भदौ २३ र २४ को जेन-जी आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पछिल्लो डेढ महिनामा जेन-जी युवाहरूसँग भएका राजनीतिक संवादको अनुभव बाँडेकी छन्।
फागुन २१ गते चुनाव गराउने उद्देश्यसहित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले शपथ लिएदेखि आजसम्म विभिन्न समूहका जेन-जी युवासँग पटक पटक संवाद गरेकी छन्। ती युवाहरूको धारणा उनले कस्तो पाइन्? उनीहरूको राजनीतिक मनोकांक्षा के छ? उनीहरूले के चाहेका छन्?
प्रधानमन्त्री कार्कीले शुक्रबार बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै जेन-जी युवाहरूसँग काम गर्दाको आफ्नो अनुभव बाँडेकी हुन्।
उनका अनुसार सुरूका दिनमा सम्पर्कमा आएका जेन-जी युवा राजनीतिक रूपले त्यति स्पष्ट थिएनन्। देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्नेबाहेक शासकीय व्यवस्था, संविधान र विधि-कानुनबारे उनीहरूको बुझाइ सामान्य थियो।
काम गर्दै जाँदा पछिल्लो डेढ महिनामा तिनै जेन-जी युवा राजनीतिक रूपले परिपक्व बन्दै गएको र मुलुकको शासन व्यवस्थाबारे उनीहरूको बुझाइ फराकिलो हुँदै गएको प्रधानमन्त्री कार्कीले बताइन्।
'सुरू सुरूमा मैले कुरा गर्दा एकदमै साना साना बच्चा जस्ता थिए। उनीहरूका दुई-चारवटा माग मात्र सुनिन्थ्यो। अहिले खारिँदै गएका छन्,' प्रधानमन्त्री कार्कीले भनिन्, 'उनीहरूले देशको शासन व्यवस्था कस्तो हुनुपर्छ भनेर आफ्नो ढंगमा अध्ययन गरेका छन्। विज्ञहरूसँग परामर्श लिइरहेका छन्। यसबाट उनीहरू राजनीतिक रूपले पहिलेभन्दा निकै खारिएको मैले अनुभव गरेकी छु।'
सुरूमा कतिपय जेन-जी समूहले अहिले नै कार्यकारी राष्ट्रपति नियुक्त गरेर जानुपर्छ, २०७२ सालको संविधान खारेज गरेर अन्तरिम संविधान जारी गर्नुपर्छ लगायतका कुरा उठाउने गरेकामा अहिले उनीहरूको माग राजनीतिक रूपले सुझबुझपूर्ण भएको प्रधानमन्त्री कार्कीले बताइन्।
'पछिल्लोचोटि राजनीतिक दलहरूसँगको त्रिपक्षीय संवादमा उपस्थित जेन-जी प्रतिनिधिहरूले फागुन २१ को चुनाव नै हाम्रो मुख्य एजेन्डा हुनुपर्छ र सबै मिलेर त्यो चुनाव सफल बनाउनुपर्छ भन्ने धारणा राख्नुभयो,' उनले भनिन्, 'शासकीय सुधारका एजेन्डा त्यसपछि बन्ने संसदले लागू गर्ने हो भन्नेमा उहाँहरू स्पष्ट हुँदै जानुभएको छ।'
सुरूआती दिनमा राजनीतिक दलको कुरै सुन्न नचाहने जेन-जी युवा पछिल्लो समय तिनै दलका प्रतिनिधिसँग संवादमा बस्न तयार हुनुलाई पनि प्रधानमन्त्री कार्कीले उनीहरूको राजनीतिक परिपक्वताका रूपमा अर्थ्याइन्।
'म भर्खर प्रधानमन्त्री भएर आउँदा जेन-जी भाइबहिनीले राजनीतिक दलका नेताहरूको नामै सुन्न चाहनुहुन्न थियो। मलाई पनि दलका नेताहरूसँग वार्ता गर्नै हुँदैन भनेर दबाब दिनुहुन्थ्यो,' उनले भनिन्, 'केही नेताहरूको नाम किटेर उनीहरूलाई किन कारबाही नगरेको भन्दै मेरो नाकमै औंला तेर्स्याउन आउनुहुन्थ्यो। अहिले उहाँहरू हामीले सबै प्रक्रिया कानुनसम्मत ढंगले अघि बढाउनुपर्छ र सुशासन निम्ति विधिको शासन अपरिहार्य छ भन्नेमा सहमत हुँदै जानुभएको छ।'
जेन-जी युवाहरूलाई सहमतिमा ल्याउने क्रममै सरकार र राजनीतिक दलबीचको संवाद ढिलो सुरू भएको पनि उनले बताइन्।
'यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सहजकर्ताको भूमिका खेल्नुभयो। पहिले उहाँले राजनीतिक दलसँग संवाद गर्नुभयो। त्यसपछि जेन-जीहरूसँग संवाद गर्नुभयो। त्यसले एक किसिमको समझदारीको वातावरण बनेपछि मैले सरकारको तर्फबाट राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीच संवाद सुरू गराएँ। उनीहरूलाई एकै ठाउँमा ल्याएर भेट गराएँ,' उनले भनिन्।
यसबाट जेन-जी युवा र राजनीतिक दलका नेताहरूबीच प्रत्यक्ष संवाद सुरू भएको उनले बताइन्। जेन-जी युवाहरूसँग मात्र पनि आफूले पटक पटक छलफल गरेको उनले जानकारी दिइन्।
'पहिलो दिन भेटेका जेन-जीहरूलाई अहिले भेट्दा आकाश-पाताल फरक भएको म पाउँछु,' प्रधानमन्त्री कार्कीले भनिन्, 'उनीहरूका कुराकानी पहिलेभन्दा धेरै सकारात्मक र सुझबुझपूर्ण भएका छन्।'
कार्कीले अगाडि भनिन्, 'अहिले उनीहरूका राजनीतिक कुरा सुन्दा मलाई नै अचम्म लाग्छ। कोही कोही त रामचन्द्र पौडेलजी युवा उमेरमा जस्तो हुनुहुन्थ्यो, जस्तो कुरा गर्नुहुन्थ्यो, त्यस्तै देखिनुहुन्छ। कोही कोही शेरबहादुरजी युवा उमेरमा जस्तो हुनुहुन्थ्यो, जस्तो कुरा गर्नुहुन्थ्यो, त्यस्तै देखिनुहुन्छ।'
जेन-जी युवाहरूमा आएको राजनीतिक परिपक्वता देखेर आफूलाई खुसी लागेको पनि प्रधानमन्त्री कार्कीले बताइन्।
उनीहरूको परिपक्वताले राजनीतिक दलहरूसँगको संवादलाई सकरात्मक दिशा दिइरहेको उनको भनाइ छ।
***