेपाली समुदाय र नेपाली नागरिकहरूलाई सहकार्य एकताका लागि हार्दिक आह्वान गर्दछौं,' उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।